काठमाडौँ, ७ मङ्सिर : डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यका लागि प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जित हासिल गर्नुभएको छ । योसँगै उहाँले सातौँपटक जित हासिल गर्नुभएको हो । कुल ५१ हजार दुई सय तीन मतगणना हुँदा देउवा २५ हजार पाँच सय ३४ मतका साथ विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिनुभयो ।
उहाँका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकालले १३ हजार ४२ मत प्राप्त गर्नुभएको छ । अर्का उम्मेदवार नेपाली कांग्रेस (विपी)का कर्णबहादुर मल्लले सात हजार पाँच सय ३५ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचनको कार्यालयले जनाएको छ । देउवा विसं २००३ जेठ ३१ गते डडेल्धुराको असिग्राम गाविस–५ मटेला, रुवाखोलामा जन्मिनुभएको हो । विसं २०१७ देखि राजनीतिमा लाग्नुभएका देउवा कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको पहिलो निर्वाचित अध्यक्षसमेत हुनुहुन्छ । विसं २०४८ को आमचुनावमा देउवा डडेल्धुराबाट विजयी हुनुभयो ।
देउवाले २०५१ र २०५६ को संसदीय चुनाव, विसं २०६४ र २०७० को संविधानसभा चुनाव तथा २०७४ को संसदीय चुनावमा डडेल्धुराबाट जित्नुभएको थियो । यसपटक सातौँपटक पनि डडेल्धुराका मतदाता तथा अन्य साथीहरूको सहयोगमा जित हासिल भएको कांंग्रेसका जिल्ला सचिव शेरबहादुर भण्डारीले जानकारी दिनुभयो ।
अछाम–१ बाट एकीकृत समाजवादीका नेता कुँवर विजयी
अछाम क्षेत्र नं १ मा लोकतान्त्रिक–वाम गठबन्धनअन्तर्गत नेकपा (एकीकृत समाजवादी)का नेता शेरबहादुर कुँवर विजयी हुनुभएको छ । नेपाल सरकारका श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सुदूरपश्चिम प्रदेश उपाध्यक्ष शेरबहादुर कुँवर प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो । अछाम क्षेत्र नं १ बाट १९ हजार पाँच सय ३४ मत ल्याउँदै कुँवर विजयी हुनुभएको हो । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार झपट बोहोराले १५ हजार ४५ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी नेपाली कांग्रेसका बागी उम्मेदवार राजन कुँवरले चार हजार तीन सय ९२ मत प्राप्त गर्नुभएको छ । प्रतिनिधिसभा सदस्यको मतगणना सकिएलगत्तै प्रदेशसभा सदस्यको मतगणना सुरु गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ४१ हजार तीन सय ९२ मतगणना हुँदा एक हजार नौ सय ७७ मत बदर भएका थिए ।
सुर्खेत–२ : मा कांग्रेसका थानी विजयी
सुर्खेत निर्वाचन क्षेत्र नं २ प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका हृदयराम थानी विजयी हुनुभएको छ । उहाँ ३४ हजार छ सय २५ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का अमृतबहादुर बुढा क्षेत्रीले २९ हजार पाँच सय ५८ मत प्राप्त गर्नुभएको छ । थानीले एमालेका जिल्ला अध्यक्षसमेत रहनुभएका अमृतबहादुर बुढाक्षेत्रीलाई पाँच हजार ६७ मतान्तरले पराजित गर्नुभएको छ । थानीले योसँगै तीनपटक प्रतिनिधिसभा सदस्यमा जित हासिल गर्नुभएको छ । विसं २०७४ मा एमालेका नवराज रावतसँग उहाँ पराजित हुनुभएको थियो ।
