आउँदो चुनावमा एमाले एक्लै जाने तर लक्ष्य बहुमत


काठमाडौं,  ७  भदौ  (अबप)  :  नेकपा एमालेले तत्काल वाम गठबन्धनको सम्भावना नरहेको भन्दै एकढिक्का भएर चुनावको सामना गर्ने निष्कर्ष निकालेको छ ।

पार्टी कार्यालयमा मंगलबार बसेको स्थायी कमिटीको बैठकमा घनश्याम भुसाल लगायत केही नेताले वाम गठबन्धनको पहल गर्नुपर्ने बताए पनि आफूलाई वामपन्थी भन्नेहरु कांग्रेस छाडेर फर्किने अवस्थामा नरहेकाले त्यसमा अलमलिन नहुने निष्कर्षमा बैठक पुगेको बताइएको छ ।

पार्टी स्रोतका अनुसार अधिकांश स्थायी कमिटी सदस्यहरूले प्रचण्ड र माधव नेपालहरु एमालेविरुद्ध ८ दलीय गठबन्धन बनाउने भनेर हिँडेका बेला वामपन्थी गठबन्धन भन्नुको अर्थ नभएको विचार व्यक्त गरेका थिए । बैठकमा घनश्याम भुसाल, रघुजी पन्त, हिक्मत कार्की, शेरधन राई, शेरवहादुर तामाङलगायतका नेताहरुले गठबन्धनसम्बन्धी धारणा व्यक्त गरेको बुझिएको छ । यसैगरी बैठकले विभिन्न पार्टी छाडेर एमाले प्रवेश गर्ने चार जनालाई केन्द्रीय कमिटीमा मनोनयन गर्ने निर्णय गरेको छ ।

बैठकले दाङका जीवन गौतम, कपिलवस्तुका वृजेश गुप्ता, काठमाडौंका धर्मदत्त देवकोटा र झापाका अमृतलाल राजबंशीलाई केन्द्रीय सदस्यमा मनोनयन गर्ने निर्णय गरेको हो ।

बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका उम्मेदवारको मापदण्ड प्रस्ताव गरेको छ । सो प्रस्तावमाथि सबैको सुझाव लिएर केन्द्रीय कमिटीले पारित गरिने छ । आजकै बैठकले केन्द्रीय सल्लाहकारमा तीन जनालाई मनोनयन गरेको छ । काठमाडौंका कुलभक्त शाक्य, कास्कीका डिबी नेपाली र बाग्लुङका नवराज पौडेल केन्द्रीय सल्लाहकारमा मनोनित भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?