मुटु फाउण्डेशनसहित विभिन्न संस्थाद्धारा गोरखामा दुईदिने निःशुल्क स्वास्थ्यशिविर


गोरखा । गोरखाको शहिद लखन गाउँपालिकामा दुईदिने वृहद स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

मुटु फाउण्डेसन नेपाल, मनोज एसोसियसन फ्रान्स र सोलिडअप पेरिसको प्रायोजनमा तथा ग्रिनसिटी अस्पताल बसुन्धाराको प्राविधिक सहयोगमा दुईदिने निःशुल्क स्त्री रोग तथा जनरल स्वास्थ्य शिविर सम्पन्न भएको हो ।

शहिद लखन गाउँपालिकाका वडा नं ४ का वडाअध्यक्ष यमबहादुर थापाको अध्यक्षता र गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापा मगरको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा स्वास्थ्यशिविर सञ्चालन भएको मुटु फाउण्डेशनका अध्यक्ष धनबहादुर गुरुङले जानकारी दिनुभयो ।

उक्त स्वास्थ्य चेकजाँचमा ग्रीनसिटी अस्पतालका स्त्री रोग तथा क्यान्सर रोग विशेषज्ञ डा अनिता थापा, जनरल फिजिसियन डा प्रमेस, डा निदान रावल, डा मनिष पनेरु र अल्ट्रासोनोलोजिष्ट डा विनोद शाहको समुहद्धारा स्वास्थ्यजाँच गरिएको सो गाउँपालिकाका स्वास्थ्य संयोजक वीरेन्द्र श्रेष्ठले बताउनुभयो ।

उक्त शिविरमा ९९ बर्षका बृद्धा एकबहादुर थापाले पनि स्वास्थ्य चेकजाँच गराउनुभएको थियो । शिविरमा ६६८ जनाले स्वास्थ्य चेकजाँच गराउनुको साथै २३४ जनाको युएसजी चेकजाँच र १३० जनाको ईसीजी गराउनुभएको फाउण्डेशनका अध्यक्ष गुरुङले बताउनुभयो ।

सोही अवसरमा ७२ जनाको रगत जाँच गरिएको थियो । उक्त संस्थाले गत महिनामात्र आगालागीबाट क्षति पुगेको बुङकोट स्वास्थ्य चौकी, घैरुङ स्वास्थ्य चौकी, मनकामना स्वास्थ्य चौकी, ताकलुङ स्वास्थ्य चौकीलाई रु १० लाख मूल्य बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको थियो । उक्त ठाउँ मगर, चेपाङ र दरै जातीको बाहुल्यता रहेको क्षेत्र हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?