झिनो मतान्तरले गगन थापा अगाडि, कास्कीमा घण्टी अग्र


काठमाडौँ, ५ मङ्सिर : काठमाडौँ जिल्लाको निर्वाचन क्षेत्र नं ४ को बूढानीलकण्ठ–१ जय भद्रकाली मतदान केन्द्रबाट मतगणना भइरहेको छ । आज बिहान ११ बजेदेखि क्षेत्र नं ४ मा सुरु भएको मतगणनामा एक हजार पाँच सय ११ मतमा नेपाली कांग्रेसका गगन थापाले छ सय ६८ मतसहित अग्रता लिनुभएको छ । यस्तै नेकपा (एमाले)का राजन भट्टराईले छ सय ३३ मत ल्याएको निर्वाचन अधिकृत शारदा पौडेलले जानकारी दिनुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का डा ठाकुर मोहन श्रेष्ठले ६५ मत प्राप्त गर्नुभएको छ । स्वतन्त्रतर्फका उम्मेदवार अर्जुनकुमारले २८ र अर्चनशम्शेर राणाले १९ मत प्राप्त गर्नुभएको छ भने ३८ मत बदर भएको छ ।
लेखनाथ :  कास्की निर्वाचन क्षेत्र नं २ को प्रतिनिधि तथा प्रदेशसभा सदस्यको मतगणना सुरु गरिएको छ । प्रतिनिधिसभा सदस्यको पाँच सय मतगणना गर्दा स्वतन्त्र पार्टी (घण्टी) चिन्नका उम्मेदवार माधवराज कँडेलले सबैभन्दा धेरै एक सय ६२ मत प्राप्त गर्नुभएको छ भने नेकपा (एमाले) की विद्या भट्टराईले एक सय २२ मत प्राप्त गर्नुभएको छ भने गठबन्धनको तर्फबाट समाजवादीका उम्मेदवार श्रीनाथ बरालले एक सय १० मत प्राप्त गर्नुभएको छ भने राप्रपाका सुवर्णराज पन्तले ७५ मत प्राप्त गर्नुभएको छ । निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा सदस्यको मतगणना पनि सुरु भइरहेको र केही समयमा प्रारम्भिक नतिजा सार्वजनिक गरिने बताइएको छ । त्यस्तै कास्की निर्वाचन क्षेत्र नं १ र ३ को मतगणना बिहान ११ बजेदेखि सुरु गरिने निर्वाचन कार्यालय पोखराका प्रदेश निर्वाचन अधिकृत हुमप्रसाद पराजुलीले बताउनुभयो ।

कास्की निर्वाचन क्षेत्र नं २ (१) मा राप्रपाले अग्रता बनाएको छ । राप्रपाका उम्मेदवार विजयबहादुर भण्डारीले छ सय ९२ मतका साथ अग्रता लिनुभएको हो । यस्तै एमालेका भीमबहादुर कार्कीले चार सय २९ मत पाउनुभएको छ भने गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका विश्वप्रकाश लामिछानेले दुई सय ७६ मत र हाम्रो नेपाली पार्टीका चेतबहादुर भण्डारीले एक सय ७० मत प्राप्त गर्नुभएको छ । (रासस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?