नर्भिक अस्पताल जग्गा : प्राविधिक अध्ययन समिति गठन


काठमाडौं,  २४  साउन  :  नर्भिक अस्पतालले सरकारी जग्गा मिचेर संरचना बनाएको विषयमा अध्ययन गर्न काठमाडौं महानगरपालिका र अस्पतालका प्राविधिक सहितको अध्ययन समिति गठन हुने भएको छ।  काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले अस्पताल पुगेर महानगरपालिका र अस्पतालका प्राविधिक राखेर प्राविधिकको निर्देशन अनुसार अगाडि बढ्ने मंगलबार सहमति गर्नुभएको छ। उहाँले प्राविधिकले दिएको सुझाव अनुसार ३० देखि ३५ दिनमा संरचना व्यवस्थापन गर्नुपर्ने बताउनुभयो।

 

प्रमुख साहले नियम सबैलाई बराबर हुनुपर्ने बताउनुहुँदै सार्वजनिक जग्गा, फुटपाथ मिच्ने विषय एउटै भएकाले सबैलाई कानुन बराबर लाग्ने र अस्पताललाई मन्त्रिपरिषद्ले निर्णय गरेर जग्गा लिजमा दिए पनि जग्गा फिर्ता हुनुपर्नेमा जोड दिनुभयो।  सरकारसँग भएको जग्गा लिजको सम्झौताअनुसार आठ वर्ष बाँकी रहेको अस्पतालका अध्यक्ष राजेन्द्रबहादुर सिंहको भनाइ छ। सरकारी जग्गा अतिक्रमण गरी बनाइएको अक्सिजन प्लान्टबाट सय जना बिरामी उपचाररत रहेकाले तत्काल सो संरचना नभत्काइएको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिनुभयो।

मानन्धरले भन्नुभयो, “बिरामीको उपचार भइरहेकाले अक्सिजन तत्कालै हटाउन नमिल्ने भयो।  अब, प्राविधिकले कति समय भन्छ, त्यही अनुसार ती संरचना खाली गरिन्छ।” नर्भिक अस्पतालले लिजमा लिएको एक रोपनी ८ आना जग्गाको पश्चिमतर्फ सम्झौता विपरीत र नक्शा पास नगरी घर टहरा बनाएको महानगरको ठहर छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?