फोहोरभित्रको गिरोहले फोहोरमैला समाधान गर्न दिँदैन : मन्त्री श्रेष्ठ


काठमाडौं,  १४  साउन  :  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले फोहोरभित्रको गिरोहले नै फोहोरमैलाको व्यवस्थापन हुन नदिएको दाबी गर्नुभएको छ । काठमाडौंमा शनिबार आयोजित वंघ  इन्द्रचोक र ऐतिहासिक वंघ दबूको उद्घाटन कार्यक्रममा मन्त्री श्रेष्ठले सो कुरा बताउनुभएको हो । फोहोरमैला सामान्य कुरा भए पनि फोहोरमैला भित्रकै गिरोहले यसलाई ठूलो कुरा बनाइरहेको उहाँको भनाइ छ ।

 

मन्त्री श्रेष्ठले भन्नुभयो, ‘‘फोहोरमैलाको कुराहरु अहिले लामै कथा भइसकेको छ । सामान्य कुरा हो तर, हामीले त्यसलाई अहिलेसम्म पनि समाधान गर्न सकेका छैनौँ । फोहोरमैला भित्रको गिरोहले फोहोरमैला समाधान गर्न दिँदैन । फोहोरमैला समाधान गर्नको लागि ठूलो कुरा होइन, तर यहाँ भित्रको गिरोहले ठूलो कुरा बनाएको छ ।’’ स्थानीय तहले नै अब फोहोरमैलालाई श्रोतबाट नै व्यवस्थापन गर्नेतर्फ लाग्नुपर्ने उहाँले बताउनुभयो ।

 

मन्त्री श्रेष्ठले स्थानीय सरकारलाई फोहोरमैला व्यवस्थापन गर्ने कुरामा सङ्घीय सरकार सहयोगका लागि तयार रहेको बताउनुभयो । पर्यटन मन्त्रालयले यी समस्या समाधानका लागि मठमन्दिरहरुमा सरसफाई गर्न राष्ट्रिय अभियान शुरु गर्न लागेको उहाँ बताउनुहुन्छ । मन्त्री श्रेष्ठले नाइट टूरिजम व्यवस्थित बनाउन पर्यटकीय स्थल, मठमन्दिर र सम्पदालाई सुन्दर र संरक्षित बनाउँदै सुरक्षित बनाउन आवश्यक रहेको उल्लेख गर्नुभयो ।

 

कार्यक्रममा बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारसँग पैसा खर्च गर्न नसकेर फ्रिज भएको अवस्था रहेको भन्दै विकासका लागि बजेट माग गर्न आग्रह गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?