दोहा, १ असोज (एएफपी)इरान र अमेरिकाबीच भएको बन्दी आदानप्रदान सम्झौता अन्तर्गत इरानमा बन्दी बनाइएका पाँच जना अमेरिकी नागरिक उनीहरूका दुई जना आफन्तसहित तेहरानबाट दोहाका निम्ति प्रस्थान गरेका छन् । कतारी विमानबाट उनीहरू दोहा आउन लागेका हुन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि अमेरिकामा पक्राउ परेका पाँच जना इरानी नागरिकलाई थुनामुक्त गर्नेसम्बन्धी दस्तावेजमा हस्ताक्षर गर्नुभएको छ । अब उनीहरू पनि हिरासतमुक्त भएका छन् । तेहरान र वासिङ्टनबीच भएको बन्दी आदानप्रदानको सम्झौताको पूर्वशर्त नै रोक्का गरिएको इरानी सम्पत्ति फुकुवा हुनुपर्ने तेहारानको माग थियो । अमेरिकाको अनुरोधमा दक्षिण कोरियाले रोक्का गरेको इरानी छ अर्ब अमेरिकी डलर निकासा दिएपछि उनीहरू हिरासतमुक्त भएका हुन् । कतारको मध्यस्थतामा रकम निकासा भएको हो । इरानले अब विश्वका अन्य देशमा रोक्का गरिएको आफ्नो वैधानिक सम्पत्ति फुकुवा हुने विश्वास व्यक्त गरेको छ । इरानी सञ्चार माध्यमहरूका अनुसार अमेरिकाले मुक्त गरेका दुई जना इरानी कतारको राजधानी दोहा आइसकेका छन्भने बाँकी तीन जना अमेरिकामा नै बस्ने वा तेस्रो देशमा जानेछन् ।
पाँच बन्दी छुटाउन छ अर्ब डलर निकासा
‘इरानमा अझै पश्चिमा बन्दी छन्’
त्यस्तै पेरिसबाट एएफपीले दिएको समाचार अनुसार इरानले बन्दी आदानप्रदान सम्झौताअन्तर्गत आज पाँच जना अमेरिकी नागरिकलाई रिहा गरे पनि इरानमा अझै पश्चिमा देशका नागरिक बन्दी जीवन बिताइरहेका मानवअधिकारवादी संस्थाहरूले बताएका छन् । आजको बन्दी आदानप्रदानमा पनि सबै अमेरिकी बन्दीलाई इरानले थुनामुक्त नगरेको उनीहरूले जनाएका छन् । इरानी मूलका अमेरिकी नागरिक शहबिब दलिली अझै इरानमा रहेको भर्जिनियास्थित दलिली परिवारले बताएको छ । सन् २०१६ मा इरान भ्रमणमा पक्राउ परेका उनी अहिलेसम्म हिरासतमुक्त नभएको उनको परिवारले जनाएको छ । आजको मुक्तिमा उनी नपरेकामा उनीहरूले अमेरिकी सरकारसमक्ष दुःख व्यक्त गरेका छन् । अर्का एक जना अमेरिकी नागरिकलाई सर्वोच्च अदालतले मृत्युदण्डको फैसला सुनाएको छ । उक्त फैसला जुनसुकै बेला कार्यान्वयन हुनसक्ने उनका परिवारले बताएका छन् । इरानले पक्राउ परेका सबैजनामाथि उपयुक्त कानुनी प्रक्रियाअनुसार कारबाही हुने बताउँदै हिरासतमा लिइएको विषयलाई प्रचारप्रसार नगर्न सम्बद्ध व्यक्तिका परिवारलाई चेतावनी दिँदै आएको छ । एम्नेष्टी इन्टरनेशनलका अनुसार सन् २०२० मा पक्राउ परेका श्रमिक हकहितका पक्षधर इरानी मूलका बेलायती नागरिक एकान्तस्थलमा बन्दी बनाइएका छन्भने ६० वर्षकी जर्मनीको नागरिकता पाएकी नहिद तागभीलाई दश वर्ष नौ महिनाको सजाय सुनाएर इभिन कारागारमा राखिएको छ । त्यस्तै अर्का एक जना इरानी मूलका जम्सीद शर्माद सन् २०२० देखि नै आतङ्कवादी क्रियाकलाप गरेको अभियोगमा थुनिएका छन् । फ्रान्स, अष्ट्रिया, स्पेन, स्वीडेनलगायत पश्चिमा मुलुकका १२ जनाभन्दा बढीलाई इरानले थुनेको एम्नेष्टीले जनाएको छ ।
तश्वीर एएफपी