कांग्रेसका नेता प्रदीप गिरीको अवस्था गम्भीर बन्दै


 काठमाडौं,  ४  भदौ  (अबप)  :  नेपाली कांग्रेसका  नेता प्रदीप गिरीको अवस्था गम्भीर बन्दै गएकाे उहाँका स्वकीय सचिव कृष्ण खनालले जानकारी दिनुभयो । क्यान्सर रोगबाट पीडित नेता गिरीको ललितपुरको मेडिसिटी अस्पालमा उपचार भइरहेको छ ।

शुक्रबारदेखि उहाँको अवस्था झन् जटिल र गम्भीर बन्दै गएको खनालले जानकारी दिनुभयो । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले यतिबेला प्रार्थनाको जरुरी रहेको भन्दै नेता गिरीको स्वास्थ्यलाभको कामना गर्नुभएको छ।

महामन्त्री शर्माले उहाँ जीवनका लागि सङ्घर्षरत रहनुभएको उल्लेख गर्नुभएको छ। महामन्त्री शर्माले ट्वीटरमा भन्नुभएको छ, ‘‘अनेक हल्लाहरु केवल हल्ला मात्र हुन्।

यसैबीच, राष्ट्रपति विद्यादेवी भण्डारीले नेता एवम् समाजवादी चिन्तक प्रदीप गिरीको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।

राष्ट्रपति भण्डारी नेता गिरीको उपचारबारे जानकारी हासिल गर्न र स्वास्थ्य लाभको कामना गर्न आज केहीबेर अघि ललितपुरको मेडिसिटी अस्पताल पुग्नुभएको थियो । शुक्रबारबाट नेता गिरीको स्वास्थ्य थप जटिल बनेको खबर सार्वजनिक भएपछि राष्ट्रपति भण्डारी अस्पतालमा पुग्नुभएको हो ।

राष्ट्रपति भण्डारीले चिकित्सकहरूसँग भेट गरी नेता गिरीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनु भएको  र शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको जानकारी राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारीले दिनुभयो । राष्ट्रपति भण्डारीले नेता गिरीका परिवारका सदस्यसँग पनि भेट गरी धैर्य राख्न आग्रह गर्नुभयो । क्यान्सर रोगबाट पीडित गिरीको केही दिनअघिदेखि सघन उपचार कक्ष (आइसियु) को भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?