निर्वाचनका दिन काठमाडौं उपत्यकामा सवारीसाधन सञ्चालनमा रोक


काठमाडौं,  ३०  कात्तिक  :  काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठक प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका दिन ४ मंसिर बिहान ४ बजेदेखि सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंको कार्यालयमा बुधबार बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले ४ मंसिर आइतबार बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।

यद्यपि, निर्वाचन आयोगबाट सवारीसाधन सञ्चालनसम्बन्धी जारी मापदण्डअनुसारका अनुमति प्राप्त सवारीसाधनलाई भने सञ्चालनमा नरोक्ने बैठकले निर्णय गरेको छ । निर्वाचन लक्षित सुरक्षा व्यवस्थाबारे छलफल गर्न बसेको उक्त बैठकले मदिरा बिक्री वितरणमा पनि रोक लगाउने निर्णय गरेको छ । निर्णयअनुसार १ मंसिर बिहीबारदेखि मतदानको दिन ४ मंसिर मध्यराति १२ बजेसम्म काठमाडौं उपत्यकामा मदिरा बिक्री वितरण, ओसारपसारमा रोक लगाइएको छ । साथै मतगणना आसपास मतगणना नसकिँदासम्म मदिरा बिक्री वितरण तथा ओसारपसार गर्न पाइने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?