काठमाडौं उपत्यकालगायत देशका धेरै स्थानमा डेंगुको सङ्क्रमण, बच्नका लागि झुल उत्तम विकल्प


काठमाडौं, १२ भदौ (असनबजार पत्रिका)  : काठमाडौं उपत्यकालगायत देशका धेरै स्थानमा डेंगु ज्वरोका बिरामी बढेका छन्। लामखुट्टेको टोकाइबाट सर्ने यो रोग तराई–मधेशमा धेरै पाइने गरेकोमा अहिले पहाडी क्षेत्रमा पनि प्रकोपको रुपमा फैलिएको छ।

 

विशेषगरी साँझ–बिहानको समयमा सक्रिय हुने एडिज एजिप्टी र एडिस एल्बोपिक्टस प्रजातिको लामखुट्टेको टोकाइबाट डेंगुको सङ्क्रमण फैलिने गर्छ। नेपालमा सन् २००४ मा पहिलो पटक डेंगुको बिरामी फेला परेका थिए। त्यसयता डेंगुको सङ्क्रमण देखिँदै आएको छ।

 

राजधानीकै निजामती कर्मचारी अस्पतलामा पनि डेंगुका बिरामी भर्ना हुन थालेका छन्। अस्पतालका निर्देशक डा. विधाननिधि पौडेलले अस्पतालमा अहिलेसम्म २० जना बिरामीको उपचार भइसकेको जानकारी दिए। अस्पतालले डेंगुबाट बच्नका लागि सबै शय्यामा रहेका बिरामीलाई झुल प्रयोग गर्न निर्देशन दिएको छ।

 

उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड,  घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्ने आदि डेंगुका लक्षण हुन्।

 

जेठयता काठमाडौँमा दुई सय ३३, ललितपुरमा ६ सय २३ र भक्तपुरमा ३८ जना डेंगुका बिरामी भेटिएका छन्। साउनमा मात्रै काठमाडौँमा एक सय ९६, भक्तपुरमा ३५ र ललितपुरमा पाँच सय २३ बिरामी भेटिएको छ । डेंगुको सम्भावित प्रकोप रोक्न लामखुट्टेका लार्भा नष्ट गर्ने अभियान चलाउन पर्ने विज्ञहरूले बताएका छन्।

 

डेंगुबाट बच्न निम्न उपाय अपनाइएमा राम्रो हुने स्वाथ्यविज्ञहरू बताउँछन् । उनीहरूका अनुसार, घर, विद्यालय, बजारवरिपरि जम्मा भएको पानी हटाउनुपर्छ। जमेर रहेको पानीमा लामखुट्टेले अण्डा पार्ने गर्छ। त्यसैले पानी जमाएर राख्न हुँदैन। डेंगुको रोकथाम गर्नु भनेको लामखुट्टेको टोकाइबाट बच्नु हो। घरमा झुल टाँगेर सुत्ने, साँझ–बिहान सकेसम्म बाहिर ननिस्कने तर निस्कनै परे लामा बाहुला भएका लुगा लगाउने वा लामखुट्टे भगाउने क्रिम लगाएर हिँड्ने। उच्च ज्वरोको लक्षण देखिएमा तुरुन्तै अस्पतालमा जँचाउन जानुपर्दछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?