“प्रदीप गिरि एउटा व्यक्ति होइन विचार हो”


युगनाथ शर्मा पौडेल
अादरणीय नेता प्रदीप गिरीको निधन भएको पनि एक बर्ष पुगेको छ । नेपाली कांग्रेसले केन्द्रीय कार्यालय सानेपामा एक कार्यक्रम गरी उहाँलाई स्मरण समेत गरेकाे छ । उहाँको बारेमा धेरैले धेरैथरी बिचार राखेको मैंले देखेको छु तर मेरो अनुभवमा प्रदिप दाई केवल समस्तीपुर सिराहाको गिरी खान्दानका एक सन्तान मात्र नभइ नेपाली समाजका आधुनिक विचार हुन, उनी केवल व्यक्ति होइनन् आजको समयका विचार हुन् जहाँ समाजको तल्लो तह र तप्कामा परेको पीडालाई सबैले अनूभूत गर्न सक्छन् । धेरै पहिलेदेखि प्रदीप गिरीसँग साक्षात्कार गरेको कारण उहाँको अभावमा वैचारिक रुपमा मात्रै होइन राजनीतिक रुपमा पनि टुहुरो भएको अनुभूति भएको छ, मलाई ।
त्यसो त बिपी कोइराला, किसुनजी र गणेशमानजीको निधनपछि नेपाली कांग्रेसमा वैचारिक राजनीतिको खडेरी परेको यथार्थ हो । झन् प्रदीप गिरीको अभावमा त त्यो झाँगिएको छ भन्न कुनै लाज मान्नुपर्ने अवस्था रहेन । प्रदीप दाजुसँग मेरो निकटता पञ्चायतकालमा नै भएको थियो, त्यो बेला मलाई उहाँसग निकट बनाउने मेरा आदरणीय मित्र रेवतीरमण सुवेदी हुनुहुन्थ्यो । उहाँले नै मलाई निकटमा ल्याउनु भएको थियो किनकि उहाँहरुको अत्यन्तै निकट सम्बन्ध थियो । मलाई अंग्रेजी, हिन्दी र नेपाली भाषामा लेखिएका धेरै किताबहरू पढनको लागि प्रदीप दाईले खोजेर नै ल्याईदिनु भएको त कुरा गरेर साध्य छैन ।
उहाँले ब्रिटिस लाइबेरीदेखि अमेरिकी र भारतीय पुस्तकालयमा समेत पुगेर मलाई धेरै पुस्तकहरू पढन प्रेरित गरेर धेरै सन्दर्भ उल्लेख गरेको कुरा त कति छन कति छन ! ती सबै कुराहरू लेखेमा एउटा राम्रो पुस्तक नै बन्ने अवस्था बन्न सक्छ । उहाँ मेरो निवासमा रहेको कमाण्डर अफसेट प्रिन्टर्समा नियमित रुपमा एक्लै समेत आउने/जाने गरेको कुरा त केही साथीहरुलाई मात्रै थाहा भएको बिषय थियो । उहाँले पछिल्लो दिनमा समता म्यागाजिनलाई प्रकाशित गर्न मलाई उत्प्रेरित गरिरहनु भएको थियो । मेरो असन बजार साप्ताहिक र कमाण्डर पोष्ट राष्ट्रिय दैनिक केही समय स्थगित रहँदा समेत उहाँ धेरै नै दु:खित भएको पाएँ ।
मलाई थाहा भए अनुसार उहाँ पछिल्ला दिनमा वैचारिक रुपमा नेपाली कांग्रेस भित्र विद्रोहको बाटो लिने पक्षमा हुनुहुन्थ्यो तर उहाँको स्वास्थ्यले साथ नदिएपछि त्यो काम रोकिएको थियो । उहाँलाई स्वास्थ्यले साथ दिएको भए उहाँले पछिल्ला दिनमा गणेशमान सिंह र किसुनजीको शैलीमा नेपाली काँग्रेस परित्यागको घोषणा गरिसक्नु हुने थियो । यो मेरो औपचारिक दावीलाई नेपाली काँग्रेसले समेत गम्भीर रुपमा लिनुपर्छ भन्ने मेराे ठम्याइ छ । विचार र सिद्धान्तलाई तिलाञ्जली दिएर नेपाली कांग्रेसले चुनाव पूर्व लिएको सत्तालिप्साको गठबन्धनसँग प्रदिप दाई सन्तुष्ट हुनुहुन्न थियाे । यो कसैका लागि पनि सहज थिएन ।
