चीनमा बैंकिङ संकटले ल्याएको खैलाबैला र केन्द्रीय सत्ता प्रणाली !


काठमाडौं,  (समाचार विश्लेषण– उज्ज्वल झा)  :  चीन संसारकै दोस्रो ठूलो अर्थ व्यवस्था भएको मुलुक मानिन्छ । तर विगत केही महिनादेखि चीनमा बैंकिङ संकटको गहिरो समस्या देखापरेको छ । कोभिड–१९ कारण चीनको अर्थ व्यवस्थामा नराम्ररी घक्का पुगेको अर्थविद्हरूको कथन छ । चीन एक साम्यवादी शासन व्यवस्था भएको मुलुक भएकाले त्यहाँको अर्थतन्त्रको वास्तविक स्थिति थाहा पाउन मुस्किल छ । तर सामाजिक सञ्जालमार्फत चुहिएको सूचनाका आधारमा भन्ने हो भने साम्यवादी शासकहरूले सत्यतथ्य कुराहरू जतिसुकै लुकाउन खोजे पनि यो पक्ष उनीहरूको बलबुताभन्दा बाहिर गएको देखिन्छ । पछिल्लो समयमा चीनका चार सयभन्दा ठूल्ठूला शहरमा चिनियाँ जनता आफ्नो निक्षेप फर्काउन सडकमा उत्रेको प्रकाशमा आएको छ । उनीहरूले आफ्नो निक्षेप फिर्ता पाउन निजी बैंक परिसरअगाडि धर्ना र व्यानरसहित प्रदर्शन गरेका छन् । चिनियाँ सर्वसाधारणको प्रदर्शनलाई त्यहाँका अधिकारीहरूले अस्वीकार गर्न सकेका छैनन् ।

ती अधिकारीहरूले चिनियाँ जनताले आफ्नो निक्षेप फिर्ता पाउन धर्ना दिएको स्वीकारेका छन् । अमेरिकी समाचार एजेन्सी सिएनएनले चीनमा विगत केही महिनादेखि चिनियाँ जनताहरू निक्षेपको सवालमा प्रदर्शनमा उत्रेको जनाएको छ । उनीहरूले गत अप्रिल महिनादेखि आफ्नो निक्षेप रकम फिर्ता पाउन नसकेको पनि उल्लेख गरेको छ । समाचार सूत्रका अनुसार चीनको निजी बैंकहरूले करिब ५.८ विलियन अमेरिकी डलरबराबरको रकम भुक्तानी गर्न आनाकानी गरेका छन् ।
चीनको योझ्यो सिनमिन सेङ भिलेज बैंक, साङकल हुलमिन कन्ट्री बैंक र जेचाङ ह्वाङहुल कम्युनिटी बैंकले विगत अप्रिल १८ तारिखदेखि जनतासँग आर्थिक कारोबार नगरेको रोयटर्स समाचार संस्थाले जनाएको छ । ती बैंकहरूले आर्थिक कारोबार नगर्नुको कारण आफ्नो बैंकिङ प्रणालीमा सुदृृढीकरण गर्न गइरहेको जनाएको छ ।
निक्षेप रकम फिर्ता पाउन छोडेपछि त्यहाँको जनजीवन कष्टकर बन्दै गएको छ । फलस्वरूपः उनीहरू राजधानी बेइजिङलगायत प्रमुख शहरहरूमा प्रदर्शनमा उत्रेका हुन् । विगतमा विरोध प्रदर्शन शान्तिपूर्ण भनिएता पनि त्यसले उग्ररूप लिँदैआएको छ । चिनियाँ जनताको आक्रोशलाई वैधानिक नै मान्नुपर्दछ । किनभने जीवनमा कठिन श्रम गरेर कमाएको आफ्नो धन भनेको वा चाहिएको बेला फिर्ता नपाएपछि संघर्षमा उत्रिनु मनासिब हो । चिनियाँ जनताको यो कदमलाई कसैले पनि पूर्वाग्रहपूर्वक हेर्न नमिल्ने कुरा हो ।

 

चीनमा बैंकिङ संकट किन आयो  ?

