देशभर मतगणना जारी, कतै एमाले अगाडि, कतै कांग्रेस


ललितपुर निर्वाचन क्षेत्र नं १ को मतगणना जारी रहेको छ । बज्रबाराहीस्थित गोदावरी नगरपालिकाको कार्यालय भवनमा दुई स्थानमा मतगणना भइरहेको निर्वाचन अधिकृत बालकृष्ण निरौलाले जानकारी दिनुभयो । गोदावरी नगरपालिका–२ अन्तर्गत विशङ्खुनारायण क्षेत्रको एक हजार दुई सय ८३ मत गणना हुँदा नेकपा (एमाले) को छ सय ६२, नेपाली कांग्रेसको चार सय दुई, राष्ट्रिय स्वतन्त्र पार्टीको ९३, राष्ट्रिय प्रजातन्त्र पार्टीको ५१ तथा अन्यमा १० र बदर मत ६५ रहेको निर्वाचन कार्यालयले जनाएको छ । मतगणनाको अन्तिम परिणाम भोलि रातिसम्म सार्वजनिक हुने बताइएको छ । ललितपुर १ मा जम्मा ७४ हजार तीन सय ३९७ मतदाता रहेकोमा ५० हजार सात सय ४५ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । सो क्षेत्रमा कांग्रेसका उदयशम्शेर राणा, एमालेका नवराज सिलवाल, राष्ट्रिय स्वतन्त्र पार्टीका डा सचिन घिमिरे, राष्ट्रिय प्रजातन्त्र पार्टीका सञ्जिव आचार्यसहित २१ प्रतिस्पर्धीमा हुनुहुन्छ ।
कास्की निर्वाचन क्षेत्र नं २ को प्रतिनिधि तथा प्रदेशसभा सदस्यको मतगणना सुरु गरिएको छ । प्रतिनिधिसभा सदस्यको पाँच सय मतगणना गर्दा स्वतन्त्र पार्टी (घण्टी) चिन्नका उम्मेदवार माधवराज कँडेलले सबैभन्दा धेरै एक सय ६२ मत प्राप्त गर्नुभएको छ भने नेकपा (एमाले)की विद्या भट्टराईले एक सय २२ मत प्राप्त गर्नुभएको छ भने गठबन्धनको तर्फबाट समाजवादीका उम्मेदवार श्रीनाथ बरालले एक सय १० मत प्राप्त गर्नुभएको छ भने राप्रपाका सुवर्णराज पन्तले ७५ मत प्राप्त गर्नुभएको छ । निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा सदस्यको मतगणना पनि सुरु भइरहेको र केही समयमा प्रारम्भिक नतिजा सार्वजनिक गरिने बताइएको छ । त्यस्तै कास्की निर्वाचन क्षेत्र नं १ र ३ को मतगणना बिहान ११ बजेदेखि सुरु गरिने निर्वाचन कार्यालय पोखराका प्रदेश निर्वाचन अधिकृत हुमप्रसाद पराजुलीले बताउनुभयो ।
मधेस प्रदेशका जिल्लामा आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणना प्रक्रिया सुरु भएको छ । अहिलेसम्म प्रदेशका आठ जिल्लामध्ये धनुषाको प्रतिनिधिसभा क्षेत्र नम्बर ३ मा मात्रै मतगणना सुरु भएको छ । धनुषाका मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले सो क्षेत्रमा बिहानैदेखि मतगणना जारी रहेको र हालसम्म जनकपुरधाम उपमहानगरपालिका–१५ मा मतगणना सम्पन्न भएको छ । उहाँका अनुसार यहाँ नेकपा (एमाले)का उम्मेदवार जुली महतो छ सय आठ मतसहित अग्रस्थानमा हुनुहुन्छ भने गठबन्धनका उम्मेदवार अनिल झा तीन सय १० मतसहित तेस्रो र जनमत पार्टीका उम्मेदवार शम्भुनाथ साह तीन सय २० मतसहित तेस्रो स्थानमा हुनुहुन्छ । धनुषाका निर्वाचन क्षेत्र १, २ र ४ मा मतगणनाका लागि सर्वदलीय बैठक बस्ने तयारी भइरहेको धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभयो । उहाँले सर्वदलीय बैठकको निर्णयअनुसार अहिले १० बजेपछि मतगणनाको तयारी भइरहेको पनि बताउनुभयो । त्यसैगरी सर्लाही, सप्तरी, बारा, पर्सा, रौतहट र महोत्तरीमा पनि सर्वदलीय बैठक बसेर मतगणनाको तयारी भइरहेको जनाइएको छ ।
बाँके जिल्ला निर्वाचन क्षेत्र नं ३ को मतगणना सुरु भएको छ । सर्वदलीय सहमतिका आधारमा मतगणना सुरु थालिएको हो । बाँके क्षेत्र नंं १ र २ को मतगणना बिहान १० बजेदेखि सुरु गर्ने सर्वदलीय सहमति भएको बाँकेका मुख्य निर्वाचन अधिकृत धनसिंह महराले बताउनुभयो । प्रतिनिधिसभातर्फ क्षेत्र नं १ मा गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) बाट महेश्वरजङ्ग गहतराज, नेकपा (एमाले) र राप्रपा गठबन्धनबाट एमालेबाट सूर्य ढकालबीच दुईपक्षीय प्रतिस्पर्धा हुनेछ । प्रतिनिधिसभातर्फ क्षेत्र नं २ मा जसपाबाट मोहम्मद इश्तियाक राई, एमाले राप्रपा गठबन्धनबाट डा धवलशमशेर राणा नेपाली कांग्रेसबाट सुदीपनरसिंह राणाबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ । प्रतिनिधिसभातर्फ क्षेत्र नं ३ मा गठबन्धनकातर्फबाट नेपाली कांग्रेसबाट किशोरसिंह राठोर, नेकपा एमालेबाट किस्मतकुमार कक्षपतिबीच प्रतिस्पर्धा हुने देखिएको छ ।
नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को निर्वाचन क्षेत्र नम्बर १ मा पर्ने देवचुली नगरपालिकाका–४ मा मतदान जारी रहेको छ । आइतबार सो वडाको शान्ति सृजना आधारभूत विद्यालयको मतदान केन्द्रको मतदान स्थगित गरिएको थियो । नवलपुरका मुख्य निर्वाचन अधिकृत उमेशप्रसाद लुइँटेलले आज साँझ ५ बजेसम्म मतदान जारी हुने बताउनुभयो । स्थगित मतदानस्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ । मतदान सम्पन्न भएपछि आज साँझबाटै क्षेत्र नं १ को मतगणना गरिने उहाँले बताउनुभयो । सो मतदान केन्द्रमा नौ सय ८० मतदाता रहेका थिए । नवलपुरमा ६६ प्रतिशत मतदान दुईवटा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेको नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा करिब ६६ प्रतिशत मतदान भएको छ ।
जिल्ला निर्वाचन अधिकारी लालप्रसाद शर्मा भुसालकाअनुसार जिल्लाका दुवै क्षेत्रमा गरी ६६ दशमलब ४९ प्रतिशत मतदान भएको हो । जिल्लामा ९६ हजार छ सय ८० महिला तथा ७६ हजार पाँच सय पुरुष र एकजना तेस्रोलिङ्गी मतदातासहित एक लाख ७३ हजार एक सय ८१ मतदाताले मतदान गरेका उहाँले बताउनुभयो । जिल्लाका एक सय १३ मतदानस्थलका तीन सय दुई मतदान केन्द्रमध्ये तीन सय एक मतदान केन्द्रमा आइतबार शान्तिपूर्णरुपमा मतदान सम्पन्न भएको छ । दुईवटा प्रतिनिधिसभा तथा चारवटा प्रदेशसभा निर्वाचन रहेको जिल्लामा कूल दुई लाख ६० हजार चार सय ६१ मतदाता रहेका छन् । क्षेत्र नं २ मा मतगणनाको तयारी नवलपुरको क्षेत्र नम्बर २ को मतगणना गर्ने तयारी गरिएको छ । मतगणना गर्ने तयारीस्वरुप अहिले सर्वदलीय बैठक जारी रहेको क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत कमलराज पन्थीले जानकारी दिनुभयो । राति अबेरसम्म सबै मतदान केन्द्रका मतपेटिका मतगणनास्थल कावासोतीको कुमारवर्ती बहुमुखी क्याम्पसमा आइपुगेपछि अहिले बिहानबाट सर्वदलीय बैठक बसिरहेको छ । “सदर र बदर मत, मतगणना प्रक्रियालगायत विभिन्न विषयमा छलफल भइरहेको छ”, उहाँले भन्नुभयो, “अबको केहीबेरमा हामीले मतगणना गर्नेर्छौं ।”
मुस्ताङको प्रतिनिधिसभा सदस्यतर्फको मतगणना सुरु भएको छ । एक अस्थायीसहित ४० वटै मतदान केन्द्रका मतपेटिका आज बिहान जिल्ला सदरमुकाम जोमसोमस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याइएको थियो । त्यसलगत्तै सर्वदलीय बैठक बसेर मतगणना सुरु गरिएको हो । आइतबार भएको चुनावमा मुस्ताङमा दश हजार नौ सय ५७ मतदातामध्ये सात हजार दुई सय ३० अर्थात् ६५ दशमलव ९८ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत ईश्वर पराजुलीले बताउनुभयो । पछिल्लो मतपरिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकालीले दुई सय ६१ मतले अग्रता लिनुभएको छ । उहाँले एक हजार ६८ र नेकपा (एमाले) का प्रेमप्रसाद तुलाचनले आठ सय सात मत पाउनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रतिनिधिसभातर्फ लोमान्थाङ, मराङ, चिमाङ, लेते, छोसेर, सौरु, मार्फा, चराङ र फल्याकका नौवटा मतदान केन्द्रको गणना सकिएको छ । दुई स्थानमा मतगणना भइरहेको छ ।  (रासस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?