जनार्दन शर्मालाई फेरि अर्थमन्त्री बनाउनु निर्लज्जता : ओली


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनले जनार्दन शर्मालाई फेरि अर्थमन्त्री बनाएर निर्लज्जता प्रकट गरेको टिप्पणी गर्नुभएको छ ।

‘गोरु नांगो देख्दा आफूलाई लाज लाग्दैन’ भनेर विगतमा आफूले भनेको उल्लेख गर्दै ओलीले शर्मालाई फेरी अर्थमन्त्री बनाउँदा भने ‘गोरु नै लजाएको’ समेत बताउनुभयो । तुलसीलाल अमात्य स्मृति दिवसको अवसर पारेर मंगलबार पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले शर्माको अर्थ मन्त्रालयको पुनरागमनले नेपाली जनताको विवेक र नैतिक धरातलमाथि भिषण हमला भएको उल्लेख गर्दै आक्रोश व्यक्त गर्नुभयो ।

भ्रष्टचारको केशमा मुछिएका शर्मालाई लाजसरम नमानी अर्थमन्त्री फेरी बनाएको उल्लेख गर्दै अध्यक्ष ओलीले शर्माबाहेक अरु कोही पनि मान्छे गठबन्धनमा अर्थमन्त्री हुन लायक नभएको जिकीर समेत गर्नुभयो । अध्यक्ष ओलीले प्रचण्ड, माधव नेपालहरुप्रति संकेत गर्दै कांग्रेसलाई प्रमुख पार्टी बनाउने दुष्ट उद्देश्य राखेकाहरुसँग गठबन्धन तोडेर आएमात्रै एकता हुन सक्ने दोहो¥याउनु भयो । उहाँले नेकपा (माले)का महासचिव सिपी मैनालीलाई पार्टी एकताका निम्ति आउन आह्वान समेत गर्नुभयो ।

दुष्टहरुले चुनावी तालमेलको कुरा गरिरहेको भन्दै अध्यक्ष ओलीले आफूहरु भने पार्टी एकतानै गरेर अघि बढनुपर्ने प्रस्ताव गर्नुभयो । देश र जनताको विरुद्धमा नगएकाहरुबीच एकतावद्ध भएर मुलुकलाई अघि बढाउनुपर्ने उहाँले बताउनुभयो । अध्यक्ष ओलीले सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुलाई देशद्रोहीको संज्ञा दिँदै नेपाली जनताले आगामी निर्वाचनमा सचेतनतापूर्वक आफ्नो पार्टीलाई विजयी गराउने विश्वास समेत व्यक्त गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?