रावतले ३७ हजार चार सय ४७ मत ल्याएर निर्वाचित हुँदा थानीले २८ हजार छ सय ४६ मत प्राप्त गर्नुभएको थियो । थानी यसअघि विसं २०५६ र २०७० मा यही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो भने सहकारी तथा गरिबी निवारणमन्त्री भइसक्नुभएको छ । सुर्खेत १ मा कांग्रेस उपसभापति खड्काको सुरुआती अग्रता नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सुर्खेत–१ बाट प्रतिनिधिसभा सदस्यमा सुरुआती अग्रता लिनुभएको छ । सुर्खेत–१ मा मङ्गलबार राति १२ बजेबाट मतगणना सुरु भएको थियो ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार तीन हजार दुई सय ३८ मतगणना हुँदा खड्काले एक हजार सात सय ७२ मत प्राप्त गर्नुभएको छ । यस्तै नेकपा (एमाले)का ध्रुवकुमार शाहीले एक हजार तीन सय ५५ मत प्राप्त गर्नुभएको छ ।
यस्तै राप्रपाका छत्रपति थापाले ६६ मत प्राप्त गर्नुभएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीका मोहम्मद हसरत अलीले १७ मत प्राप्त गर्नुभएको छ । प्रदेशसभातर्फ पनि लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवारले सुरुआती अग्रता लिनुभएको छ । प्रदेशसभा (१) तर्फ नेपाली कांग्रेसका उम्मेदवार खड्क पोखरेलले दुई हजार दुई मत प्राप्त गर्नुभएको छ भने एमालेका ठम्मर विष्टले एक हजार तीन सय २६ मत प्राप्त गर्नुभएको छ । प्रदेशसभा (२)बाट लोकतान्त्रिक–वाम गठबन्धनका कृष्ण जिसी ‘जितेन्द्र’ अगाडि हुनुहुन्छ । नेकपा (माओवादी केन्द्र)का उम्मेदवार जिसीले एक हजार एक सय ७८ मत प्राप्त गर्नुभएको छ भने एमालेका डण्डीप्रसाद शर्माले नौ सय २९ मत प्राप्त गर्नुभएको छ ।
तनहुँ–२ मा भण्डारीलाई सफलता
नेपाली कांग्रेसका नेता शङ्कर भण्डारी तनहुँ क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको छ । लोकतान्त्रिक बाम गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार भण्डारीले ३० हजार छ सय चार मत प्राप्त गरी विजयी हुनुभएको हो । आज बिहान सम्पन्न मतगणनाअनुसार भण्डारी प्रतिस्पर्धी नेकपा (एमाले)का किरण गुरुङसँग पाँच हजार चार सय ७४ को मतान्तरले विजयी हुनुभयो । गुरुङले २५ हजार एक सय ३० मत प्राप्त गर्नुभएको क्षेत्र नं २ निर्वाचन कार्यालयका निर्वाचन अधिकृत गोविन्द उपाध्यायले बताउनुभयो ।
निर्वाचनमा ६८ हजार एक सय ७३ मत खसेको थियो । विसं २०२५ जेठ १० गते साविक पुर्कोट गाविस हाल भानु नगरपालिका–८ मा जन्मिनुभएका भण्डारी ठूलो दाई छत्रराज भण्डारीको प्रेरणाबाट विद्यार्थीकालदेखि नै नेपाल विद्यार्थी सङ्घमा आबद्ध हुनुभएको थियो । विसं २०३६ को विद्यार्थी आन्दोलनमा सक्रियरूपमा सहभागी हुनुभएका भण्डारीले विसं २०४० मा एसएलसी उत्तीर्ण गरेपछि उच्च शिक्षाका लागि राजधानी जानुभएको थियो । विद्यार्थी राजनीतिमा सक्रियरूपमा सहभागी हुने क्रममा भण्डारी लौहपुरुष गणेशमान सिंहको नेतृत्वमा भएको जनआन्दोलनमा सहभागी हुनुभएको थियो । पार्टीको काममा सक्रिय रहेको अवस्थामा नै विसं २०४६ मा भण्डारी २९ दिन प्रहरी नियन्त्रणमा रहनुभएको थियो । नेविसङ्घको राजनीतिमा सक्रिय हुने क्रममा विसं २०४८ मा त्रिचन्द्र क्याम्पसमा नेविसङ्घको क्याम्पस एकाइ सभापति र २०४९ मा स्ववियु सभापति बन्न सफल भण्डारी विसं २०५३ देखि भने पार्टी राजनीतिमा सक्रिय हुनुभएको थियो । भण्डारी विसं २०५३ मा महाधिवेशन प्रतिनिधि बन्न सफल हुनुभयो ।
