पेलोसीको ताइवान यात्रा: अन्ततः अमेरिका–चीन मुखामुखको स्थिति


काठमाडौं,  १७  साउन  :  अमेरिकी प्रतिनिधिसभाका सभामुख न्यान्सी पेलोसी ताइवानको समयानुसार मंगलबार राति ८ बजेसम्म पुग्ने अपेक्षा गरिएको छ ।
पेलोसीको यात्राको क्रममा साउथ चाइना सि क्षेत्रमा अमेरिका र चीनबीच तनाव चरमोत्कर्षमा पुगेको छ ।

अमेरिकी विदेशमन्त्री टोनी ब्लिंकनले सभामुख पेलोसीको ताइवान यात्रालाई लिएर चीन कुनै तनाव र उक्साउटमा नआउन पुनः एकपटक सम्झाएको छ ।
ब्लिंकनले यदि तनाव र भडकाउपूर्ण प्रतिक्रिया जनाएको खण्डमा उत्पन्न परिस्थितिको जिम्मेवार उनै हुने टिप्पणी गरेका छन् । उनले भने, सभामुख पेलोसीको ताइवान यात्रा सामान्य रहेको र यसअघि पनि अमेरिकी संसदका सदस्यहरूले ताइवानको यात्रा गरिसकेको उल्लेख गरेका छन् । यता, चीनको विदेश मन्त्रालयका प्रवक्ता झाओ जियाङले पेलोसीको यात्राको बारेमा यसअघि जारी गरेको प्रतिक्रिया जस्ताको तस्तै रहेको, यात्राका सम्बन्ध नजिकबाट निगरानी राखेको र यदि पेलोसी ताइवान गएमा चीन हात बाँधेर बसिरहन नसक्ने बताएको छ ।

ताइवान टापुनजिककोे फुजियाङ क्षेत्रमा चीनले सैन्य गतिविधि बढाएको छ । चीनले डीएफ–१६ मध्यम दूरीको आणविक बम बोक्न सक्ने ब्यालेस्टिक मिसाइल तैनाथ गरेको समाचार एजेन्सीहरूले जनाएको छ । यसको साथै चीनले एन्टी एअर ट्यांक, ठूलो संख्यामा स्थल सेना, जलसेना र वायुसेना पनि तयारी अवस्थामा राखेको छ । चीनले आफ्नो कैयौं लडाकु विमानसमेत तैनाथ गरेको बताइएको छ ।

यता, अमेरिका र ताइवानले पनि सभामुख पेलोसीको सुरक्षा तयारी बढाएको छ । ताइवानले ८ वटा मिराज लडाकु हवाईजहाजले पेलोसीको आगवानी गर्ने तयारी गरेको छ । साथै अमेरिकाले आफ्नो रोनाल्ड रेगन लडाकु पानी जहाज साउथ चाइना सि क्षेत्रमा व्यस्त राखेको छ । यसको अतिरिक्त अमेरिकाले भू–उपग्रहबाट पनि चिनियाँ सैन्य गतिविधिको निगरानी गरिराखेको छ ।

ताइवानले पेलोसीको भ्रमणको स्वागत तयारी पनि जारी राखेको छ । उनको स्वागतका लागि ताइवानको संसद भवनमा रातो कार्पेट ओछ्याइएको छ । अमेरिका, जापान, दक्षिण कोरियाले पेलोसीको यात्राका क्रममा सम्भावित कुनै पनि परिस्थितिसँग लड्न व्यापक सैन्यलगायत अन्य बन्दोबस्त गरेको समाचारमा उल्लेख गरिएको छ ।

पेलोसीको ताइवानको यात्राको समाचार बाहिर आएपछि चीनले साउथ चाइना सिमा युद्धाभ्यास पनि जारी राखेको छ ।
पेलोसीको ताइवान यात्रालाई लिएर विश्वभरका कूटनीतिज्ञ र राजनीतिज्ञहरू अभिरुचिपूर्वक सम्भावित घटनाको मूल्यांकन गर्न तयारी गरेर बसिरहेका छन् । (एजेन्सी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?