बाँकेमा बाढी तथा डुबानबाट आठ हजार बढी घरधुरी पीडित


राँझा,  २५  असोज  : अविरल वर्षाद्का कारण बाँकेमा आठ हजार बढी घरधुरीमा बसोबास गर्ने जनता पीडित भएका छन् । जिल्लाका आठ स्थानीय तहका आठ हजार सात सय तीन घरधुरी बाढी तथा डुबानबाट प्रत्यक्षरुपमा पीडित हुन पुगेको बाँके जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले जानकारी दिनुभयो । उहाँका अनुसार सबैभन्दा धेरै राप्ती सोनारी गाउँपालिकामा तीन हजार ५००, नरैनापुर गाउँपालिकामा दुई हजार छ सय ९६, डुडुवा गाउँपालिकामा एक हजार नौ सय ५०, खजुरा गाउँपालिकामा दुई सय ४९, नेपालगञ्ज उपमहानगरपालिकामा दुई सय २०, बैजनाथ गाउँपालिकामा ५०, जानकी गाउँपालिकामा २० र कोहलपुर नगरपालिकामा १८ घरधुरी पीडित भएका छन् ।
बाढी तथा डुबानबाट आठ स्थानीय तहका एक सय ८१ घरधुरीमा पूर्ण क्षति र पाँच सय ९८ घरधुरीमा आंशिक क्षति हुनाका साथै एक हजार एक सय ४३ घरधुरी विस्थापित हुन पुगेको सहायक प्रमुख जिल्ला अधिकारी केसीले बताउनुभयो । आठ स्थानीय तहका बाढी पीडित ३७ वडाबाट दुई हजार एक सय ३१ जनाको उद्धार गरिएको छ । राप्ती नदीमा आएको बाढीका कारण राप्तीसोनारी, नरैनापुर र डुडुवा गाउँपालिकाको तल्लो तटीय क्षेत्रका जनता डुबानमा परेका छन् । उक्त गाउँपालिका– २ टिकुलीपुर गाउँका मात्रै चार सय ५० घरधुरीका मानिस विस्थापित भएको वडाध्यक्ष ज्ञानेन्द्र वलीले जानकारी दिनुभयो । बाढी पीडित स्थानीयवासीलाई जनकल्याण सामुदायिक भवनमा राखिएको छ । राप्तीमा पानीको सतह नघटेकाले अझै डुबानको खतरा कायमै रहेको जिल्ला विपद् व्यवस्थापन समितिका सूचना अधिकृत रुपन ज्ञवालीले जानकारी दिनुभयो ।  (रासस) (तस्बिर : प्रतीकात्मक)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?