नेपाल हाक्ने नयाँ चालक नेपाली कांग्रेसले दिनसक्छ : महामन्त्री थापा


काठमाडौँ,  ६  मङ्सिर : काठमाडौँ क्षेत्र नं ४ प्रतिनिधिसभा सदस्यतर्फ निर्वाचित हुनुभएका नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफू संसदीय दलको निर्वाचनमा जुट्ने बताउनुभएको छ । निर्वाचनमा मतगणनाको अन्तिम परिणामपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले यो निर्वाचनबाट मतदाताले तेतृत्वप्रति आक्रोश देखाएको मात्र नभइ नयाँ नेतृत्वको अपेक्षासमेत गरेको बताउनुभयो ।

 

“मतदाताले स्थिर सरकार मात्र खोजेको होइन, नेपाल हाक्ने नयाँ चालक पनि चाहेको छ । त्यो चालक नेपाली कांग्रेसले दिनसक्छ । कांग्रेसले नै अन्य पार्टीलाई एकताबद्ध बनाएर नयाँ नेतृत्व लिन तयार छ” महामन्त्री थापाले भन्नुभयो, “आम जनतालाई पनि विस्वस्त तुल्याउन चाहन्छु, निर्वाचन अभियान सकिएपछि अब म आजैदेखि कांग्रेस संसदीय दलको चुनावका लागि तयारीमा जुट्छु ।”अहिले गठबन्धन गरिरहेको नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले चुनावपछि पनि सहकार्य जारी राख्नेमा आफू आशावादी रहेपनि चुनावी अन्तिम नतिजाले त्यसको निक्र्योल गर्ने थापाको प्रतिक्रिया थियो । त्यसैगरी नागरिकका अपेक्षा पूरा गर्न नसक्दा अहिले मतदाताले आक्रोश पोखिरहेको पनि उहाँको भनाइ थियो ।

 

“हामीले गरेको वाचा पूरा हुन सकेका छैनन् । हामी पाँच वर्षका लागि निर्वाचित भए पनि व्यवहारिक हिसाबले पाउने समय भनेको पाँच महिना मात्रै हो,” थापाले भन्नुभयो, “म मतदाताको ऋणी छु । जुन विश्वासका साथ मलाई मतदान गराउनुभएको छ, त्यसमा ठेस लाग्ने र आघात पुग्ने काम गर्नेछैन । दिनरातको मेहनतबाट आजभन्दा भोलि राम्रो हुने अवस्था बनाउनुपर्ने छ ।” (रासस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?