मल्लकालीन संस्कृति र चाडपर्व नामक पुस्तकको लोकार्पण


भक्तपुर,  ७  साउन  :  नेपाल मजदूर किसान पार्टीका केन्द्रीय सचिव एवं प्रतिनिधिसभाका सांसद प्रेम सुवालले डा. वीरेन्द्रप्रसाद कायस्थद्वारा लिखित मल्लकालीन संस्कृति र चाडपर्व विषयक पुस्तकको शनिबार एक समारोहका बीच विमोचन गरेका छन् ।

ज्योर्तिविद् डा. कायस्थले यसभन्दा अघि पनि पूर्वीय ज्योतिषशास्त्रसँग सम्बन्धित पुस्तकहरू प्रकाशन गरिसकेका छन् । विमोचन कार्यक्रममा सांसद सुवालले ज्योतिषशास्त्रलाई विज्ञान र गणितको आँखाबाट हेरिनुपर्ने विचार व्यक्त गरे । उनले ज्योतिषशास्त्रलाई अन्धविश्वास मात्र नमान्न पनि आग्रह गर्दै विमोचित पुस्तकले नेवाः संस्कृतिको श्रीवृद्धिमा योगदान पुग्ने विश्वास पनि व्यक्त गरे ।

कार्यक्रममा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले डा. कायस्थद्वारा लिखित पुस्तकले आगामी पुस्तालाई नेवाः संस्कृतिका सम्बन्धमा ज्ञान आर्जन गर्न सहायक सिद्ध हुने बताइन् । डा. पुरुषोत्तमलोचन श्रेष्ठले नेवाः संस्कृति परापूर्वकालदेखि गणितसम्मत रहेको चर्चा गर्दै मल्लकालीन संस्कृतिलाई हराउन दिने हो भने नेपालको वर्तमान पनि मरितूल्य हुने धारणा व्यक्त गरे ।

कार्यक्रममा भनपा वडा नं ६ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छे, डा. कन्हैया झा, सिमन्त शिल्पकार, मनजित मल्ल र दीपक कायस्थले विमोचित पुस्तकको बहुपक्षमाथि प्रकाश पारेका थिए । लेखक डा. कायस्थले प्रस्तुत पुस्तकले नेवारी संस्कृतिको विषयमा जान्न चाहने जो कोही पनि मद्दत पुग्ने बताए । (असनबजार पत्रिका)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?