नेपालको हवाई सुरक्षासम्बन्धी अध्ययन गर्दै अमेरिकी टोली


काठमाडौँ,  ३  कात्तिक  (अबप) :  नेपालमा हवाई उडान सुरक्षित र भरपर्दो बनाउन विश्वभरिका उड्डयन प्राधिकरणको छाता सङ्गठन अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को नियमानुसार अमेरिकी नागरिक उड्डयनको नियामक निकाय फेडेरल एभिएसन एडमिनिस्ट्रेसनको टोलीले आज बिहीबारदेखि अध्ययन थाल्दैछ । टोलीले आइकाओले हेर्ने गरेका आठवटा क्षेत्रमा नेपालको वर्तमान अवस्थाबारे अध्ययन गर्ने जानकारी नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले दिए ।

उता युुरोपेली सङ्घ (ईयू)ले नेपालमा हवाई दुर्घटनाको दर कम गर्न पहाडका विमानस्थलमा आवश्यक प्राविधिक उपकरणमा लगानी गर्न आवश्यक रहेको देखाएको छ । ईयूको टोलीले हवाई सुरक्षामा नेपालले थप सुधार गर्न पहाडका विमानस्थललाई प्रविधिमैत्री बनाउँदै हवाई सुरक्षा मापदण्ड कार्यान्वयनका विषयमा जोड दिन आवश्यक रहेको देखाएको प्राधिकरणले जनाएको छ ।

त्यसैगरी विश्व बैङ्कको एक टोलीले प्राधिकरण र हवाई उद्योगसँग सम्बन्धित व्यक्तिसँग मङ्गलबार छलफल गरेको थियो । विभिन्न ४१ मुलुकसँग द्विपक्षीय हवाई सम्झौता गरेको नेपालले हाल २० गन्तव्यमा अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ । सन् २०१० मा एकै वर्ष तीनवटा विमान दुर्घटना र सन् २०११र१२ मा एक–एक विमान दुर्घटना भएपछि नेपाललाई सन् २०१३ डिसेम्बर ५ देखि ईयूले नेपाललाई कालोसूचीमा राख्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?