संसद र प्रदेशसभाको निर्वाचन कार्यतालिका स्वीकृत


काठमाडौं,  २४  साउन  :  निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ । आयोगको सोमबारको बैठकले स्वीकृत गरेको कार्यतालिका अनुसार प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ता असोज २३ गते गर्नुपर्ने छ । तर, समानुपातिक उम्मेवारहरुको बन्द सूचि भने असोज २ र ३ गते भित्रै आयोगमा बुझाउनु पर्नेछ ।

उम्मेदवारको अन्तिम नामावली असोज २६ गते प्रकाशन गरि २८ गतेदेखि मतपत्र छपाइ सुरु गरिनेछ । बन्द सूचिको प्रयोजनका लागि यहि साउन ३० गतेसम्म कार्यालय स्थापना गरिसक्ने आयोगले जनाएको छ । असोज ११ निर्वाचन अधिकृतहरू नियुक्त गर्ने र असोज २१ भित्र निर्वाचन अधिकृत कार्यालय खोल्ने आयोगको कार्यतालिका रहेको छ । कात्तिक २७ मा मतपत्र निर्वाचन क्षेत्रमा पुर्‍याउने कार्यतालिका रहेको छ । आयोगले आफ्नो तयारीका लागि कार्यतालिका बनाएकाले समानुपातितर्फको बाहेक अन्य कार्यतालिकामा आवश्यकता अनुसार हेरफेर हुनसक्ने पनि जनाइएको छ ।

 

असोज २८ गतेदेखि मंसिर १ गतेसम्म मतदाता शिक्षा, मतदान सामग्री ढुवानी, मतदान अधिकृत र सहायक मतदान अधिकृतको नियुक्ति, मतदान अधिकृतलाई निर्वाचन सामग्री हस्तान्तरण, उम्मेदवार तथा राजनीतिक दलको प्रचारप्रसार अवधि तोकिएको छ । आयोगका अनुसार मंसिर १ गते राति १२ बजेदेखि प्रचारप्रसारमा रोक लगाइने छ । मंसिर ४ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ । मतदान सकिएको दिनदेखि नै मतगणना सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?