साउन महिनामा शिवलिंगमा जल चढाउने महत्व, पहिलो सोमबार शिवालयमा पूजाअर्चना


 

काठमाडौं,  २  साउन  (असनबजार पत्रिका)  :  सनातनी धर्मावलम्वी यो सालको साउन महिनाको आज पहिलो सोमबार बिहानैदेखि शिवालयहरुमा गएर शिवलिंगको पूजा अर्चना गरेका छन् । खासगरी काठमाडौंस्थित पशुपतिनाथको मन्दिरमा भक्तजनहरुको भीड लागेको छ । आ–आफ्नो श्रद्धाभक्तिअनुरुप भगवान् पशुपतिनाथको पूजाअर्चना गरेका छन् । उनीहरुले पवित्र नदीनाला, तलाउबाट ल्याएको जल पशुपतिनाथलाई अर्पण गरी जलाभिषेक गरेका छन् ।

सनातन धर्मशास्त्रको आगम तन्त्रअनुसार साउनमा शिवलिंगमाथि जल चढाउनेको विशेष महत्व रहेको छ । त्यसो त भगवान् शिवजीलाई प्रशन्न गर्न अनेकन प्रकारका पूजा विधिहरु रहेका छन् तर आँशुतोष भगवान् शिवलाई नाना प्रकारले पूजा गर्नुभन्दा पनि जल मात्र चढाए पनि वहाँ अति शीघ्र प्रशन्न हुने हुनाले के धनी, के गरीब सबै वर्गका भक्तजनहरुले देशभर रहेका शिवलिंगमा जल चढाएर पूजा उपासना गर्ने गरिन्छ ।

शिवजीलाई जलाभिषेक गर्ने परम्परा समुन्द्र मन्थनको समयदेखि शुरु भएको मानिन्छ । सागर मन्थनको समयमा अमृत निस्कनुभन्दा अघि हलाहल विष निस्किएको र उक्त विष शिव अर्थात् कल्याणका देवताले स्वपान गरेर सबैको कल्याण गरेका थिए । भगवान् शिवजीले हलाहल विष पानपश्चात् गर्मीको प्रभावबाट शिवजीको शरीरबाट यत्ति धेरै पसिना आयो कि त्यसबाट दुई नदीको सिर्जना हुन गयो । एक नदीको नाम नर्मदा र अर्को नदीको नाम सोनभद्र रहन गयो । सोनभद्र पछि गएर गंगामा मिसिन गयो । शिवजीको शरीरबाट पसिना उत्पन्न भएको देखेर ब्रह्माजीले जल चढाउन समस्त देवता गणलाई आग्रह गरेदेखि नै साउन महिनामा शिवलिंगमा जलाभिषेक गर्ने परम्पराको आरम्भ भएको मानिन्छ ।

उक्त परम्परा आरम्भ भएदेखि भगवान् शिव र बाँकी समस्त देवगणबीच त्यो बेलादेखि नै एक सम्झौता भएको थियो, सम्झौता के थियो भने आज उप्रान्त शिवजीलाई जल चढाउने र उक्त जल चढाएबापत देवता एवं मनुष्य जातिका जति पनि विषजन्य नकारात्मक चीजहरु छन्, त्यो सबै पखालेर जानेछन् । अन्त्यमा गएर उक्त सम्झौतालाई शिवजीले सबैलाई वरदानको रुपमा उपहार दिएको आगमशास्त्रमा उल्लेख गरिएको छ ।


शिवस्त्रोतमा भनिएको छ, “प्रशन्नानामं नीलकण्ठ दयालम् ।” शिवशक्ति अव्यक्त छ, लिंगमाथि जल चढाउनाले समस्त पापको नाश हुनेमा सनातनी धर्मावलम्वीहरु विश्वास गर्छन् । त्यसकारण शिवजीको पूजाअर्चना गर्ने विधिमध्ये सर्वश्रेष्ठ विधि जलाभिषेक नै हो भन्ने आगम शास्त्रको कथन रहेको छ । उक्त कथनलाई शैव, आगम र पाशुपात सम्प्रदायले अक्षरशः पालना गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?