ओलीले भने, “चोलेन्द्रलाई सफाइ आफैँ दिने अनि घर घेर्ने ?”


काठमाडौं,  २  असोज  (अबप)  :  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको महाभियोगको प्रस्तावलाई विलम्बमा पारेर सत्ता पक्षले नै सफाइ दिएको बताभएका छन् ।

 

बालकोटमा आज पत्रकारहरुसँग कुराकानी गर्दै अध्यक्ष ओलीले सफाइ पाएका निलम्बित प्रधानन्यायाधीश जबराको घर घेरेर सरकारले कानुनी र संवैधानिक राज्यको खिल्ली उडाइरहेको पनि उल्लेख गरे । ‘कानुन र मर्यादा सबैले पालना गर्नुपर्छ संविधाननै नमान्ने हो भने त्यो कानुनको राज हैन जंगलीराज हुन्छ’, ओलीको भनाइ थियो । चोलेन्द्र शम्शेरमाथि लागेको महाभियोग प्रस्ताव प्रतिनिधिसभाको बैठकले दुई तिहाइले पारित गर्नुपर्ने तर त्यसोे नगरेपछि प्रधानन्यायाधीशले सफाइ पाएको उनको विचार थियो ।

 

ओलीले भने, “गत फागुन १ मा दर्ता भएको प्रस्ताव सरकारले षडयन्त्रपूर्वक ६ महिनासम्म रोकेर राख्यो, भदौ १ गतेसम्म सभामुखज्यूले यसलाई आफ्नो घर्रामा सत्ता पक्षको स्वार्थमा परेर राख्नु भयो र उहाँले कारवाही अगाडि बढ्नै दिनुभएन, रोक्नुभयो । प्रमुख प्रतिपक्षी दलका तर्फबाट हामीले प्रधानन्यायाधीश जस्तो ओहोदाको मान्छेमाथि यस्तो आरोप लागेपछि यसलाई रोकेर केही नभएझै गरेर निष्क्रिय बस्नु हुँदैन किराना लगाउनुपर्छ भनेर भन्यौं । तर सत्तापक्षले गणितीय खेल बनाई त्यस्मा पनि खेल्यो । यस्ता षडयन्त्र हुनु दुःखको कुरा हो । हिजो संसदको कार्यकाल सकियो । संसदको कार्याकाल सकिँदा महाभियोगको प्रस्ताव पारित भएन । पारित भएन भनेपछि सत्तापक्षले उहाँलाई सफाइ दियो । विलम्ब गरेर र प्रक्रिया अगाडि नबढाएर सफाइ दियो । आफैँले खनेको खल्डोमा आफैँ परेर सफाइ दियो । अथवा आफैँले थापेको पासोमा आफैँ परेर सफाइ दियो । उ, त्यो जे हो आफैँ जानोस् तर सफाइ त दियो ।”

 

“यो प्रश्न तीन महिनाभित्र टुंग्याउनुपर्ने हुन्छ । कुनै पनि प्रस्तावको कार्यकाल हुन्छ । अवधि हुन्छ । संसदीय प्रक्रियाको प्रस्तावहरु कहिलेसम्ममा टुंग्याउने भन्ने हुन्छ । सेना–प्रहरी हातमा छ भनेर जे पनि गरे हुन्छ ? मान्छेको घर घेर्ने, नजरबन्द बनाउने, तमासा गर्ने हो ? लोकतन्त्रमा अभियोग पुष्टि नभएपछि प्रधानन्यायधीशले के गर्ने ?” ओलीको टिप्पणी थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?