नेपाली कांग्रेसका नेता एवं समाजवादी चिन्तक प्रदीप गिरी रहेनन्


काठमाडौं,  ४  भदौ  (असनबजार पत्रिका) :  नेपाली कांग्रेसका  नेता, समाजवादी चिन्तक एवम् प्रतिनिधि सभा सदस्य प्रदीप गिरीको स्वास्थ्योपचारको क्रममा शनिबार  राति ७५ वर्षको उमेरमा निधन भएको छ। उहाँको जन्म सन् १९४७ नोभेम्बर १ मा भएको थियो।

ललितपुरस्थित मेडिसिटी अस्पतालको सघन उपचार कक्ष (आइसियु) मा उपचाररत उहाँलाई शुक्रबार भेन्टिलेटरमा सारिएको थियो। उहाँ सो अस्पतालमा साउन ८ गते भर्ना हुनुभएको थियो। नेपाली कांग्रेस संसदीय दलले शनिबार राति उहाँको निधन भएको पुष्टि गरेको हो। कांग्रेस संसदीय दलका सचेतक मिनबहादुर विश्वकर्माले उहाँको ललितपुरको मेडिसिटी अस्पतालमा उपचारको क्रममाा शनिबार राति ९ : ३० बजे निधन भएको जानकारी गराउनुभएको हो ।

सचेतक विश्वकर्माका अनुसार आइतबार बिहान ९ बजेदेखि ११ बजेसम्म उहाँको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि मेडिसिटी अस्पताल, ललितपुरको शिवालयमा राखिने छ भने बिहान ११ : ३० बजे देखि दिउँसो २ बजेसम्म नेपाली कांग्रेस केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवनमा राखिने छ ।

दिउँसो २ बजेपछि अन्त्यष्टिका लागि पशुपति आर्यघाट लगिने छ । कांग्रेस संसदीय दलका सचेतक विश्वकर्माले सार्वजनिक गर्नुभएको विज्ञप्तिमा गिरीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै दिवंगत आत्माको चिर शान्तिको कामनाका साथै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरिएको छ । ‘दुःखको यस घडीमा शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दछ’, संसदीय दलले सार्वजनिक गरेको शोक वक्तव्यमा भनिएको छ ।

नेता गिरीका बुवा मित्रलाल गिरी पनि राजनीतिमै सक्रिय हुनुहुन्थ्यो। बुवाको प्रेरणाबाट नेता गिरीले २०१७ सालताका राजनीतिक यात्रा सुरु गर्नुभयो। लोकतान्त्रिक आन्दोलनका क्रममा वि.सं. २०२५ मा १८ महिना र २०४२ मा करिव एक वर्षगरी उहाँ झण्डै चार वर्ष जेल बस्नुभयो।

वि.सं. २०२४ मा भारतको बनारसमा रहँदा नेपाल छात्र सङ्घको उपाध्यक्ष हुँदै राजनीति अघि बढाउनुभएका नेता गिरीले कांग्रेस केन्द्रीय सदस्यसम्मको जिम्मेवारीमा बसेर काम गर्नुभएको छ। जवाहरलाल नेहरू विश्वविद्यालयबाट अर्थशास्त्र र दर्शनशास्त्रमा स्नातकोत्तर गर्नुभएका नेता गिरी २०७४ को प्रतिनिधि सभा निर्वाचनमा सिरहा १ बाट निर्वाचित सांसद हुनुहुन्छ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?