चीनको हेपाहा प्रवृत्तिले नेपाली व्यापारी शिकार, राजदूत श्रेष्ठ बेइजिङको तारिफ गर्न व्यस्त


काठमाडौं,  २२  भदौ  (अबप)  :  विगत दुई महिनादेखि कोभिड–१९ सङ्क्रमणको कारण देखाउँदै चीनले नेपालसँग जोडिएका भन्सार नाकाहरू बन्द गरेपछि सयौँ कन्टेनर सामान चीनतिरै अड्किएका छन् । सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजकुमार बस्नेतले उत्तरी नाका भएर चाडपर्व लक्षित सामान दशैँअघि आउन अब सम्भव नभएको बताए।

लकडाउनका कारण २ सयभन्दा बढी केरुङ र एक सयभन्दा बढी खासामा, ३० मिम्बु, सिगात्सेमा २५, ल्हासा क्षेत्रमा केही मालवाहक कन्टेनर रोकिएको अवस्था छ । आयात रोकिएपछि बजारमा उधारो सामान रहेको, बैङ्कले ऋण दिन छाडेको जस्ता गुनासा व्यापारीहरूले गर्न थालेका छन् ।
चीनले खासा, न्यालम, सिगात्सेलगायतका क्षेत्रमा कोभिड सङ्क्रमणको कारण देखाउँदै साउन २५ गतेयता कोदारी नाका बन्द गर्दै आएको छ ।
साउन २५ अघि भन्सार कार्यालयमा भित्रिएका पाँच सय मेट्रिक टन रासायनिक मल, मेडिकल मास्क, रोल कपडा भन्सार गोदाममा थन्किरहेको तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख नारद गौतमले जानकारी दिए ।

नाका खुलाउनका लागि कूटनीतिक पहल गर्न प्रधानमन्त्री, पराराष्ट्र मन्त्री, भन्सार विभाग, दलका शीर्ष नेता, सरोकारवाला निकायलाई ज्ञापनपत्रजस्ता विभिन्न माध्यमबाट आग्रह गरिएको नेपाल हिमालय सीमापार वाणिज्य सङ्घका अध्यक्ष अशोक श्रेष्ठले बताए ।

यसैबीच नेपाली कांग्रेसकी नेत्री सजाता कोइरालाले पनि मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा चीनले अघोषित रूपमा गरेको नाकाबन्दीबारे नेपाल सरकारको ध्यनाकर्षण गराएकी थिइन् । त्यसैगरी चीनका लागि नेपालका राजदूत विष्णुपुकार श्रेष्ठ भने नेपाल–चीनबीच रेल यातायात चलेमा नेपालको आर्थिक कायाकल्प हुने भनी बेइजिङमा भाषण गर्दै व्यस्त भएको चीनको सरकारी समाचारपत्र ग्लोबल टाइम्सले मंगलबार जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?