सन्दीप लामिछानेलाई थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंको अनुमति


काठमाडौं,  २  कात्तिक (अबप) :  नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।

 

प्रहरीले सन्दीपलाई बुधबार बिहान ९:४० बजे अदालतमा पेस गरेको हो । प्रहरीले सात दिनको समय माग गरेपनि अदालतले चार दिन मात्र म्याद थप गरी कात्तिक ६ गते आइतबार प्रतिवेदन सहित पेस गर्न अनुमति दिएको अधिवक्ता सरोजकृष्ण घिमिरेले जानकारी दिनुभयो । प्रहरीले सन्दीपलाई तेस्रो पटक अदालतमा पेस गरेको हो । सन्दीपमाथि १७ वर्षीया नाबालिकामाथि बलात्कार गरेको आरोपमा उजुरी परेको छ । यसअघि सन्दीपलाई असोज २७ गते दोस्रो पटक र असोज २० गते पहिलो पटक प्रहरीले अदालतमा पेस गरेको थियो ।

 

सन्दीपलाई अदालतले पहिलो पटक असोज २० गते सात दिन र दोस्रो पटक थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । गत भदौ ५ गते १७ वर्षीया नाबालिकामाथि बलात्कार गरेको आरोप लागेका सन्दीपलाई असोज २० गते प्रहरीले पक्राउ गरी अदालतमा उपस्थित गराएको थियो । पछिल्लो पटक कात्तिक १ गते फाइल पेस गर्ने वा म्याद थपको लागि पुनः पेस गर्न अनुमति दिइए पनि मङ्गलबार अदालत बिदा भएकोले सन्दीपलाई बुधबार (आज) अदालत पेस गरिएको हो ।

 

१७ वर्षकी किशोरीले बलात्कार अभियोग लगाएपछि अनुसन्धानका लागि सन्दीपलाई प्रहरीले असोज २० गते अमेरिकाबाट नेपाल आएलगत्तै त्रिभुवन विमानस्थलबाटै पक्राउ गरेको थियो । सन्दीपलाई अहिले प्रहरी वृत्त गौशालामा राखिएको छ । काठमाडौंको गौशालास्थित एक होटलको कोठामा राखेर सन्दीपले आफूलाई बलात्कार गरेको आरोपमा किशोरीले भदौ २१ गते प्रहरी वृत्त गौशालामा उजुरी गरेकी थिइन् । सन्दीप त्यसबेला क्यारेबियन लिग क्रिकेट खेल्न गएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?