‘नेपालले किन्छ अर्बौंको सामान तर चीन शून्य, गजबको मित्रता’


काठमाडौं,  भदौ  १  (असनबजार पत्रिका)  :  चीनले कोविड–१९ को बहानामा विगत दुई वर्षयता १ रुपैयाँको पनि सामान किनेको छैन । त्यतिमात्रले नपुगेर रसुवागढी र तातोपानी नाका विना सूचना बन्द गरेपछि नेपालको आयातमा असर परेको छ । एक्कासि नाका बन्द गर्दा सामान बोकी आएका कन्टेनरहरु सीमा पारी नै रोकिएका छन् ।

 

चीनमा कोरोना सङ्क्रमण बढेको भनी सीमा नाकाबाट आवतजावत बन्द गरेको हुनसक्ने रसुवागढी र तातोपानी भन्सार कार्यालयका प्रमुखहरूको आँकलन छ । गत सातादेखि चिनियाँ पक्षले मुख्य व्यापारिक नाकाहरु बन्द गरेको नेपाल–चीन हिमालपार व्यापार संघले जनाएको छ । नेपाल चीनबीचको विद्यमान मित्रताकाबीच नाम उल्लेख नगर्ने सर्तमा एक पूर्वकूटनीतिज्ञले  भने, ‘नेपालले किन्छ अर्बौंको सामान तर चीन शून्य, गजबको मित्रता ।’

 

लामो समय नाका बन्द रहे दशैँ र तिहारका लागि ल्याइएका सामानहरु नाकामै अड्कने र बजारमा उपभोग्य सामग्रीको मूल्य आकाशिने आँकलन गरिएको छ । समयमै नाका सुचारु नभए नेपाली बजारमा सामानको अभाव सिर्जना हुनुका साथै मूल्यवृद्धि पनि हुनसक्ने तातोपानी भन्सार कार्यालयका प्रमुख नारद गौतमले सरकारी समाचारपत्र गोरखापत्रलाई बताए ।

 

‘नजिकिँदै गरेको तीज, दशैँ र तिहारजस्ता चाडपर्वका लागि भित्रिने सामानहरु ल्याउन नसक्दा एकातिर अभाव झेल्नुपर्ने र अर्कोतर्फ मूल्य बढ्ने सम्भावना रहन्छ’ प्रमुख गौतमले भने, हरेक वर्ष दशैँ तिहारमा लत्ताकपडाको माग उच्च हुने गरेको छ । आपूर्ति हुन नसक्दा सामान महँगिन सक्छ । विशेषगरी उत्तरी नाकाबाट लत्ताकपडा, फलफुल र इलेक्ट्रिक सामानहरु भित्रिने गरेका छन ।

 

भन्सार विभागको तथ्याङ्कअनुसार नेपालको व्यापार भारतपछि सबैभन्दा धेरै चीनसँग छ । नेपालबाट सामान निर्यातमा भने चीनले पूर्णरुपमा रोक लगाएको छ । सङ्क्रमणको जोखिम कायमै रहेको बहानामा निर्यात शून्य छ भने आयात गरिने सामानमा पनि कहिले खोल्ने र बन्द गर्दै आएको छ । चीन नेपालसँग १ रुैयाँको पनि सामान नकिन्ने तर नेपालले भने चीनसँग विगतमा ६० अर्बभन्दा बढीको सामान आयात गरिसकेको छ । यससम्बन्धमा नेपालमा चीन समर्थक राजनीतिक दल र तीनका नेताहरू मौन साँधेर बसेका छन् । यसलाई नेपाल–चीनबीचको अपूर्व मित्रताको रूपमा लिइएको छ ।

 

गोरखापत्रका अनुसार सो विषयमा नेपालको वाणिज्य तथा आपूर्ति मन्त्रालयले दूतावासमार्फत नाका खोल्न पत्राचार गर्दा समेत चीनले बेवास्ता गरेको गौतमको भनाइ छ । तातोपानी भन्सार कार्यालय प्रमुख गौतमले चिनियाँ क्षेत्रमा कोभिड बढिरहेको भन्दै गत सातादेखि नाका बन्द गरिएको अनौपचारिक जानकारी प्राप्त भएको बताए । कहिलेसम्मका लागि हो भन्ने केही औपचारिक जानकारी आएको छैन उनले भने, ‘चीनका मुख्य नाकाबाट आयात गरिने सामानमा असर पुगेको छ ।’ यसैगरी, अर्को नाका रसुवा भन्सार कार्यालयका प्रमुख रामप्रसाद मैनालीेले औपचारिक जानकारी विना चीनले सामान आयात ठप्प पार्दा बजारमा मूल्यवृद्धि हुने कुरा नकार्न नसकिने बताउनुभयो । ‘हालसम्म औपचारिक जानकारी त आएको छैन, तर सामान आयात भने बन्दछ ।

 

कोभिडको सङ्क्रमण फैलिएकाले आवतजावत बन्द गरेको चीनस्थित नेपालको महावाणिज्यदूतको कार्यालयले जनाएको छ उनले बताए ।
अहिलेको नाकाबन्दी लामो अवधिसम्म कायम रहे दशैँ तिहारमा उच्च माग हुने लत्ताकपडालगायतका सामानको अभाव हुने व्यापारीहरु बताउँछन् ।

 

विवेक इम्पोरियमका प्रोप्राइटर गणेश कट्टेल लामो अवधिसम्म उत्तरी नाका बन्द भएमा दशैँ तिहारका लागि ल्याइने सामान अभाव हुनुका साथै महँगिने बताए । ‘नाका बन्द भएपछि सामान केही आएको छैन, ल्हासाबाटै सामान नपठाएको भन्ने सुन्नमा आएको छ । लामो अवधिसम्म यस्तै अवस्था रहेमा दशैँमा आउने लत्ताकपडालगायत अन्य सामानको मूल्य बढ्ने देखिन्छ’ उनको भनाइ छ । सरकारले नाका खोलेर आयातलाई सहज बनाउन भूमिका खेल्नुपर्ने कट्टेलले सुझाव दिए । हालै चीनको भ्रमण सकेर आफ्नो यात्रा सफल भएको भनी प्रचार गर्न नथाकेका परराष्ट्रमन्त्री डा. नारायण खड्का यतिबेला असल परराष्ट्र नीति तर्जुमा गर्न व्यस्त छन् । उनी निकट एक व्यक्ति भन्छन, ‘डाक्टरसाहेबको चीन भ्रमणको ह्याङओभर सकिएको छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?