खोटाङ, ४ असार (रासस) : केपिलासगढी गाउँपालिका–१ फेदीस्थित सुम्देका ११ वर्षीय आशिष विश्वकर्मा दैनिकजसो फेदीकै विभिन्न ठाउँमा पुग्ने ट्र्याक्टरमा झुन्डिएर यात्रा गरिरहेका भेटिन्छन् । गाउँमा हुने विकासे कामका लागि ढुङ्गा तथा बालुवा/गिट्टी बोक्न प्रयोगमा ल्याइएको ट्र्याक्टरमा ओहोरदोहोर गरेर दिन बिताउँदै आएका आशिषको घरमा आठ वर्षीया बहिनी अङ्कुमात्र छिन् । आमाले दोस्रो विवाह गरेर गएपछि लालनपालन गर्दै आएका बुबाले समेत आत्महत्या गरेपछि विश्वकर्मा दाजु/बहिनी आशिष र अङ्कु बिचल्लीमा परेका छन् । बुबा र आमा दुवै नभएपछि अभिभावकविहीन बनेका आशिष र अङ्कुको लालनपालन तथा शिक्षादीक्षाको व्यवस्थापनमा गम्भीर समस्या सिर्जना भएको छ । आमाले छाडेर अर्कैसँगै पोइल गएको केही समयपछि बुबा दीपेश विश्वकर्माले पनि २०७९ साल चैतमा आत्महत्या गरेको स्थानीयवासीले बताएका छन् । अङ्कु चन्द्रोदय आधारभूत विद्यालयको कक्षा ४ मा अध्ययनरत रहेकी छन् भने आशिष सोही विद्यालयको कक्षा ३ मा अध्ययन गर्दागर्दै ट्र्याक्टर पछ्याउन थालेका हुन् । बाबुआमा दुवै नभएपछि अभिभावकत्वको अभावमा अनाथ बनेका ती बालबालिका नियमित विद्यालय आउन छाडेको विद्यालय प्रशासनले जनाएको छ । बुबा बितेपछि केही समय बालाबेँसीमा रहेका काका लेखनाथ विश्वकर्माको घरमा आश्रय लिन पुगेका उनीहरू पुनः आफ्नै घरमा फर्किएको स्थानीय बासिन्दाले बताएका छन् । दीपेश वैदेशिक रोजगारीको सिलसिलामा विदेश रहेका समयमा श्रीमतीले दोस्रो विवाह गरेर हिँडेको जनाइएको छ । श्रीमतीले अर्कैसँग विवाह गरेर पोइल हिँडेपछि घर आएर कान्छी श्रीमती ल्याएका दीपेशले पुनः विदेश गएर घर फर्किएको वर्ष दिन नबित्दै आत्महत्या गरेको स्थानीय बासिन्दाले बताएका छन् । दुवैजना बुबाआमाविहीन बनेका विश्वकर्मा दाजु/बहिनीलाई व्यवस्थापन गर्न चुनौती रहेको फेदीका वडाध्यक्ष नीरकुमार राईले बताउनुभयो । “वडामा सीमित बजेट हुन्छ । वडा कार्यालयका तर्फबाट केही सम्बोधन गर्न सकिने अवस्था छैन । फेदीमा उनीहरूजस्तै धेरै बालबालिका समस्यामा छन्”, उहाँले भन्नुभयो, “बुबाआमा दुवै भएका बालबालिकाका लागिसमेत उपयुक्त ठाउँमा विद्यालय नहुँदा पठनपाठनमा समस्या छ । उनीहरू (आशिष र अङ्कु)को हकमा सम्बन्धित निकायले ध्यान दिन जरुरी छ ।” ज्यालादारीको कामसमेत गर्न नसक्ने आशिष र अङ्कु अहिले अरूले दिएको खाना तथा खाजाको भरमा दिन कटाउन बाध्य छन् । अरूको भरमा जीवन धान्दै आएका उनीहरू कतिपय समयमा भोकै रहनेको गरेको पाइएको छ ।
२४ वर्षपछि छोरो घर फर्किंदाको खुसी
