काठमाडौँ, १४ भदौ : प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेकोे रक्षाबन्धनको परम्परा हालसम्म पनि प्रचलित छ । यसैकारण रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले राससलाई जानकारी दिनुभयो । मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितले यजमानको दाँहिने नाडीमा बाँधिदिने गरिन्छ । तागाधारीले यज्ञोपवीत धारण गर्दै आजकै दिन ब्राह्मण, क्षेत्री र वैश्य गरी तीन वर्णका तागाधारीले आफ्नो जनै (यज्ञोपवीत) फेर्नुपर्ने विधान शास्त्रमा उल्लेख छ । यसका लागि श्रावण शुक्ल चतुर्दशीदेखि कपाल मुण्डन गरी एक छाकमात्र खाएर चोखोनितो गरी बसिन्छ । यसरी व्रत बसेका तागाधारीले पूर्णिमाका दिन बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दत्तिउन र सप्तमृत्तिका लगाएर स्नान गर्दछन् । यसलाई श्रावणी स्नान पनि भनिन्छ । स्नानपछि जौ तिल र कुशद्वारा ऋषिहरुलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै (यज्ञोपवीत) फेरिन्छ । अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा एवं तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिएको हो । वैदिक गुरु परम्पराअनुसार यज्ञोपवीत अर्थात् जनैलाई ब्रह्मसूत्र अथवा ज्ञानको धागोसमेत भनिन्छ । रक्षाबन्धन बाँध्न एवं नयाँ जनै फेर्न बिहानैदेखि पशुपतिनाथ मन्दिर परिसर, वसन्तपुरस्थित अशोकविनायकलगायत वाग्मती नदीको किनार र काठमाडौँ उपत्यकालगायत देशभरका मठ मन्दिरमा भक्तजनको भीड लाग्ने गर्छ । क्वाँटीको परम्पररा जनै पूर्णिमाका दिन एघारथरीका गेडागुडी मिसाइ भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाइन्छ । यसरी क्वाँटी बनाई खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता छ । विभिन्न थरी गेडागुडीको मिसाएर बनाइएको क्वाँटीको रस खाएमा शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि हुने आयुर्वेदका चिकित्सक डा वंशदीप शर्मा खरेल बताउनुहु्न्छ । यसबाट चिसो गाडिएर लाग्ने रुघाखोकीजस्ता रोग पनि निको हुने उहाँले सुनाउनुभयो । तराई क्षेत्रमा राखी बाँधिदै नेपालको तराई क्षेत्रमा भने आजकै दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर मनाइन्छ । यसबाट दिदीबहिनी र दाजुभाइका बीचमा प्रेम सम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ । काठमाडौँको उत्तरपूर्वी भेगमा रहेको मणिचूँड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, धनुषसागर र गङ्गासागर, जुम्लाको दानसाधु एवं नवलपरासीको त्रिवेणीधाम लगायतका ताल, पोखरी र कुण्डमा श्रावण शुक्ल पूर्णिमाका दिन बिहानैदेखि मेला लाग्ने गर्छ ।
‘नेपाली राष्ट्रिय एकतालाई अझ बलियो बनाउन रक्षा बन्धनले सहयोग पुग्ने विश्वास व्यक्त गर्दछु’
: उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपाली राष्ट्रिय एकता, अखण्डता, सार्वभौमिकतालाई अझ बलियो बनाउन रक्षा बन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्वले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । नेपालमा परापूर्वकालदेखि मनाइँदै आएको पौराणिक, धार्मिक, सांस्कृतिक एवं परम्परागत रक्षा बन्धन, जनैपूर्णिमा¬ (ऋषि तर्पणी¬¬)को शुभ उपलक्ष्यमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै सो कुरामा विश्वास व्यक्त गर्नुभएको हो । “नेपालको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन व्यवस्था प्रणालीले