भट्टराईले नयाँ पार्टी छिट्टै दर्ता गर्ने तयारी


काठमाडौं,  १०  साउन   : पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नेपाल समाजवादी पार्टी गठनको तयारी गरेका छन् । उनले आफूनिकट नेताहरूसँग केही दिनदेखि  छलफललाई तीव्रता दिएका छन्। उपेन्द्र यादव पक्षले वीरगञ्जमा केन्द्रीय समिति बैठक गरी भट्टराईलाई जसपा संघीय परिषद् अध्यक्षको जिम्मेवारीबाट हटाएका थिए । यसअघि भट्टराईले पनि काठमाडौंमा जसपा केन्द्रीय समितिको विस्तारित बैठक राखेका थिए ।

 

उनीनिकट एक नेताले दिएको जानकारीअनुसार केही दिनभित्र नेपाल समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता हुनेछ। पार्टीमा भट्टराईसहित तीन जना अध्यक्ष रहने  छन्। उनीनिकट एक पूर्वविद्यार्थी नेता नुवाकोटका दीपक लामिछानेको नाममा समावेशी लोकतान्त्रिक पार्टी निर्वाचन आयोगमा दर्ता थियो। उक्त पार्टीको चुनाव चिन्ह खुलेको एकल आँखा छ। गत फागुनमा उक्त पार्टी निर्वाचन आयोगमा दर्ता भएको बताइएको छ।  भट्टराईले २०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा गोरखा क्षेत्र नम्बर २ मा तत्कालीन नयाँ शक्तिबाट आँखा चुनाव चिन्हमा लडेर जितेका थिए ।

जसपामा विवाद भएपछि पछिल्लो समय उपेन्द्र यादव र भट्टराईबीच सौहार्दपूर्ण वातावरणमा अलग हुने सहमति गरेका थिए। यादवले भने भट्टराईले पार्टी कब्जा गर्न खोजेकोले संघीय परिषद् अध्यक्षबाट निकालिएको दाबी गर्दै आएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले समाजवादी केन्द्र बनाएर जानेबारे  भट्टराईसँग छलफल गर्दै आएका छन् । (अबप)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?