एमालेको बहुमत नआए देशमा दुर्भाग्य हुने : ओली


काठमाडौं,  १६  कात्तिक (अबप)  :  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावमा आफ्नो पार्टीको एकल बहुमत नआएको खण्डमा देशमा दुर्भाग्य हुने बताउनु भएको छ । उहाँले नेकपा एमाले बाहेक अर्को राष्ट्रिय शक्ति हुनै नसक्ने बताउनु भएको छ ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘अहिले एमालेलाई राष्ट्रिय शक्तिका रूपमा स्थापित गरिएन भने अर्थात एकल बहुमत आएन भने देश दुर्भाग्यमा जान्छ ।’
आज काठमाडौं १ मा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले परमादेशमार्फत एमालेको सरकार ढालेपछि देशको बेहाल भएको टिप्पणी गर्नुभयो । सर्वोच्च अदालतभित्रै अराजकता मौलाएको उहाँको भनाइ थियो ।

अध्यक्ष ओली भन्नुहुन्छ, ‘त्यो यस्तो काम गरेछ अदालतले, त्यस दिनदेखि अदालत बेहाल अवस्थामा छ । कानूनविद्, वरिष्ठ अधिवक्ताको बहस, तमासा, सर्वोच्चको प्राङ्गणमा कम्फु कराँते, हडताल सबै देखियो । वकिलले सर्वोच्च अदालतमा प्रधानन्यायाधीशलाई छिर्न नदिनेसम्मको कस्तो क्रियाकलाप र राष्ट्रले हार्ने कि जित्ने भन्ने महासंग्राम भएको ओलीले बताउनुभयो । प्रतिगामीहरूलाई चुनावबाट पराजित गर्नुपर्ने उहाँको आह्वान छ । ‘प्रतिगामीहरू हामीलाई नै प्रतिगामी भन्दै छन्, उनीहरूलाई लाज छैन,’ ओलीले भन्नुभयो, ‘अहिलेको सरकार प्रतिगमनको फल हो, असंवैधानिक र असंसदीय हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?