प्रतिनिधि र प्रदेशसभाको निर्वाचन मंसिर ४ मा गर्ने निर्णय, १० अर्ब रूपैयाँ खर्च हुने अनुमान


काठमाडौं,  १९  साउन  :  सरकारले  प्रतिनिधि  र प्रदेशसभा  निर्वाचन मंसिर ४ गते गर्ने  निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेको  हो । यसअघि बुधबार सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूको बैठकले मंसिर ४ मा प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्ने सहमति गरेका थिए ।

 

यसैबीच, निर्वाचन आयोगले आसन्न प्रदेश सभा तथा प्रतिनिधिसभा निर्वाचनमा १० अर्ब रूपैयाँ खर्च हुने अनुमान गरेको छ । अघिल्लो निर्वाचनमा सात अर्ब ८० करोड खर्च भएकोमा हाल बढेको महँगी, तलब–भत्तामा भएको वृद्धि र मतदाताको संख्यामा भएको वृद्धिलगायतका कारण करिब १० अर्ब खर्च हुने आयोगको अनुमान छ ।

प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलमा आयोग पदाधिकारीले यसबारे जानकारी गराइसकेको आयोगको भनाइ छ । सरकारले प्रतिनिधिसभा र प्रदेश सभा चुनावको घोषणाको गृहकार्य गरिरहँदा सुरक्षा निकायले पनि आफ्नो तयारी थालेका छन् ।स्रोत–साधन पर्याप्त उपलब्ध गराए एकै चरणमा निर्वाचनका लागि सुरक्षा निकाय सक्षम रहेको उनीहरूको भनाइ छ । गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेल एकै चरणमा निर्वाचनका लागि सुरक्षाको दृष्टिकोणले कुनै समस्या नभएको बताउनुभयो । निर्वाचनको घोषणा भएलगत्तै सुरक्षा योजना बनाएर अघि बढिने उहाँको भनाइ छ । (अबप)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?