रामपुर (पाल्पा), १५ असार (रासस) : गए रातिदेखि परिरहेको अविरल वर्षाले कालीगण्डकी करिडोर सडक अवरुद्ध बनेको छ । करिडोरअन्तर्गत पाल्पाको रम्भा गाउँपालिका–२ र ३ को सिमानामा रहेको सहर्दीखोला पुल नजिकै पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध हँुदा करिडोर भएर आवतजावत गर्ने यात्रु तथा सवारीसाधन बीचबाटोमै अलपत्र परेका छन् । आज बिहान ५ः०० बजेदेखि सडक अवरुद्ध बनेको छ । छोटो र आरामदायी यात्राका लागि कालीगण्डकी करिडोर सडकखण्ड भएर धेरैले यात्रा गर्ने सडक बन्द हँुदा यात्रुले सास्ती खेप्नुपरेको छ । करिडोरको रामपुर पिपलडाँडा हँुदै तानसेन, बुटवल, नारायणगढलगायतका स्थानमा पुग्ने सवारीसाधन बीचमै रोकिएका छन् । सडकमाथिबाट पहिरो खस्ने क्रम जारी छ । पहिरो हटाउन करिब चारदेखि पाँच घन्टाको समय लाग्ने यात्रामा निस्कनुभएका सञ्चारकर्मी प्रकाश ज्ञवालीले जानकारी दिनुभयो । तानसेन नगरपालिका–५ ढुङ्गाखानीमा पहिरो खसेकाले तानसेन रिडी सडकखण्ड पनि अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख दामोदर मल्लले जानकारी दिनुभयो । सिद्धार्थ राजमार्गअन्तर्गत आर्यभन्ज्याङ–राम्दी सडकखण्ड पनि अवरुद्ध बनेको छ । माथागढी गाउँपालिका–१ धैरेनीमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । सो सडक अवरुद्ध हुँदा बुटवल–पोखरा चल्ने सवारीसाधन बीचमै लामबद्ध अवस्थामा रोकिएका छन् ।
मालढुङ्गा–बेनी सडक अवरुद्ध
निरन्तरको वर्षाका कारण कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी र मुस्ताङलाई जोड्ने मालढुङ्गा–बेनी सडक अवरुद्ध बनेको छ । पर्र्वतको जलजला गाउँपालिका–७ धाइरिङको केराबारीमा सडकमाथिवाट आएको पहिराले पुरिएर गए रातिदेखि सडक अवरुद्ध बनेको हो । निरन्तर वर्षा भएका कारण अहिलेसम्म पहिरो पन्छाउने काम सुरु हुनसकेको छैन । वर्षा रोकिएपछि सम्बन्धित निर्माण व्यावसायीलाई सडक खुलाउनका लागि अनुरोध गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख सुमन न्यूरेले जानकारी दिनुभयो । सडक अवरुद्ध हुँदा मुस्ताङ र म्याग्दीका लागि अन्य जिल्लाबाट आएका सवारीसाधन र यात्रु लस्तीमा थन्किएका छन् । म्याग्दी र मुस्ताङबाट छुटेका लामो तथा छोटो दूरीका सवारीसाधन मिलनचोकमा रोकिएका छन् । यात्रुलाई बागलुङतर्फको वैकल्पिक रुट प्रयोग गर्न आग्रह गरिएको ट्राफिक प्रहरी प्रमुख न्यूरेले बताउनुभयो । निर्माणाधीन उक्त सडक समान्य वर्षा हुँने बित्तिकै अवरुद्ध हुने गरेको छ ।
पहिरोले कान्तिलोकपथ अवरुद्ध
काठमाडौँ–हेटौँडा जोड्ने कान्तिलोकपथअन्तर्र्गत ललितपुरको भट्टेडाँडास्थित बागमतीको पुल नजिकै आज बिहान पहिरो जाँदा काठमाडौँ–हेटौँडा यातायात अवरुद्ध भएको छ । मकवानपुरको सिमानाबाट करिब दुई किलोमिटर उत्तरतर्फ बागमती पुल नजिकै गएको पहिरो मौसममा सुधार आएपछि मात्र हटाउन सकिने जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले जानकारी दिनुभयो । यता हेटौँडाबाट काठमाडौँका लागि प्रस्थान गरेका हल्का सवारीसाधनलाई ठिङ्गन प्रहरीले रोकेको छ । चितवनको मुग्लिन सडकखण्ड पहिराका कारण अवरुद्ध भएपछि काठमाडौँबाट चितवनतर्फ गुडेका सबै सवारीसाधन त्रिभुवन राजपथतर्फ फर्काइएको प्रहरी निरीक्षक घिमिरेले जानकारी दिनुभयो । यसैगरी पश्चिमबाट आएका सवारीसाधन हेटौँडा त्रिभुवन राजपथ हुँदै काठमाडौँ प्रस्थान गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । त्यस्तै मकवानपुरस्थित त्रिभुवन राजपथ, पूर्वपश्चिम राजमार्ग, भीमफेदी कुलेखानी सडकखण्डको फाखेल र सिस्नेरी तथा चित्लाङ–थानकोट सडकमा पनि सवारीसाधन सञ्चालनमा रहेको प्रहरीले जनाएको छ ।
नारायणगढ–मुग्लिन सडक अवरुद्ध
पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक अवरुद्ध बनेको छ । बिहीबार दिउँसोदेखि बन्द रहेको उक्त सडक अझै खुल्न सकेको छैन । आज बिहानसम्म पनि पहिरो पन्छाउन सकिएको छैन । चितवनको इच्छाकामना गाउँपालिका–५ तीन नम्बर पुलमा सुक्खा पहिरो खसेपछि बिहीबार दिउसोदेखि सडक बन्द भएको हो । त्यसपछि सुक्खा पहिरो खसे क्रम जारी छ । पन्छाउने तयारी गरिए पनि पहिरो खस्ने क्रम जारी रहेकाले बाधा पुगेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिनुभयो । उहाँले पहिरो झरेर पहाड बनेको र पन्छाउन छ÷सात घन्टा लाग्ने बताउनुभयो । “दिनभर पहिरो पन्छाएर पनि सडक सञ्चालन गर्न सक्ने अवस्था छैन”, तामाङले भन्नुभयो । पहिरो झर्ने क्रम नरोकिएपछि बिहीबार राति पन्छाउने काम हुनसकेको थिएन । पहिरो पन्छाउनका लागि डोजर तयारी अवस्थामा राखिएको छ । सडकमा गाडीको लामो लाइन लागेको छ । सयौँ यात्रु समस्यामा छन् । काठमाडौँबाट भरतपुरतर्फ आएका सवारीसाधन मुग्लिन र कुरिनटार क्षेत्रमा रोकिएका छन् भने नारायणगढबाट काठमाडौँ, पोखरातर्फ जाँदै गरेका सवारीसाधन जलबिरे क्षेत्रमा रोकिएका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । आज यात्रा गर्ने यात्रुलाई वैकल्पिक राजमार्ग प्रयोग गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालयले अनुरोध गरेको छ । बर्खा लागेसँगै नारायणगढ–मुग्लिन सडकखण्डमा पटक–पटक पहिरो जाने र बाटो बन्द हुने गरेको छ ।