 

चीनमा बैंकिङ संकट आउनुमा धेरै कारणहरू छन् । बुल्मवर्ग समाचार संस्थाका अनुसार चीनमा बैंकिङ संकट आउनुको प्रमुख कारणमध्ये चीनका बैंकहरू नै जिम्मेवार छन् । किनभने चीनको हेनान प्रान्तस्थित योझ्यो सिनमिन सेङ भिलेज बैंक, साङकल हुलमिन कन्ट्री बैंक र जेचाङ ह्वाङहुल कम्युनिटी बैंकका कर्मचारीहरू मिलेर आफ्ना ग्राहकहरूलाई धोका दिएका छन् । उनीहरूले करिब १ सय ७८ मिलियन डलरबराबरको रकम रोक्का गरेका छन्, त्योपनि विना कुनै जानकारी । ती बैंकका कर्मचारीहरूले एक अर्को कम्पनी फर्चुन ग्रुपसँग मिलेर रकम घोटाला गरेका हुन् ।
फर्चुन ग्रुपको ती बैंकहरूसँग स्वामित्वको सम्बन्ध रहेको छ । स्वामित्व भएका कारण फर्चुन ग्रुपले आर्थिक उत्पादनको नाममा र जनतालाई लोभ्याउन वित्तीय प्रवर्धनको प्रचारप्रसार गरेका थिए । ती बैंकका कर्मचारीहरूले आफ्ना ग्राहकका ती निक्षेप रकम एक न्यु फर्चुन कम्पनीमा लगानी गरेका थिए र ती रकम अन्त्यमा गएर बर्वाद हुन पु¥यो । पछि गएर न्यु फर्चुन ग्रुप पनि नक्कली साबित भयो । ती कम्पनीका सञ्चालक पछि गिरफ्तार पनि भए ।

 

खाताधारकहरू आफ्नो निक्षेपको व्याजसमेत फिर्ता मागिरहेका छन् । जसका कारण चीनमा बैंकिङ संकट सिर्जना हुन पु¥यो । चीनको यो बैंकिङ संकटसँगै एउटा समस्या उत्पन्न भएको छ । कहीँ यो संकटले चीनको अर्थतन्त्रमा त संकट आउने होइन र भनेर चिनियाँ अधिकारीहरू सोच्न थालेका छन् ।
चीनको करिब चार सय शहरका वासिन्दाले हालै आफ्ना घरकर्जाको मासिक किस्ता बैंकहरूलाई बुझाउन बन्द गरेका छन् । उनीहरूले आफ्नो घरको किस्ता बुझाउन कन्सट्रक्सन्स वा डेभलपर्सहरूलाई निर्माण कार्य पूर्णरूपमा सक्याउन सर्त राखेका छन् । एक अध्ययनअनुसार चीनको सम्पूर्ण घरकर्जा करिब ९.२ ट्रिलियन डलर रहेको छ । यत्ति रकम त कुनै पनि देशको जिडिपि नै छैन । यो भनेको धेरै ठूलो रकम हो । चीनका बैंकहरूले यदि घरकर्जाबापतको रकम पाउन भने सकेन ती बैंकहरूका लागि यो नै नन् पर्फमिङ एसेट (एनपिए) हुनेछ । एनपिए त्यो हो जुन फिर्ता आउने सम्भावना कम हुन्छ । एनपिए भनेको करिब करिब डुब्ने रकम हो । उदाहरणका लागि भारतमा निरभ मोदी र विजय माल्याको मुद्दालाई एनपिएको रूपमा लिन सकिन्छ ।

