प्रचण्ड प्रधानमन्त्रीको ‘रेस’ मा नरहेको जानकारी


चितवन,  १०  असोज : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफु प्रधानमन्त्रीको ‘रेस’ मा नरहेको बताउनुभएको छ । प्रेस सेन्टर नेपालले आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उहाँले आफू प्रधानमन्त्रीको रेसमा नरहेको भन्दै लोकतन्त्र, राष्ट्र र संविधानको रक्षा आफ्नो पहिलो प्राथमिकता भएको बताउनुभयो ।

 

आर्थिक विकास र समृद्धि आफ्नो प्राथमिकता भएको भन्दै उहाँले भन्नुभयो, “चाहेको भए विसं २०७४ को निर्वाचनपछि पाँचैँ वर्ष प्रधानमन्त्री हुने अफर मलाई थियो ।” प्रधानमन्त्री मुख्य होइन भन्दै उहाँले राजनीतिक स्थिरता, लोकतन्त्रको सुदृढीकरण, आर्थिक विकासको वातावरण बनाउने र आफूलाई त्यसका निम्ति समर्पित गर्ने प्रतिबद्धता रहेको बताउनुभयो । आउँदो समय सम्वृद्धिको दशक भएको भन्दै उहाँले अबको क्रान्ति आर्थिक हुनुपर्छ भन्नुभयो । उहाँले भन्नुभयो, “जीवनको उत्तरार्धको बाँकी समय आर्थिक सम्वृद्धि र क्रान्तिका लागि लाग्छु ।”

अर्बौका परियोजना कसरी नेपाल ल्याउन सकिन्छ र हामीकहाँ भएको प्राकृतिक साधन स्रोतको सही उपयोग गर्न सकिन्छ भन्नेमा आफ्नो ध्यान रहेको उहाँका भनाइ थियो । उहाँले भन्नुभयो, “एउटा नयाँ क्रान्ति समाजवादका निम्ति, सामाजिक न्यायका लागि गर्ने परिकल्पना गरिएको छ ।”  (रासस) 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?