श्रीसम्पत्ति राज्यलाई दिएँ, उपचार गर्ने पैसा छैन : अध्यक्ष ओली


काठमाडौं,  २९  साउन  :  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो र श्रीमतीको नाममा रहेको सबै श्रीसम्पत्ति मरणोपरान्त राज्यको नाममा समर्पित गरिसकेको बताउनुभएको छ ।  काठमाडौंमा आइतबार आयोजित राष्ट्रिय युवा सम्मेलन कार्यक्रममा उहाँले आफूजस्तै अन्य नेतालाई पनि सबै श्रीसम्पत्ति राज्यको नाममा समर्पित गर्न  सुझाव दिनुभयो ।

 

आफूसँग स्वास्थ्योपचारका लागि समेत पैसा नभएको उहाँले बताउनुभयो । “आफ्नो र श्रीमतीको नाममा रहेको सबै सम्पत्ति मरणोपरान्त राज्यको नाममा समर्पित गरिसकेको छु” उहाँले भन्नुभयो, “घरघडेरी बेचेर उपचार गर्छु भन्न पनि मिल्ने अवस्था छैन, देशको लागि सम्पत्ति दान गरेको हुँ ।” देशको विकासका लागि काम गर्दा बिरोधीहरुले काम गर्न नदिएको पनि उहाँले टिप्पणी गर्नुभयो ।

 

अध्यक्ष ओलीले आफू युवाभन्दा कम सक्रिय नरहेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “भ्रष्टाचार गर्दिन, गर्न दिन्न भन्नेमात्र होइन, मैले आफ्नो प्राइभेट प्रपर्टी, मेरो, मेरो श्रीमतीको सम्पूर्ण सम्पत्ति आफ्नो होइन अब राज्यको सम्पत्ति भनेर पास गरिसकेको छु ।”

 

आफू बाचुन्जेल मात्र आफ्नो घरमा आफू र श्रीमती बस्न पाउने उहाँले चर्चा गर्नुभयो । “हामी बाँचुन्जेल घरमा बस्छौं, मरेपछि राज्यको हुन्छ” अध्यक्ष ओलीले थप्नुभयो, “जबसम्म म जीवित रहन्छु देशका लागि जनताका लागि रहन्छु ।” अध्यक्ष ओलीले राजनीतिक दलले युवालाई महत्व नदिएको भन्ने कुरा सत्य नरहेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?