चीनको एक सय पपर्टिडिलरमध्ये २८ जना पपर्टिडिलरसँग पैसा नै छैन । पैसाविना उनीहरूले निर्माण कार्य शुरु गर्न सकेका छैनन् । निर्माण कार्य सम्पन्न नभएसम्म ग्राहकहरूले घर पाउँदैनन् भने बैंकले किस्ता पनि पाउँदैन् । त्यसकारण चीनका अधिकांश अर्थशास्त्रीहरूले यो मानेका छन् कि ९.२ ट्रिलियन अमेरिकी डलर एनपिएको रूपमा लिनुपर्ने हुन्छ । यसका साथै जुन जुन बैंकमा एनपिए छ ती सबै बैंकहरू टाट पल्टन थाल्ने छन् ।
चीनको सबैभन्दा ठूलो रियलस्टेट कम्पनी इभरग्रान्ड ग्रुप टाट पल्टने अवस्थामा रहेको छ । यो कम्पनीसँग ३ सय ४ विलियन डलरको कर्जा रहेको छ साथै यो कम्पनीमा दुई लाख कर्मचारी छन् । यो कम्पनीले विगतदेखि नै कर्जा चुक्ता नगरेका कारण चीनका धेरै बैंकहरूको हालत चौपट भइसकेको छ । इभरग्रान्ड ग्रुपका कारण चीनको सेयरबजार पनि मन्द भएको छ ।

यी नै घटनाका कारण चीनमा बैंकहरूको सेयर मूल्य दिनानुदिन घट्ने क्रममा छ । रियलस्टेटको त कुरै भएन ।
चीनको अर्थ व्यवस्थामा संकट आउनुको अर्को कारण राष्ट्रपति सि जिन पिङको जिरो कोभिड नीतिलाई जिम्मेवार मानिएको छ । जिन पिङको नीतिअनुसार कहीँ, कतै वा कुनै शहरमा कोभिड पोजिटिभ भेटियो भने पूरै शहरमा लकडाउन लगाइन्छ । जस्तै सांघाई शहरमा पनि हालै पूरै लकडाउन लगाएको थियो । जसले गर्दा जनताले अनेकन् समस्या बेहोर्नु प¥यो । लकडाउनले गर्दा चीनको अर्थ व्यवस्थामा गहिरो मार परेको छ । कोभिडकै कारण चीनको आर्थिक विकासमा २ प्रतिशतका दरले कमी आएको छ । आर्थिक विकासको गति कम हुनाका कारणले जनतासँग पैसा कम हुन्छ र उनीहरूसँग बैंकमा पैसा जम्मा गर्ने सामथ्र्य पनि हुँदैन । यी नै कारणले गर्दा चीनका बैंकहरूमा आर्थिक संकट देखिएको हो ।

के चीन पनि श्रीलंकाको पथतिर जाँदैछ ?

 

चीनमा देखिएको बैंकिङ संकटका कारण चीन पनि श्रीलंका कै पथतिर जाँदैछ भन्ने आशंका गरेका छन् । तर चीनको राजनीतिक व्यवस्थालाई नबुझिकन उनीहरूले त्यसप्रकारका टिप्पणी गरेका हुन् ।
चीनका सबै बैंकहरूमा सरकारको स्वामित्व रहेको छ । त्यहाँ नाम मात्रका निजी बैंकहरू छन् । चीनको सरकारले बैंकहरूले डुबाएका रकम सजिलैसँग भुक्तानी गर्न सक्छ । चीन विश्वको सबैभन्दा ठूलो जनसंख्या भएको मुलुक र विश्वको सामान उत्पादन केन्द्र (वल्र्ड म्यानुफ्याक्चरिङ हब) भएकाले उनले उक्त रकम सजिलैसँग कमाउन सक्छ । त्यसकारण चीन श्रीलंकाको पथतिर गएको नभएता पनि चीनमा देखिएको बैंकिङ संकटले अर्थ व्यवस्थामा असन्तुलन आएको अवश्य पनि मान्नुपर्दछ । केन्द्रीय सत्ता नियन्त्रण हुँदाहुँदै संकटको घडी आउनु चीन जस्तो फूर्तिवाज देशका लागि राम्रो होइन । बैंकिङ संकटले गर्दा चीनका साम्यवादी शासकलाई एकपटक अवशय पनि झस्काएको हुनु पर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?