आज विश्वकर्मा पूजा, को हुन् भगवान विश्वकर्मा ?


काठमाडौं, १ असोज (असनबजार पत्रिका)  :  हिन्दुधर्ममा मानव विकासका लागि धार्मिक व्यवस्थामा जीवनसँग जोड्न विभिन्न अवतारको विधान पाइन्छ । यी नै अवतारमध्ये एक हो भगवान विश्वकर्मा । जसलाई दुनियाँको पहिलो इञ्जिनियर मानिन्छ । विश्वकर्माले नै पूरै दुनियाँको ढाँचा तयार गरेका हुन् । उनै सृष्टिको प्रथम आविष्कारक थिए ।

 

भगवान विश्वकर्माको उत्पत्ति

 

एक कथाअनुसार, भगवान नारायण सागरमा शेषशय्यामा प्रकट भए । उनको नाभी कमलबाट चतुर्मुख ब्रह्माजी दृष्टिगोचर भए । ब्रह्माको पुत्र धर्म र धर्मको पुत्र वस्तुदेव भए । भनिन्छ, धर्मको वास्तु नामक स्त्रीबाट उत्पन्न पुत्र वास्तु सातौं पुत्र थिए । उनै शिल्प शास्त्रका प्रवत्र्तक थिए । उनै वास्तुदेवको अंगरशी नामक पत्नीबाट विश्वकर्माको उत्पति भयो । पिता जस्तै विश्वकर्मा पनि वास्तुकलाको अद्वितीय आचार्य बने ।
भगवान विश्वकर्माको पनि पाँच पुत्रहरू थिए । उनका पुत्र मनु, मय, त्वस्ता, शिल्पी र दैवज्ञ हुन् । यिनीहरू पनि अलग–अलग विद्यामा पारंगत थिए । यसै प्रसंगमा मनुलाई फलाम, मयलाई काठ, त्वस्तालाई कांस्य एवं तामा, शिल्पीलाई इँट र दैवज्ञलाई सुनचाँदीसँग आबद्ध गरिएको छ ।
विभिन्न युगमा भगवान विश्वकर्माको वास्तुशिल्प चमत्कार यसप्रकारको छ :– शनियुगमा स्वर्ग, त्रेतायुगमा स्वर्णको लंका, द्वापरयुगमा द्वारिका, कलियुगमा हस्तिनापुर र इन्द्रप्रस्थ शहर र अद्भुत पुष्पक विमानको निर्माण गरेका थिए ।

 

विश्वकर्मालाई किन पुजिन्छ ?

 

पौराणिक कथाअनुसार, सृष्टिलाई समाल्ने जिम्मेवारी ब्रह्माजीले भगवान विश्वकर्मालाई सुम्पेको थियो । ब्रह्माजीलाई आफ्नो वंश र कलाप्रति पूर्ण विश्वास थियो । जब ब्रह्माजीले ब्रह्माण्डको निर्माण गरे त्यो एउटा विशाल काय अण्डाको आकारमा थियो र त्यही अण्डाबाट सृष्टिको उत्पत्ति भयो । पछि ब्रह्माजीले त्यस अण्डालाई शेषनागको जिह्वामा राखिदिए । शेषनाग समय समयमा चल्नाले गर्दा त्यस अण्डामा नोक्सान हुन्थ्यो । यो समस्याबाट ग्रसित ब्रह्माजीले भगवान विश्वकर्मासँग उपायका सम्बन्धमा सोधे र विश्वकर्मा भगवानले मेरु पर्वतलाई जलमा राखेर सृष्टिलाई स्थिर पारे । त्यसपछि विश्वकर्माको अत्यन्त निर्माण क्षमता र शिल्पकलाबाट ब्रह्माजी प्रभावित भए । त्यति बेलादेखि नै विश्वकर्मालाई विश्वको पहिलो इञ्जिनियर वास्तुकलाविद्को रूपमा मानिँदै, पुजिँदै आएको हो । विष्णु पुराणको पहिलो अंशमा भगवान विश्वकर्मालाई देवताहरूको देववर एवं शिल्पकारको रूपमा सम्मानयोग्य भनिएको छ । यही मान्यता अन्य पुराणमा पनि उल्लेख छ । शिल्पग्रन्थमा विश्वकर्मालाई सृष्टिकर्ता पनि भनिएको छ ।

धर्मशास्त्र र ग्रन्थमा विश्वकर्माको पाँच स्वरूप र अवतार रहेको उल्लेख छ । १. विराट विश्वकर्मा । २. धर्मवंशी विश्वकर्मा । ३. अंगीरावंशी विश्वकर्मा । ४.सुधन्मा विश्वकर्मा । ५. भृगुवंशी विश्वकर्मा ।

भगवान विश्वकर्माको सबैभन्दा ठूलो पुत्र मनु ऋषि थिए । यिनको विवाह अंगीरा ऋषिको पुत्री कञ्चनासँग भएको थियो । स्कन्दपुराणमा वर्णन गरिएअनुसार विश्वकर्मा यति शक्तिशाली थिए कि उनी पानीमाथि हिँड्न सक्ने खडाऊसमेत बनाउन योग्य र समर्थ थिए । उनैले मानव कूलको निर्माण गरे । विश्वकर्माको कुलमा अग्निगर्भ, सर्वतोमुख र ब्रह्मादि ऋषि उत्पति भए । विश्वकर्मालाई वैदिक देवताको रूपमा पनि मानिन्छ । किन्तु, उनको पौराणिक स्वरूप अलग प्रतीत हुन्छ । विश्वको पहिलो तकनिकी ग्रन्थ विश्वकर्मीय ग्रन्थ अत्यन्त प्राचीन मानिन्छ । जुन ग्रन्थमा वास्तुविद्या, रथादि वाहन र रत्नसम्बन्धी विमर्श गरिएको छ । विश्वकर्मा प्रकाश ग्रन्थ विश्वकर्मा जीवन मतको जीवन्त ग्रन्थ हो । विश्वकर्मा प्रकाशलाई वास्तुतन्त्र पनि भनिन्छ । यस वास्तुतन्त्रमा मानव र देवताको वास्तुविद्यालाई गणितको सूत्रको रूपमा बताइएको छ । (प्रस्तुती : उज्ज्वल झा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?