नागरिकता विधेयकमा राष्ट्रपतिका नाममा कारण देखाउ आदेश जारी


काठमाडौं,  ९  असोज  (असनबजार पत्रिका)  :  राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता संशोधन विधेयकलाई प्रमाणीकरण गराउन माग गर्दै परेको रिटमा विपक्षीका नाममा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।

न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले नागरिकता विधेयक प्रमाणीकरण गर्न माग गर्दै दायर भएका ५ वटा रिट निवेदनमाथि एकैसाथ सुनुवाई गर्दै अग्राधिकार प्रदान गर्न आइतबार आदेश दिएको हो । राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरी संविधान उल्लंघन गरेको दाबीसहित विभिन्न व्यक्तिले पाँच वटा रिट दायर गरेका थिए । राष्ट्रपतिको कदम संवैधानिक नैतिकता, वस्तुनिष्ठता, सुशासन र संवैधानिक अभ्यासको विपरीत रहेको दाबी रिट निवेदकहरुले गरेका छन् । साथै, रिटमार्फत राष्ट्रपतिलाई संविधानको धारा १ सय १३ को उपधारा ४ बमोजिम विधेयक प्रमाणीकरण गर्नु भनी परमादेशलगायत उपयुक्त आदेश माग गरिएको छ ।

रिटायर्ड हुँदै कामु प्रधानन्यायाधीश कार्की

सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले आजदेखि अवकाश लिँदैछन् । सर्वोच्चका प्रवक्ता विमल पौडेलले उमेरहदका कारण असोज १६ गते अनिवार्य अवकाश पाउन लागेका कार्कीलाई आज सर्वोच्च अदालतमा औपचारिक कार्यक्रम गरी विदाइ गरिने जानकारी दिए ।

भोलिदेखि सर्वोच्च अदालत बन्द हुने भएका कारण आइतबार कार्कीको बिदाई गरिने सर्वोच्चले जनाएको छ । गत फागुन १ देखि कार्कीले कायममुकायम प्रधानन्यायाधीशको रुपमा काम गर्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?