बहुजाति, बहुभाषा, बहुसंस्कृति, बहु–वेशभूषा आदिलाई संरक्षण गर्दै सबै क्षेत्र, वर्ग, भूगोल, धर्म, समुदाय र संस्कृतिलाई आपसमा जोड्ने काम गरेको छ, नेपालमा बसोबास गर्ने विभिन्न समुदायले एकै तिथिमा मनाउने रक्षा बन्धन र जनैपूर्णिमा पर्व तथा क्वाँटी खाने परम्परा वर्षौंदेखि सांस्कृतिक त्रिवेणीका रूपमा प्रचलनमा रही आएको छ”, सन्देशमा भनिएको छ । यस्ता पौराणिक पर्व एवं सांस्कृतिक परम्परालाई हामी सबैले सौहाद्र्रपूर्ण माहौलमा मनाउनु पर्दछ भन्ने उहाँको भनाइ छ । तराई–मधेसतिर भाइबहिनीबीच स्नेह, प्रेम बाँड्ने पर्वका रूपमा धुमधामका साथ रक्षा बन्धन मनाइन्छ । यो पर्वमा दिदीबहिनीले दाजुभाइको निधारमा रातो टीका लगाउने, आरती उतार्ने र हातमा ‘राखी’ (डोरो) बाँधेर सु–स्वास्थ्य, दीर्घायू र उत्तरोत्तर प्रगतिको कामना गर्छन् । दाजुभाइले पनि दिदीबहिनीको रक्षाको सङ्कल्प लिँदै आफ्नो स्नेहाभाव दर्शाउने गर्छन । यसले परस्पर आत्मीयता र स्नेहको बन्धनलाई थप बलियो बनाउनुको साथै सामाजिक तथा पारिवारिक ऐक्यबद्धता एवं एकसूत्रमा बाँध्न गर्न सहयोग पुग्छ । यो पर्वमा कतै–कतै पुरोहित तथा आचार्य बिहानै यजमानको घर पुगेर डोरो बाँध्ने र उपहारस्वरूप धन, वस्त्र र भोजन आदि प्राप्त गर्ने चलन पनि रहिआएको पाइन्छ । यसले आपसी सद्भाव बढाउनुका साथै विभिन्न जातजातिबीचको सम्बन्धलाई थप समृद्ध र प्रगाढ बनाउँछ । त्यसैगरी, जनै पूर्णिमाका रूपमा मनाउने पवित्र जलाशयमा स्नानपछि जौ, तिल र कुशद्वारा ऋषिलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै (यज्ञोपवीत) फेर्ने गर्छन् । अरुन्धतीसहित आठ ऋषिलाई पूजा एवं तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिन्छ । आजकै दिन ११ थरीका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाने परम्परा पनि रहिआएको छ । यसले शरीरमा रोग नलाग्ने र पेट सफा हुने आयुर्वेद शास्त्रीय मान्यता छ । हाम्रो स्वास्थ्यका लागि कृषिउपजको महत्त्वलाई यसले दर्शाउँदछ । आजकै दिन नेपालका केही पवित्र धार्मिकस्थलमा मेला पनि लाग्ने गर्छ । यो मेलाले आन्तरिक पर्यटनको क्षेत्रमा टेवा पु¥याउने गर्छ । यसलाई विदेशी पर्यटक भित्र्याउने माध्यम बनाई यसबाट यथेष्ठ आयआर्जन गरी मुलुकको अर्थतन्त्रलाई सुदृद्ध र सबल बनाउनतिर केन्द्रित हुन आवश्यक रहेको उपराष्ट्रपति यादवको भनाइ छ । “मुलुक निर्माण र व्यवस्थित विकासको मार्गमा द्रुत गतिले लम्कन सफल होस्, समृद्ध नेपालको परिकल्पना साकार होस् भन्ने शुभकामना पनि दिन चाहन्छु”, उहाँले भन्नुभएको छ ।
प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिँँदैछ । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ । यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाइ वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ । राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आ–आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएका आधारमा यो पर्व सुरु भएको ऐतिहासिक तथ्य छ । यसबाट पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रमसमेत गराउने आदेश दिएअनुरूप हाँस्यव्यङ्ग्यको प्रचलन चलेको हो भन्ने जनश्रुति पाइन्छ । प्रताप मल्लको पालादेखि प्रचलनमा आएको गाईजात्रा हनुमानढोकास्थित राजप्रसाद (राजदरबार) भएर जानुपर्ने प्रथा अहिलेसम्म पनि जारी छ । देशका विभिन्न सहरमा गाईजात्रा मनाइने भए पनि उपत्यकामा यसको विशेष रौनक देखिने