ब्रह्म चिलानीको चेतावनी : ताइवानपछि अर्को लक्ष्य भारतको अरुणाचल प्रदेश


काठमाडौं,  ६  भदौ  (असनबजार पत्रिका)  :  भारतका चितपरिचित रक्षा विशेषज्ञ एवं प्राध्यापक ब्रह्म चिलानीले चीनले ताइवानपछि भारतको अरुणाचल प्रदेशलाई लक्ष्य बनाउन सक्ने चेतावनी दिएका छन् ।

जापानबाट प्रकाशित हुने निक्कइके अखबारमा चिलानीको लेखमा उक्त चेतावनी दिइएको हो । चिलानीले लेखमा यदि ताइवानमाथि चीनले कब्जा गर्न सफल भयो भने बेइजिङको अर्को लक्ष्य भारतको अरुणाचल प्रदेश हुन सक्छ । अरुणाचल ताइवानभन्दा ३ गुणा ठूलो छ, चीनले अरुणाचल क्षेत्रलाई आफ्नो नक्शामा यसभन्दा अघि नै देखाइसकेको छ । त्यसकारण ताइवानको सुरक्षा भारतका लागि महत्वपूर्ण भएको उल्लेख गरेका छन् ।

भारत र चीनबीच हिमाञ्चल, लद्दाखलगायत अरुणाचल क्षेत्रमा सीमा विवाद जारी छ । चीन अरुणाचललाई आफूले कब्जा गरेको तिब्बतको दक्षिणी भाग मान्दछ । तर भारतले भने चीनको दाबीलाई शुरूदेखि नै खारेज गर्दै आएको छ । चीनले अरुणाचलको सीमा क्षेत्र वरपर सैन्य गतिविधिका लागि थुप्रै भौतिक पूर्वाधारहरू निर्माण गरिरहेको पनि बताइएको छ ।

चीनको कुत्सित चाललाई दृष्टिगत गर्दै भारतले पनि आफ्ना सैन्यस्थिति र सामरिक महत्वका क्षेत्रहरूमा सतर्कता अपनाउँदै आएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । (एजेन्सी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?