साथै भण्डारीले बालकृष्ण खाणको नेतृत्वमा गठन भएको तरुण दलको केन्द्रीय सदस्यको जिम्मेवारी सम्हाल्नुभयो । युवाहरूमाझ लोकप्रिय भण्डारी चितवनमा भएको तरुण दलको महाधिवशेनमा अध्यक्षका लागि चुनावी प्रतिस्पर्धामा उत्रनु भए पनि झिनो मतले पराजित हुनुभयो । पार्टीको १२औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित भण्डारीले दुईपटक तरुण विभागको जिम्मेवारी सम्हाल्नुभयो । विसं २०७० को संविधानसभा निर्वाचनमा तनहुँ क्षेत्र नं १ बाट निर्वाचित भण्डारीले वन तथा भू–संरक्षणमन्त्रीको जिम्मेवारी सम्हालिसक्नुभएको छ । पार्टीको १३औँ र १४औँ महाधिवेशनबाट पनि भण्डारी केन्द्रीय सदस्यमा निर्वाचित हुनुभयो । भण्डारीले आगामी पाँच वर्षमा यस क्षेत्रको विकासका लागि सबै प्रकारका पूर्वाधार तयार पार्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । “हामीसँग विशाल फाँटहरू छन्, त्यहाँ बाह्रैमास सिँचाइ सुविधा पु¥याएर कृषिमा कम्तीमा आत्मनिर्भर बन्ने, उपयोगमा नआई खाली रहेका जमिनमा फलफूल, तरकारी, जडीबुटीलगायत कृषि उत्पादन वृद्धि गरी निर्यातसमेत गर्न पहल गरिनेछ”, भण्डारीले भन्नुभयो । आवश्यक विकासका पूर्वाधारहरू पहिचान गर्दै समन्वय र सहकार्यबाट विकास गरी यस क्षेत्रलाई नमूना बनाउन पहल गरिने भण्डारीले बताउनुभयो । “यस क्षेत्रमा सुविधासम्पन्न अस्पताल स्थापना गर्ने, यस क्षेत्रलाई तराईसँग जोड्ने दु्रतमार्ग निर्माण गर्ने, भिमादबाट पूर्व पश्चिम राजमार्ग जोड्ने सुरुङमार्गको सम्भाव्यता अध्ययन, औद्योगिक क्षेत्र स्थापना गर्न मेरो पहल रहनेछ”, उहाँले भन्नुभयो । वर्षौँदेखि ओझेलमा परेका यहाँका विकासका मुद्दालाई स्थापित गराउने बताउँदै भण्डारीले आउने नेतृत्वलाई सहज हुने गरी आवश्यक सबै पूर्वाधार यही कार्यकालमा पूरा गर्ने बताउनुभयो ।
तनहुँ २ प्रदेश (२) मा काङ्ग्रेसका जिल्ला सभापति आले विजयी
तनहुँ क्षेत्र नम्बर २ प्रदेशसभा (२) मा नेपाली कांग्रेसका जीतप्रकाश आले विजयी हुनुभएको छ । आज बिहान सम्पन्न मतपरिणाम अनुसार वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार आले छ सय ४० मतान्तरले विजयी हुनुभएको छ । आलेले १३ हजार आठ सय ६० मत प्राप्त गर्नुभएको तनहुँ क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत गोविन्द उपाध्यायले जानकारी दिनुभयो । प्रतिस्पर्धी नेकपा ९एमाले० का केदार सिग्देलले १३ हजार दुई सय २० मत प्राप्त गर्नुभएको छ । प्रदेशसभामा निर्वाचित आले नेपाली काङ्ग्रेसका जिल्ला सभापति हुनुहुन्छ । सिग्देल क्षेत्र नम्बर २ का निवर्तमान प्रतिनिधिसभा सदस्य हुनुहुन्छ । विसं २०७४ सालको निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित सिग्देलले यसपटक प्रदेशसभामा प्र्रतिस्पर्धा गर्नुभएको थियो । उक्त प्रदेशमा २९ हजार आठ सय ९८ मत खसेको थियो । यो प्रदेशमा ऋषिङ, घिरिङ गाउँपालिका तथा भिमाद नगरपालिका पर्दछ । (रासस)