कांग्रेसमा शेखर–गगन गूटका टिकटार्थीको असन्तोष उत्कर्ष


काठमाडौं,  १०  असोज  (असनबजार पत्रिका)  :  नेपाली कांग्रेसमा आम चुनावका लागि टिकट वितरण नजिकिँदै जाँदा असन्तोष पनि उत्तिक्कै बढेर गएको छ । विशेषगरी नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापा समर्थित कार्यकर्ता अब खुल्लमखुल्ला सभापति शेरबहादुर देउवाको विरोधमा गूटगत भेला आयोजना गर्नमा सक्रिय देखापरेको छ ।

उनीहरूले हालै समानुपातिकतर्फको मनोनयन एवं टिकट वितरणमा सभापति देउवाले एकलौटी ढंगले कार्यसम्पादन गरेको आरोप लगाउँदै राजधानीमा शनिबार खबरदारी भेला आयोजना गरेका थिए । त्यस्तै उनीहरूलगायत टिकटार्थीको समूहले अब पार्टी कार्यालयमा धर्ना लगायतका कार्यक्रम गर्ने भएका छन् ।

 

ठमेलस्थित एक होटलमा सोमबार बसेको बैठकले असोज १२ गतेदेखि १४ गतेसम्म पार्टी नेतृत्वलाई खबरदारी गर्न विभिन्न कार्यक्रम गर्ने निर्णय गरेको छ । पार्टीभित्र टिकटलगायतमा समान अवसर र दुःख गरेका कार्यकर्तालाई भूमिका तथा न्याय दिनुपर्ने माग उनीहरूले गरेका छन् ।

जगदीश्वरनरसिंह केसी, केन्द्रीय सदस्य प्रतिमा गौतम, अजयबाबु शिवाकोटी, मधु आचार्य, प्रकाश स्नेही, गुरूराज घिमिरे, रामनाथ अधिकारी, भूपेन्द्रजंग शाही, जितनारायण श्रेष्ठ, राजेन्द्र बजगाइँ लगायतले छलफल गरी टिकट वितरणमा गुटका आधारमा कसैलाई काखा र कसैलाई पाखा गर्न नहुने भन्दै असोज १२ गते पार्टी केन्द्रीय कार्यालयमा धर्ना दिने, असोज १३ गते बत्तीसपुतलीमा चियापान तथा विरोधसभा गर्ने र असोज १४ भित्र समानुपातिक उम्मेदवारको सूची सच्याउन नेतृत्वसँग माग गर्ने भएका छन् । समानुपातिक उम्मेदवार सूची बुझाउँदा शेखर–गगन पक्षलाई सभापति देउवा पक्षले ४० प्रतिशत नदिएको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?