लोकतन्त्रमाथि फेरि कालो बादल छायो : डा. यादव


जनकपुरधाम,  ५  असोज  (असनबजार पत्रिका)  :  नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले राष्ट्रपति विद्यादेवी भण्डारीको नागरिकता विधेयक प्रमाणीकरण नगर्नाले देश फेरि प्रतिगमनतर्फ जान सक्ने बताएका छन् ।

जनकपुरधामस्थित सरस्वती माध्यमिक विद्यालयको भवनको बुधबार पुनर्निर्माणको भूमिपुजन गर्दै डा. यादवले नेपालको लोकतन्त्रमाथि फेरि कालो बादल छाएको बताएका हुन् । ‘दुई दुई पटक सदनबाट पास भएको नागरिकता विधेयकलाई राष्ट्रपतिज्यूले प्रमाणीकरण गर्नुपर्थ्यो । राष्ट्रपति संस्थाको मर्यादा, गरिमा, कर्तव्य बुझेर काम गर्नुपर्ने थियो । तर आज उहाँले संविधानको उल्लंघनकै काम गर्नु भएको छ’, उनले भने ‘ यसले लोकतन्त्रमा कालो बादल छाएको छ ।’

दुई दुई पटक प्रतिनिधिसभा विघटन भएपछि अदालत, पाँच दलीय गठबन्धन, नागरिकसमाज, मिडिया र हरेक नेपालीको प्रयासले संविधान ट्रयाकमा आएको तर, एक पटक फेरि संविधानको उलंघन भएकाले सबै नेपाली सजग रहन उनले आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?