पछिल्ला दिनमा उहाँ नयाँ बनेको नेपालको संबिधानसँग पनि सन्तुष्ट हुनु भएको थिएन । उहाँले आफनो अन्तरआत्माको आवाजलाई स्वीकार गर्दै यो संविधान जारी हुने बेलामा हस्ताक्षर नै नगरी बहिष्कार गरेर बाहिर निस्कनु भएको सबैलाई थाहै छ । उहाँको अझै पनि निष्कर्ष के थियाे भने यो संविधानले सबै नेपाली जनतालाई राष्टिय मुलधारमा ल्याउन सकेकै छैन र यो अझै पनि विभेदकारी चिन्तन बोकेको संविधान हो ।
उहाँसँग मैंले भारतको पटनामा आयोजित एक सेमिनारमा भाग पनि लिएको थिएँ ।
त्यो सेमिनारमा मैले राखेको विचारलाई लिएर उहाँले नेपाल फर्केपछि नेपाली काँग्रेसका बरिष्ठ नेता गोपालमान श्रेष्ठलाई सुनाएपछि मलाई गोपालमान दाइले फोन गरेर युगनाथ तिमीले पटनामा के कुरा राखेको थियौ प्रदीप गिरी तिम्रो कुरासँग धेरै प्रभावित हुनु भएको कुरा मलाई भन्नुभयो भनेपछि मैले भनें:- मैंले भारतको तत्कालीन विदेश सचिव श्यामशरणले सञ्चालन गरेकाे सत्रमा भारतले २००७ सालमा नेपाली काँग्रेस भित्र बिपी कोइरालाको तेजोबध गर्ने प्रकारले नखेलेको भए संविधानसभाको चुनाव त्योबेला नै हुनेथियो र राजा महेन्द्रको चरम महत्वाकांक्षाले बिपी कोइराला जस्ता युवा नेतालाई जेलमा सडाएर देशलाई निकै पछाडि पारिएको मात्रै होइन नेपालमा संविधानसभाकाे हलमा कम्युनिष्टहरुको बहुमत हुनुकाे कारण यही गल्ती थियाे पनि भनेकाे थिएँ ।
त्यति मात्रै होइन भारतले राणा हटाए पनि राणाको ज्वाईंहरुलाई स्थापित गरेको कारण संविधानसभा त्यो बेला धरापमा परेको थियो भन्दा श्यामशरण समेतले टाउको हल्लाएर सहमति जनाएको देखेपछि प्रदिप दाइ समेत गम्भीर हुनुभएको थियाे । त्यहाँ नेपाल र भारतका केही उच्च अधिकारी र राजनीतिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । अनि त्यो सेमिनारमा बिहारका मुख्यमन्त्री नितिशकुमार नै प्रमुख अतिथि हुनुहुन्थ्यो ।
नितिशकुमारले आफनो उदघाेषण भाषणमा सबै भन्दा पहिले सभापतिलाई सम्बोधन गरेपछि भन्नुभयो आजकी इस मञ्चमें मेरे सामने मेरे आदरणीय बिद्धान नेता प्रदीप गिरीजी बैठें हैं उनके सामने मैं क्या बोलु ? यस्तो थियो उहाँ (प्रदिप दाइ)लाई भारतीय नेताहरुले हेर्ने दृष्टिकोण !! एउटा नेपालीको छोरालाई २५ करोड जनताको मुख्यमन्त्रीले गरेको यो स्तरकाे सम्मानले नै सबैकुरा देखाउँछ । प्रदीप दाईको बारेमा जति लेखे पनि लेखेर सकिने अवस्था छैन वास्तवमा उहाँ राम मनोहर लोहियाको विचारको असली चिन्तक हुनुहुन्थ्यो । उहाँको बारेमा धेरै लेख्ने दिनहरु आउनेनै छन् अनि उहाँको विचारको बारेमा धेरै किताबहरु पनि पक्कै आउने छन । नेपाली कांग्रेस भित्र वैचारिक र सैद्धान्तिक रुपमा अझै पनि बहस गर्ने ज्युदो अनुहारहरु काेही छन भन्ने भ्रम कायम छ भने त्याे आजको दिनमा नै स्कुल अफ डेमोक्रेसीको पर्याय मानिने स्कुल अफ प्रदीप गिरी मात्रै हाे । प्रदिप दाइप्रति हार्दिक स्मरण र श्रद्धासुमन ।। जय नेपाल ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?