गोरखाको अजिरकोट गाउँपालिकाका विभिन्न वडामा स्वास्थ्य सामाग्री सहयोग


गोरखा । मुटु फाउण्डेशन नेपालले गोरखाको अजिरकोट गाउँपालिकाका विभिन्न वडामा स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

फाउण्डेशनले मनोज एशोसियशन फ्रान्स र सोलिड अप पेरिसको आर्थिक सहयोग तथा अजिरकोट गाउँपालिकाको सहकार्यमा अजिरकोट गाउँपालिकाभित्र रहेका स्वास्थ्य चौकीहरु, स्वास्थ्य ईकाई ,विकट गाउँ–टोल, विद्यालय र सम्पुर्ण महिला स्वयम्सेवीकालाई स्टे्चर र स्वास्थ्य चौकीहरुमा स्वास्थ्य सामाग्री वितरण गरेको हो ।

मुटु फाउण्डेशनद्वारा सञ्चालित आमाको माया परियोजना अन्तर्गत ग्रामिण क्षेत्रमा बसोबास गर्ने मानिसको कुनै दुर्घटना हुँदा सहज र सरल तरिकाले विरामीको समयमा नै उद्वार गरि स्वास्थ्य केन्द्र सम्म समयमा नै उपचारको लागि लैजान सहयोग पुगोस् भन्ने उदेश्यले स्वास्थ्य सामाग्री सहयोग गरेको फाउण्डेशनका अध्यक्ष धनबहादुर गुरुङले जानकारी दिनुभयो ।

पहिलो दिन भच्चेक आधारभूत अस्पतालमा अजिरकोट वडा नं ३ का वडाअध्यक्ष बावुराम अधिकारीको अध्यक्षतामा पालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज वस्ती, स्वास्थ्य संयोजक ठाकुरप्रसाद भट्ट, अस्पतालका स्वास्थ्यकर्मीको उपस्थितीमा वडा ३ हंसपुरका महिला स्वंयम सेवीकालाई संस्थाका अध्यक्ष द्वारा स्टेचर हस्तान्तरण गरेको थियो ।

यस्तै, दोस्रो दिन अजिरकोट वडा नं २ का वडाअध्यक्ष कृष्णबहादुर गुरुडको अध्यक्षतामा सोही वडाका स्वास्थ्य संस्थामा स्वास्थ्य सामाग्री वितरण गरिएको थियो । यसैगरी अजिरकोट वडा नं ५ का वडाअध्यक्ष विर्खबहादुर गुरुङको अध्यक्षतामा मुच्चोक स्वास्थ्य चौकीका प्रमुख राजकुमार विकलाई स्टेचर हस्तान्तरण गरिएको फाउण्डेशनका अध्यक्ष गुरुङले बताउनुभयो ।

सोही अभियानअन्तर्गत अजिरकोट गाउँपालिका वडा नं १ घ्याच्चोक स्वास्थ्य चौकीमा सोही वडाका अध्यक्ष मनोज गुरुङको अध्यक्षतामा स्वास्थ्यसामाग्री सहयोग गरिएको थियो ।

यसैगरी, अजिरकोट वडा नं ४ का वडाअध्यक्ष जङ्गबहादुर गुरुङको अध्यक्षतामा सोही वडाको स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री वितरण गरिएको थियो । वडा नं ४ को कार्यक्रममा वडा सदस्य भरत दवाडी, स्वास्थ्य चौकी प्रमुख सुवास यादव, हिमालय माध्यामिक विद्यालयका सहायक प्रधानाध्यापक नारायण लम्साल, हिमचुली नवयुवा क्लबका अध्यक्ष नविन विकलगायतको उपस्थिती रहेको थियो ।

सो फाउण्डेशनले गोरखाको अजिरकोटमा मात्र रु ११ लाख ५६ हजार मूल्य बराबरको स्वास्थ्य सामाग्री निबुलाईजर, डपलर,सक्सन मेसिन,डेलीभरी भेड,अटोक्ल्याप,अम्बो व्याग,थर्म मिटर,अटोस्कोप,वेवी वारमर,एनालाईजर मेसिन हस्तान्तरण गरेको फाउण्डेशनका अध्यक्ष धनबहादुर गुरुडले बताउनुभयो ।

सो संस्थाले यसअघि गोरखाको विभिन्न स्थानीय तहमा स्वास्थ्य सामाग्री सहयोग गरिसकेको छ भने बारपाक, भच्चेकलगायतका स्थानमा स्वास्थ्य शिविर समेत सञ्चालन गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?