गर्छ । भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीत पनि गाइन्छ । विकृतिका विरुद्ध हाँस्यव्यङ्ग्यका रुपमा गाईजात्रा पञ्चायती व्यवस्थाप्रति व्यङ्ग्य गरेको भन्दै विसं २०१७ पुस १ गतेको शाही ‘कू’ पछि गाईजात्रामा पनि प्रतिबन्ध लागेको थियो । विसं २०३३ मा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले महोत्सवका रुपमा झाँकी र हाँस्यव्यङ्ग्यसहित गाईजात्रा फेरि मनाउन थालेको हो । हाँस्यव्यङ्ग्यले बुझ पचाएर जथाभावी गर्नेलाई सचेत गराउने र अनर्थकतामा सार्थकता झल्काउँछ । जात्राका क्रममा पाटनमा देखाइने सत्य युगको धान, चामलको नमूना र काठमाडौँको ठमेलमा देखाइने स्वर्ण तथा रजताक्षरमा लेखिएका पुस्तक विशेष दर्शनीय मानिन्छन् । आजभोलि गाईजात्राका अवसरमा समाजमा विद्यमान विकृति र विसङ्गति उजागर गरिन्छ । सार्वजनिकरूपमा मनोरञ्जनात्मक तथा व्यङ्ग्यात्मक ढङ्गले विविध कार्यक्रमको आयोजनासमेत हुन्छ । पत्रपत्रिकामा पनि सामाजिक कुरीतिलाई समेटेर हाँस्यव्यङ्ग्य अङ्क प्रकाशित गरिन्छ । गाईजात्रा पर्व काठमाडौँ उपत्यकालगायत बनेपा, धुलिखेल, पनौती, बाह्रविसे, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगञ्ज, हेटौँडा र पोखरालगायत नेवार समुदायका मानिसको विशेष उपस्थिति रहेको सहरमा धुमधामका साथ मनाइन्छ । यस अवसरमा हाँस्य कलाकारले पनि विशेष कार्यक्रमको आयोजना गर्ने गरेका छन् ।
प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमा (ऋषितर्पणी) को दिन पारेर मनाउन थालिएको विश्व संस्कृत दिवसको छैटौँ संस्करण आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । जरो किलो प्रतिष्ठान नेपालको आह्वानमा २०७५ सालदेखि विश्व संस्कृत दिवस मनाउन प्रारम्भ गरिएको हो । छैटौँ विश्व संस्कृत दिवसको आयोजना नेपाल, अमेरिका र बेलायतलगायत देशका विभिन्न संस्थाले संयुक्तरुपमा गरेका छन् । नेपालबाट नेपाल संस्कृत विश्वविद्यालय, त्रिभुवन विश्व विद्यालयको संस्कृत केन्द्रीय विभाग र सोही विश्व विद्यालयअन्तर्गतको त्रिचन्द्र महाविद्यालयस्थित दर्शनशास्त्र तथा मनोविज्ञान विभाग, जयतु संस्कृतम्, सनातन धर्म महासङ्घ र जरो किलो प्रतिष्ठान, अमेरिकाबाट सहृदयता इन्टरनेसनल र विश्व भूटानी हिन्दू सङ्गठन तथा बेलायतबाट नेपाली हिन्दू फोरम युकेको सहकार्यमा यो दिवस मनाइँदैछ । नेपालमा छैटौँ विश्व संस्कृत दिवसको मूल समारोह आज काठमाडौँमा आयोजना गरिएको छ । देश तथा विदेशबाट कार्यपत्र, संस्कृत रचना तथा विशिष्ट वक्तव्यको प्रस्तुति पनि हुनेछ । नेपालका विभिन्न भूभागका साथै भारत, अमेरिका, बेलायत, अष्ट्रेलिया, इजरायल, दक्षिण कोरिया, कतारलगायत देशमा छैटौँ विश्व संस्कृत दिवस मनाउन कार्यक्रम तय भइसकेको जरोकिलो महाअभियानका सङ्कल्पकर्ता एवं काठमाडौँ विश्व विद्यालयका सहप्राध्यापकसमेत रहनुभएका निर्देशन समिति संयोजक डा निर्मलमणि अधिकारीले बताउनुभयो । श्रावण शुक्ल पूर्णिमा ऋषिसँग जोडिएको ऋषितर्पणीको दिन भएकाले यो दिन विश्व संस्कृत दिवस मनाउन थालिएको हो । ऋषिले नै वेदका मन्त्र ध्यान दृष्टिका माध्यमबाट देखेकाले पनि यसै दिन संस्कृत दिवस मनाउन उपयुक्त हुने भएकाले यसको सुरुआत गरिएको हो । प्राचीनकालमा शैक्षिक सत्रको सुरुआत पनि श्रावण शुक्ल पूर्णिमाकै दिनदेखि सुरु गरिने गरेकाले पनि यसै दिनलाई विश्व संस्कृत दिवसका रुपमा मनाउन थालिएको हो । यस अवसरमा विभिन्न गुरुकुलमा पनि कार्यक्रम गरिने जनाइएको छ ।
