साउने सोमबार विशेषः “ऊँ काराय नमो नमः”


काठमाडौं,  ९  साउन :  शिव षडक्षरस्तोत्रम्मा भनिएको छ ,  (१)  ऊँ कारं बिंदसंयुक्त नित्य ध्यायंति योगिनः कामदं मोक्षदं चैव ऊँ काराय नमो नमः ।। जसको अर्थ हुन्छ, जो ऊँ कार रूपमा आध्यामिक हृदयको केन्द्रमा विराजमान हुनुहुन्छ, जसलाई योगीहरूले निरन्तर ध्यान गर्दछ, जसले सबैको इच्छा पूरा गर्दछ, जसले मोक्ष पनि प्रदान गर्दछ, म उनै शिवजी (ऊँ काराय) लाई नमस्कार गर्दछु ।

 

(२) नमंतिऋषयो देवा नमन्त्यप्सरसां गणाः । नरा देवशं नकाराय नमो नमः ।। जसलाई देवता, ऋषि, अप्सरा र मनुष्य आदि समस्तले नमन (पूजन) गरेको छ उनै देव महादेव हुन् । म वहाँलाई (नकाराय) पुनः नमन गर्दछु ।

 

(३) महादेवं महात्मानं महाध्यानं परायणम् । महापाप हरंदेव मकाराय नमो नमः ।। अर्थः जो महान् देवता हुनुहुन्छ, महान् आत्मा, सबैको ध्यानको अन्तिम हुन्, जसले आफ्ना भक्तको महापापको विनाश गर्दछ, म उनै शिवजीलाई नमस्कार (मकाराय) गर्दछु ।

 

(४) शिवं शांन्तं जगन्नाथं लोकनुग्रहकारकम् । शिवमेकपदं नित्यं शिकाराय नमो नमः ।। अर्थः शिवजीमा शान्तिको निवास हुन्छ, जो जगत्का स्वामी हुन्, जसले कल्याण गर्दछ, उनै शाश्वत शिवजीलाई (शिकाराय) नमस्कार छ ।

 

(५) वाहनं वृषभो यस्य वासुकिः कण्ठभूषनम्ः । वामे शक्तिधरं देवं वकाराय नमो नमः ।। अर्थः जसको वाहन वयल हो । जसको घाँटीमा वासुकी नामक नाग आभूषणको रूपमा रहेको छ । जसको देब्रे भागमा साक्षात् शक्ति विराजमान छ, म उनै शिवजीलाई (वकाराय) नमस्कार गर्दछु ।

 

(६) यत्र यत्र स्थितो देवः सर्वव्यापी महेश्वरः । योग गुरु सर्वदेवानां यकाराय नमो नमः ।। अर्थः जहाँ, जहाँ देवताको निवास छ त्यहाँ, त्यहाँ शिवजी उपस्थित हुनुहुन्छ, उनी सबै देवताको गुरु हुनुहुन्छ । म उनै शिवजीलाई (यकाराय) नमस्कार गर्दछु ।

 

(७) षडक्षिरमिदं स्त्रोत्र यः पठेच्छिवसंनिधौ शिवलोकमवाप्नोति शिवेन सह मोदतेः ।। अर्थः जो कोहीले पनि शिवजीको सानिध्य (नजिक) मा यो षडक्षर स्तोत्रको पाठ गर्दछ, उनी शिवलोकमा गई आनन्दपूर्वक निवास गर्दछ ।

 

शिव साकार पनि हो, निराकार पनि 

शिवजीलाई साकार रूपमा पूजा गर्नेहरूले मूर्ति स्थापना गर्ने चलन रहेको छ भने निराकार रूपमा पूज्नेहरूले लिंग स्थापना गर्ने गरिन्छ । लिंगको प्रतीकात्मक रूप हो चिह्न । जुन चलायमान हुँदैन । अटल रहन्छ । साकार निराकारमा अन्तर नै यही हो । आर्य समाजी र निरंकारीहरूले मूर्ति पूजन गर्दैनन् । उनीहरू निराकार, निरञ्जनमा विश्वास गर्दछन् । शिव अनादि, अनन्त, निराकार हुन् । शिवजीको साकार र निराकार दुबै परम्परा सनातनी धर्मावलम्बीहरू मान्दछन् । शिव, विष्णु धर्मभीरु र अध्यात्ममार्गीका साझेदार हुन् । भगवान् विष्णुको पनि साकार र निराकार दुई रूप छन् । साकारमा राम, कृष्ण हो भने निराकारमा निलाम्बर हुन् । जसको कुनै आकार छैन नीलो सिंगो आकाश मात्र । (प्रस्तुतीः उज्ज्वल झा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?