बागलुङको बलेवाका ८७ वर्षीया आमा चिरिञ्जीवी रेग्मीले २४ वर्षपछि कान्छो छोरा आउँछ भन्ने आश मारिसक्नु भएको थियो । तर छोरा घर फर्केपछि उहाँले हर्षका आँसु झार्नुभयो । “मैले त कान्छो छोराको आश मारिसकेको थिए, विदेश गएको केही वर्ष त सम्पर्कमा थियो, त्यसपछि अत्तोपत्तो भएन”, आमा रेग्मीले भावविह्वल हुँदै भन्नुभयो, “छोरा २४ वर्षपछि घर फर्कँदा बुढेसकालको सहारा हुने भएको छ ।”विसं २०५६ माघमा घर छोडेर जानुभएका चन्द्रदत्त रेग्मी घर फर्किनुभएको छ । रोजगारीका लागि बेलायत जानुभएका रेग्मीलाई अलपत्र अवस्थामा काठमाडौँबाट उद्धार गरी ल्याइएको हो । बेलायत गएको तीन वर्षपछि परिवारको सम्पर्कमा आउन नसक्नुभएका चन्द्रदत्त २४ वर्षपछि घरमा आउँदा परिवारमा खुसियाली छाएको छ ।बागलुङ नगरपालिका–१३ पैयुँपाटा जलजलाका ४९ वर्षीय चन्द्रदत्त बेलायतमा धनसम्पत्ति जोडेर नेपाल आउन चाहे पनि बेलायतमा स्थायी बसोबासका लागि अनुमति (पिआर) नपाएपछि उहाँ परिवारको सम्पर्कमा नआएका हुन् । चन्द्रदत्त घर फर्किएसँगै ८७ वर्षीया आमा चिरिञ्जीवी रेग्मीको खुसीको सीमा रहेन । घरको कान्छो छोरा बुढेसकालको सहारा सम्पर्कमा आउँदा चिरिञ्जीवीको आँखामा हर्षका आँसु बर्सिएका छन् ।बेलायमा पिआर नबनेपछि २०६८ सालमा नेपाल फर्किएका चन्द्रदत्त घर नफर्केर पुनः कामका लागि विभिन्न जिल्लामा भौँतारिनुभएको थियो । बेलायतमा पिआर नबनेपछि २०६८ सालमा नै रेग्मी नेपाल आएको भए पनि धन कमाउन नसकेको भन्दै विभिन्न जिल्लामा काम गरेर बसेको पाइएको र २४ वर्षपछि मात्रै सम्पर्कमा आउनुभएको बागलुङ नगरपालिका–१३ का वडाअध्यक्ष नारायण शर्मा पौडेलले जानकारी दिनुभयो ।
“विदेशमा हुँदा सानो दुर्घटनामा पर्नुभएछ, त्यहाँ कार्ड बनेन कमाई पनि हुन नसकेपछि नेपालमै भए पनि थोरै धेरै कमाएर घर लैजान्छु भन्ने सोचपछि काठमाडौँसँगै हेटौँडा, सल्यान, प्यूठान लगायतका विभिन्न ठाउँमा काम गर्दै आउनुभएको रैछ”, वडाअध्यक्ष पौडेलले भन्नुभयो, “काठमाडौँ अलपत्र अवस्थामा घुमिरहेको बेला हेटौँडाडाको थाहा नगरपालिका–१ का जनप्रतिनिधि सरोज प्रधानले भेटेर उनलाई परिवारको सम्पर्कमा ल्याइएको हो ।”चन्द्रदत्तका दाजु लेखनाथ शर्माले सरोजलाई चन्द्रदत्तले आफ्नो जन्मघरको ठेगाना बताएपछि उनले बागलुङ नगरपालिका–१३ का वडाअध्यक्ष नारायण शर्मा पौडेललाई फोन सम्पर्क गरेका थिए । वडाअध्यक्ष पौडेलले गाउँमा सोधखोज गर्दा चन्द्रदत्तले भने अनुसारको सबै कुरा मिलेपछि उनलाई थप उद्धार गरी परिवारले काठमाडाँैबाट घरमा ल्याएका हुन् ।“हाम्रो परिवारलाई भाइ जिउँदो छ भन्ने झिनो आशा मात्रै थियो तर अहिले घर फर्कंदा खुसी लागेको छ”, दाजु लेखनाथ शर्माले भन्नुभयो, “धेरै ठाउँमा भाइको विषयमा सोधखोज गरेका थियौँ, तर कुनै अत्तोपत्तो भएन, आशा नै मारेर बसेका थियौँ, आफूले बिदाइ गरेर विदेश पठाएको भाइ नफर्किंदा यही कुराले पिरोलेको थिया, भाइ फर्किएर आयो हाम्रो परिवारमा ठूलो खुसी छाएको छ ।”कानुन विषयमा स्नातक तह पढेका चन्द्रदत्त बेलायत जानुअगाडि लामो समय काठमाडौँमै कानुन व्यसायीको फर्ममा काम गर्नुभएको थियो । परिवारमा चार भाइका कान्छा छोरा चन्द्रदत्त गाउँ फर्किएपछि गाउँलेहरुले नै खुसी साटेका छन् ।