जन्मथलो विकासमा प्रधानमन्त्री दाहालको चासो


कास्की, (रासस) ः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज दिउँसो जन्मथलो कास्कीको अन्नपूर्ण गाउँपालिकाको लेवाडे पुग्नुभयो । अन्तर प्रदेश मुख्यमन्त्री बैठक एवं राष्ट्रिय समन्वय परिषद्को बैठकका लागि आज बिहान मात्र पोखरा आइपुग्नुभएका उहाँ बैठक उद्घाटन सम्पन्न भएलगत्तै जन्म गाउँ पुग्नुभएको हो ।दाहाल तेस्रोपटक प्रधानमन्त्री भएपछि पहिलोपटक जन्म गाउँमा पाइला टेक्नुभएको थियो । उहाँ सकभर पोखरा आउँदा जन्म गाउँ लेवाडे पुगेर दाजुभाइ तथा स्थानीयवासीसँग अन्तरक्रिया गर्न छुटाउनु हुँदैन । प्रधानमन्त्रीलाई आफ्नो गाउँमा पाएपछि लेवाडेवासी उत्साहित थिए । प्रधानमन्त्री दाहालले लेवाडेलगायत आसपासका क्षेत्रको विकासका बारेमा चासो राख्नुभएको थियो ।स्थानीय जनप्रतिनिधि तथा गाउँलेसँग उहाँले आफूले प्रारम्भिक शिक्षा लिएको महेन्द्र आधारभूत विद्यालयलगायत गाउँको विकासमा बारेमा चासो दिनुभएको अन्नपूर्ण गाउँपालिका–२ का वडाध्यक्ष पिताम्बर भण्डारीले बताउनुभयो । उहाँका अनुसार प्रधानमन्त्रीलाई आफ्नो गाउँमा पाउँदा स्थानीयवासीसमेत उत्साहित थिए । वडाध्यक्ष भण्डारीका अनुसार प्रधानमन्त्रीले गाउँको शिक्षा, स्वास्थ्य, बाटोघाटो तथा विकासका बारेमा कुराकानी गर्नुभएको थियो ।
अध्यक्ष भण्डारीले भन्नुभयो, “प्रधानमन्त्रीलाई पाउँदा हामी अत्यन्त खुशी भयौँ । उहाँले पनि मसिनो गरी यहाँको विकासका बारेमा चासो दिनुभयो । हामीले यहाँको अवस्थाका बारेमा उहाँलाई जानकारी गरायौँ । केही योजनामा सहयोग गर्न आग्रह गर्दा उहाँले आफ्नोतर्फबाट सहयोगको प्रतिबद्धता व्यक्त गर्नुभयो । जनतासँगको अन्तरक्रियामा प्रधानमन्त्री दाहालले गाउँको अवस्था, खेतीबाली, मौसमलगायतका विषयमा जिज्ञासा राख्नुभएको थियो । वडाध्यक्ष भण्डारीले प्रधानमन्त्रीसँग विशेषगरी अन्नपूर्ण गाउँपालिकाको नागडाँडाबाट पामे हुँदै पोखरा जोड्ने सडक स्तरोन्नतिका लागि माग गरेको बताउनुभयो । वडाध्यक्ष भण्डारीले कास्कीको विकासमा प्रधानमन्त्रीले गर्नुभएको योगदानको प्रशांसा गर्दै आगामी दिनमा समेत यस क्षेत्रको विकासलाई प्राथमिकता दिन आग्रह गर्नुभएको थियो । सो अवसरमा प्रधानमन्त्री दाहालले अन्नपूर्ण–२ का साथै हेम्जाका स्थानीयसमेतसँग अन्तरक्रिया गर्नुभएको थियो । अन्तरक्रियामा प्रधानमन्त्रीले स्थानीय अवस्था र जनताका अनुभूतिबारे विशेष चासो राख्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?