: हिन्दू धर्मावलम्बीले मात्र प्रयोग गर्ने जनै बनाउने प्रचलन कम हुँदै गएपछि बजारमा खरिद गरी प्रयोग गर्ने क्रम बढेको छ । जनै घरमा नै तयार पार्ने प्रचलन हराउँदै गएपछि बाह्य उत्पादनको भर पर्नुपर्ने अवस्था आएको नवलपरासी (बर्दघाट सुस्तापूर्व)कावासोती नगरपालिका–६ का खुमकान्त गौडेलले बताउनुभयो । पाँच वर्ष अगाडिसम्म जनै बनाएर आफन्त सबैलाई पु¥याउँदै आएको भए पनि पछिल्लो समय बजारबाट खरिद गरी प्रयोग गर्ने गरेको गौडेलले बताउनुभयो । “आजकालका युवाले नियमित जनै लगाउनै छाडे”, उहाँले भन्नुभयो, “पहिले घरमै धागो ल्याएर बाटोमा पनि बाट्दै हिँडिन्थ्यो, अहिले कसैलाई फुर्सद नै छैन ।” गाउँमा अहिले जनै बाट्नै छाडिसकेको गौडेलले बताउनुभयो । जनैपूर्णिमाका लागि बजारबाट मेसिनले बाटेको जनै खरिद गरेर ल्याएको उहाँले बताउनुभयो । बजारमा विदेशबाट आयातित र विभिन्न मेसिन तथा उपकरण प्रयोगबाट बनाइएका जनै फरक–फरक मूल्यमा पाउन सकिन्छ । बजारमा मेसिनबाट बनाइएको जनै प्रतिगोटा मूल्य रु छ र हातले बनाएको जनै प्रतिगोटा रु १५ रहेको गणेश धार्मिक पसलका नारायण खनालले बताउनुभयो । “जनैपूर्णिमाका दिन फेर्ने जनैको बजार पछिल्ला वर्षमा बढ्दो रहेको छ”, उहाँले भन्नुभयो, “अहिले बजारमा बुटवलबाट आयात गरिएको स्वदेशी उत्पादनदेखि भारतबाट आएका जनै र रक्षाबन्धन धागो आउने गरेको छ ।” नयाँ जनै फेर्नुपर्ने हिन्दू संस्कारमा रहिआएको मान्यता अनुसार जनैपूर्णिमाका लागि जनैको कारोबार पनि ठूलै हुने गरेको पाइन्छ । मङ्गलबार र बुधबार जनै किन्नेको ठूलै भीडभाड रहेको व्यवसायी खनालले बताउनुभयो । विगतका वर्षमा गाउँघरमा ब्राह्मण तथा क्षेत्री समुदायका व्यक्तिले एक महिनाअघिदेखि नै जनै बाट्न सुरु गर्ने गरेको र त्यो जनै नै उत्कृष्ट रहने गरेको पण्डित बुद्धिसागर भण्डारीले बताउनुभयो । “आफ्नै हातले धागो सङ्ग्ल्याएर, कत्वामा बाटेको जनै नै राम्रो हो, हिजोआज मेसिनको प्रयोगबाट जनै लगाउनु बाध्यता भइसक्यो”, उहाँले भन्नुभयो, “भारतबाट आउने जनै निकै सस्तो हुन्छ, तर त्यसको बनावटी राम्रो र उपयुक्त हुँदैन ।” पछिल्लो समय हिन्दू धर्मावलम्बीको पवित्र पर्वको रूपमा मनाइने जनैपूर्णिमाको महत्व नयाँ पुस्ताले बिर्संदै गएको पण्डित भण्डारीले गुनासो गर्नुभयो । “रक्षाबन्धनका दिन नजिकैको धार्मिक मठमन्दिरमा गएर विधिपूर्वक पूजाआजा गर्नुपर्ने भए तापनि बजारमा भित्रिएका जनै र धागोलाई प्रयोग गर्न थालिएको छ”, उहाँले भन्नुभयो, “आधुनिकताको नाममा र युवापुस्ता व्यस्त रहने हुँदा संस्कृति लोप हुने अवस्थातिर पुग्ने हो कि भन्ने चिन्ता थपिएको छ ।” शास्त्रीय मान्यताअनुसार विशेषगरी तागाधारी (ब्राह्मण, क्षेत्री, वैश्य) वर्गले वर्षदिन वेद पढ्नुपर्ने र त्यसको साङ्गे (समाप्ति) को दिनका रूपमा जनैपूर्णिमालाई लिइने भण्डारीले बताउनुभयो । यस दिन स्नान गरी सप्तऋषिसहित ब्रह्मा, विष्णु र महेश्वरको पूजा गरी जनै मन्त्रेर त्यसलाई धारण गर्ने प्रचलन छ । ठाउँ ठाउँमा पुरोहितले विधि पु¥याएर पूजा गरेको जनै र रक्षाबन्धन धारण गर्नुपर्ने उहाँले बताउनुभयो । जनैपूर्णिमा (रक्षाबन्धन) का दिन इष्टमित्रसँग जनै लगाउने र रक्षाबन्धन बाँध्नाले शत्रुबाट रक्षा हुने जनविश्वास रहिआएको छ । “तागाधारीले कश्यप, अत्री, भारद्वाज, गौतम, जमदग्नी, विश्वामित्र र अरुन्धतीसहित सप्तऋषिलाई तर्पण दिने भएकाले जनैपूर्णिमालाई ऋषि तर्पणी पनि भ
राष्ट्रिय समाचार समिति (रासस)