वीरेन्द्रनगर, २९ कात्तिक : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन अझै १५ वर्षसम्म कायम रहने बताउनुभएको छ । आज पूर्वी सुर्खेतको मेहलकुनामा आयोजित गठबन्धनको चुनावीसभालाई सम्बोधन गर्दै उहाँले देशको शान्ति र समृद्धिका लागि गरिएको गठबन्धनका उम्मेदवारहरूलाई विजयी गराउन सुर्खेतका मतदातामाझ आग्रह गर्नुभयो । प्रधानमन्त्री देउवाले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको संसद् विघटन र प्रतिगमनकारी कदमविरुद्ध बनेको गठबन्धन भएकाले देश र समृद्धिका लागि गठबन्धन आवश्यक रहेको उल्लेख गर्नुभयो ।
“ओलीजीले दुई पटक संसद् विघटन गर्नुभयो । संविधानको अङ्ग भङ्ग गर्ने काम गर्नुभयो, हामी संसद्को पूर्ण कार्यकाल राख्न चाहन्छौँ” उहाँ भन्नुभयो, “माननीयहरूले आलोचना गर्ने बित्तिकै ओलीको जसरी संसद् विघटन गर्दैनौँ ।” प्रधानमन्त्री देउवाले संविधानको रक्षा र गणतन्त्रको संस्थागत हितका लागि गठबन्धनले निर्वाचन जित्न आवश्यक रहेको औँल्याउनुभयो । सोही कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओलीको अहंकारका कारण वाम गठबन्धन टुटेको बताउनुभयो । “अब धोकेबाजसँग कुनै समीकरण हुँदैन”, उहाँले भन्नुभयो, “गिरिजाप्रसाद कोइरालासँगै मैले १२ बँुदे सम्झौतामा हस्ताक्षर गरेर जोडेको गठबन्धन हो, यो चुनावसम्म मात्र होइन लामो समयसम्म कायम रहन्छ ।”
अध्यक्ष दाहालले गठबन्धन १५ वर्ष जाने र देशमा शान्तिको नयाँयुगको सुरुआत हुने बताउनुभयो । उहाँले भन्नुभयो, “यो गठबन्धन संविधानको रक्षा र शान्ति प्रक्रियाका बाँकी रहेका कामलाई अगाडि बढाउनका लागि गरिएको गठबन्धन हो ।” देशमा राजनीतिक परिवर्तन अनुकूल आर्थिक समृद्धि नभएसम्म गठबन्धन कायम रहने पनि उहाँले बताउनुभयो ।
प्रतिगमनविरुद्ध गठबन्धन आवश्यक : प्रधानमन्त्री देउवा
नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले मङ्सिर ४ गते लोकतान्त्रिक–वाम र राजावादी गठबन्धनबीच चुनावी प्रतिस्पर्धा हुने बताउनुभएको छ । दैलेखको दुल्लुमा गठबन्धन दलद्वारा आज आयोजित विशाल जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले वाम–लोकतान्त्रिक र नेकपा (एमाले) सहितको राजावादी गठबन्धनबीच हुने चुनावी प्रतिस्पर्धामा मुलुकमा लोकतान्त्रिक–वाम गठबन्धनको जित सुनिश्चित भएको दाबी गर्नुभयो । देशैभरिका लोकतान्त्रिक–वाम गठबन्धनका पक्षमा जनमत आउने जिकिर गर्दै उहाँले भन्नुभयो, “सदन भङ्ग गरेर संविधान सिध्याउने विरुद्ध गठबन्धन सदाका लागि हुन्छ ।” संविधान बचाउन र प्रतिगमन रोक्न बनेको गठबन्धनलाई अत्यधिक बहुमतले विजय गराउन प्रधानमन्त्री देउवाले सम्पूर्ण नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो । तत्कालीन कर्णाली राज्यको ग्रीष्मकालीन राजधानी सिञ्जापछिको शीतकालीन राजधानी दुल्लु दैलेखको पुरातात्विक एवं ऐतिहासिक संरक्षणसहित पर्यटकीय विकास गर्ने उल्लेख गर्दै प्रधानमन्त्री देउवाले विकासमा दैलेखलाई उच्च प्राथमिकतामा राखिने बताउनुभयो । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान र लोकतन्त्र रक्षाका लागि निर्माण लोकतान्त्रिक–वाम गठबन्धन संविधानमाथि हमला हुञ्जेलसम्म कायम रहिरहने बताउनुभयो । उहाँले गठबन्धन चुनावका लागि नभई संविधान र जनताको अधिकार रक्षाका लागि भएको जनाउनुभयो । “यो चुनाव विगतको जस्तो सामान्य नभई संविधान रक्षा गर्ने र त्यसलाई खोस्ने बीचको हो”, अध्यक्ष दाहालले भन्नुभयो, “कसलाई भोट हाल्ने र जिताउने भन्ने कुरा जनताको भागमा छ ।” शान्ति र संविधानका पक्षमा उभिएको गठबन्धनको देशभरिको स्थितिलाई हेर्दा जित सुनिश्चित रहेको उहाँले दाबी गर्नुभयो । पुरातात्विक तथा ऐतिहासिक महत्व बोकेको यस क्षेत्रको भौतिक तथा पर्यटकीय विकासलाई गम्भीरताका साथ हेरिने प्रतिबद्धता व्यक्त गर्दै अध्यक्ष दाहालले मुलुकको शान्ति, विकास र समृद्धिका लागि लोकतान्त्रिक–वाम गठबन्धनको विजय आवश्यक रहेको जिकिर गर्नुभयो । –––
(रासस)