माओवादी पार्टी रहेनन् प्रचण्ड नेतृत्वको सानो केन्द्र मात्र बाँकी : ओली


काठमाडौं,  ३०  भदौ  (अबप)  :  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको एमाले प्रचण्ड गुटबाहेकको नेकपाकै निरन्तरता रहेको बताएका छन् ।

 

प्रचण्डको गृह जिल्ला चितवनका सहइन्चार्ज तथा माओवादी केन्द्रीय सदस्य यमबहादुर परियारलगायतलाई पार्टी प्रवेश गराउँदै अध्यक्ष ओलीले पार्टी एकताका लागि आफूले दिएको संख्यालाई प्रचण्डले गलत प्रयोग गरेर आफैंलाई हटाउन खोजेको र नसकेपछि अलग्गिएको उल्लेख गरे ।

 

ओलीले आफूले अँगालो हालेर प्रचण्डलाई अध्यक्ष बनाए पनि उल्टै छुरा धसेर हिँडेको बताउँदै भने, ‘जस्लाई मैले अँगालो हालेर अध्यक्ष बनाए, मेरै छेउमा राखे उल्टै मलाई नै ग्वाम्मै छुरा पो घोपे ।’

ओलीले गलत व्यक्तिलाई विश्वास गरेर पार्टी एकता गरेको रहेछु भनेर अहिले आफू सोचाइमा गरेको समेत बताए ।
‘मैले दिएको बहुमत मविरुद्ध नै प्रयोग गर्न खोज्ने ? म भन्दै थिएँ, पर्खिनुस् महाधिवेशनबाट अध्यक्ष बनाउँछु । तर, उनी त मसँग बहुमत पुगिसक्यो भनेर मलार्इ नै निकाल्न पो तम्सिएछन्’ ओलीको विगतको स्मरण थियो ।

 

ओलीले अदालतले पार्टीको नाममात्र जुध्यो भनेको भन्दै नेकपा विभाजन नभएको दावीसमेत गरे । ओलीले माओवादी पार्टी अब नरहेको भन्दै प्रचण्डको नेतृत्वमा सानो केन्द्रमात्र बाँकी रहेको बताए । माओवादी नेताहरूलाई प्रवेश गराउन एमाले उपाध्यक्ष रामबहादुर थापा बादल, सुरेन्द्र पाण्डे, केन्द्रीय सदस्य जेएन थपलिया, देवी ज्ञवालीको  विशेष पहल थियो । परियार माओवादी केन्द्र चितवनको जिल्ला सह–इन्चार्जसमेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?