पूर्वराजा ज्ञानेन्द्रका भिनाजु स्वर्गीय कुमार खड्गविक्रमसहित ३१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर


काठमाडौं,  १०  भदौ (असनबजार पत्रिका)  :  गुठीको जग्गा हडपेको आरोपमा पूर्वराजा ज्ञानेन्द्रका भिनाजु स्वर्गीय खड्गविक्रम शाहसहित ३१ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगले धनुषाको पिँडारीचोक र रत्नसागर मन्दिरको नाममा रहेको ८ बिगाहा १० गठ्ठा जग्गा गैरकानुनी रुपमा व्यक्तिको नाममा सारेको भन्दै उक्त कार्यमा संलग्न मालपोत कार्यालयका तत्कालीन कर्मचारीसहितलाई मुद्दा दायर गरेको हो ।

पूर्वराजा ज्ञानेन्द्रकी दिदी शारदाका श्रीमान् खड्गविक्रमको २०५८ साल जेठ १९ को दरबार हत्याकाण्डमा मारिएका थिए । फौजदारी कार्यविधि संहिताले निधन भएका व्यक्तिलाई जेल र जरिवानाको सजाय हुन नसक्ने व्यवस्था गरेको छ। उक्त संहिताले अपराधीसँगै अपराध पनि मर्दछ भन्ने न्यायको सर्वमान्य सिद्धान्तलाई अङ्गीकार गरेको छ तर भ्रष्टाचार निवारण ऐनले भने निधन भइसके पनि व्यक्तिको हकमा सरकारी वा निजी बिगो, क्षतिपूर्ति वा रकम भराउन सकिने व्यवस्था गरेको छ। सोही व्यवस्थाबमोजिम शाहलाई कारबाहीको माग गरिएको आयोगले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

सो व्यवस्थाअनुसार बिगो दाबी गरिएको रकम शाहको नाममा रहेको कुनै सम्पत्ति वा उहाँको नामबाट नजिकको हकवालाको नाममा गएको भए सोही सम्पत्तिबाट असुल गर्न आयोगले माग गरेको छ। शाहले गुठी संस्थान तथा मालपोत कार्यालयका कर्मचारीलाई समेत प्रभावमा पारेर मन्दिरको नाममा रहेको आठ बिघा १० कट्ठा १२ धुर जग्गा आफ्नो नाममा पारित गराएको आयोगले दाबी गरेको छ। आयोगले जग्गा असुलउपर गर्न भन्दै खड्गविक्रमलाई पनि विपक्षी बनाएको हो ।

अख्तियारका अनुसार खड्गविक्रम शाहका विरुद्ध प्रचलित मूल्य अनुसार २९ करोड ८८ लाख ८१ हजार ४३७ रुपैयाँ बिगो कायम गरिएको छ । यस्तै जनकपुर गुठी तहसिल तथा खर्च कार्यालयका तत्कालीन कार्यालय प्रमुख मधुप्रसाद बस्ताकोटी, मालपोत कार्यालय धनुषाका तत्कालीन नायव सुब्बा यमुनाप्रसाद पंजियार, खरिदार जगदेव कामतीविरुद्ध पनि मुद्दा दायर गरिएको छ ।

उक्त जग्गा अहिले खरिद गर्ने धनुषा उपमहानगर पालिकाका दिवशविक्रम शाह, विभा कुमारी यादव, राज किशोर महासेठ, विमला देवी, विजय कुमार मण्डल, चन्द्रकला कुमारी देवी, त्रिफला कुमारी देवी, लिलादेवी यादव, नृपेन्द्र सिंह, राम विपिन साह, सज्ञान देवी, पुष्पा सिंह र लक्ष्मी नारायण मिश्रा विरुद्ध पनि मुद्दा दायर गरिएको छ ।

यस्तै मुद्दा दायर गरिएका अन्य जग्गा खरिदकर्ताहरुमा नितु कुमारी झा, शर्मिला कुमारी, रेणु कुमारी राय, नवल किशोर यादव, जय कुमार गोईत, रिता देवी, सिकली देवी यादव, नविन कुमार झा, मनिशा कुमारी झा, मिना कर्ण, विपेन्द्र कुमार मिश्र, राधिका देवी यादव, मोमिना बेगम र गजेन्द्र ठाकुर रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?