ऐश्वर्य, धनधान्यकी देवी लक्ष्मीको श्रद्धा एवं भक्तिपूर्वक पूजा गरिँदै


काठमाडौँ,  ७  कात्तिक  (अबप)  : आज ऐश्वर्य, धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदै छ ।  आज बिहानै घर सफा सुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ। विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सँघार, कौसी, अटाली, भर्‍याङलगायत स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ।

रात्रिहरूमा प्रमुख रात्रि मध्य एक हो आजको रात । आजको दिन लक्ष्मी माताको बास होस् भनेर घरको आँगनदेखि मुल ढोका हुँदै लक्ष्मी स्थापना गरेको कोठासम्म लिपपोत गरी चामलको पिठो र अबिरले लक्ष्मी माताको पाइला बनाइन्छ । माता लक्ष्मीको पाइलासँगै केराको सुत्ला अथवा माटाको पाला राखिन्छ ।  सबैको घरमा दियो, मैनबत्ती र झिलिमिली बत्ती बालेर घरलाई उज्यालो अनि विशेषगरी सुन्दर सजाइन्छ ।

लक्ष्मीसँगै भगवान् गणेशको पनि स्थापना गरिन्छ । दियो, कलश, आफूसँग भएका गरगहना र धन राखेर लक्ष्मीपूजा गरिन्छ ।  मान्यता अनुसार सन्ध्याकालदेखि पूजा सुरु गरेर मध्यरातमा घरको नारीले नाङ्लो ठटाएर धनधान्य माता लक्ष्मीको आगमन होस् भनी पूजा गरिन्छ । आजकै दिन कन्यालाई लक्ष्मीको प्रतीक मानेर पूजा गरी दक्षिणा पनि दिइन्छ । लक्ष्मी पूजाको दिनदेखि नै देउसी भैलो खेल्ने गरिन्छ । भैलो खेल्न आउनेलाई धान, चामल, सेल रोटी, पैसा दिने चलन पनि छ । भनिन्छ लक्ष्मी पूजाको दिन बत्ती नबालेको घरमा माता लक्ष्मी जाँदैनन् । यस दिनलाई  सुखरात्री पनि भन्ने गरिन्छ ।

आज कुकुर तिहार

तिहारको दोस्रो दिन सोमबार कुकुर तिहार मनाइँदै छ । कुकुरलाई टीका र माला लगाइदिएपछि मीठा परिकार दिएर पूजा गरिन्छ । कुकुरलाई इमानदार जनावर मानिन्छ । घरपरिवारको सुरक्षा गरेबापत कुकुरको पूजा गरिँदै आएको छ ।

तिहारको पहिलो दिन आइतबार कागलाई विभिन्न परिकार खुवाएर काग तिहार मनाइयो । आफ्नो परिवारमा कसैको मृत्यु भएको छ भने उनीहरूको सम्झनामा कागलाई यस्तो परिकार खुवाउने शास्त्रीय मान्यता छ । तिहारको तेस्रो दिन लक्ष्मीपूजा हो ।

गाईले परापूर्वकालदेखि नै मानिसलाई धेरै गुण लगाएबापत यसलाई पुज्ने गरिन्छ । कृषि व्यवसायमा गोरुले पु-याएको योगदानको कदर गर्दै तिहारको चौथो दिन गोरुको पूजा गरिन्छ । तिहारको अन्तिम दिनलाई भाइटीका भनिन्छ । भाइटीकाको दिन दिदीबहिनीले दाजुभाइलाई सप्तरङ्गी टीका लगाई मखमली र सयपत्रीको माला लगाइदिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?