धानमा रोग लागेपछि किसान चिन्तित


दाङ । “पहिले गोबारो कीरा लाग्यो, अहिले बालालाई काटेर टुक्रा–टुक्रा बनाउने रोग आएको छ”, तुलसीपुर उपमहानगरपालिका–७ निवासी किसान भागिरथ भण्डारीले भन्नुभयो, “यो कीरा साँझ, बिहानमात्रै देखिने गरेको छ ।” समयमा मल र बीउ नपाउँदा आजित भएका किसान पटक–पटक रोग लाग्दा चिन्तित बन्ने गरेका छन् ।

कीरा लागेपछि दुई–तीनपटक औषधि छरे पनि त्यसले काम नगरेको तुलसीपुर–७ निवासी किसान धनिराम भुसालले बताउनुभयो । एग्रोभेटबाट औषधि ल्याएर छर्केको उहाँको भनाइ छ । सो कीरालाई नियन्त्रण गर्न नसकिएमा धान उत्पादनमा गिरावट आउने उहाँले बताउनुभयो ।

अहिले वर्षा रोकिएपछि धानमा यस्तो समस्या देखिएको उपमहानगरपालिका कृषि महाशाखाका कृषि प्राविधिक रवि न्यौपानेले बताउनुभयो । “सुरुमा खासै थिएन”, उहाँले भन्नुभयो, “बीचमा वर्षात् रोकिएपछि रोग देखापरेको हो ।”

धानमा पातको फेद डडुवा, फड्के कीराजस्ता समस्या देखिएको उहाँको भनाइ छ । किसानले पनि नियमित रेखदेख नगर्दा समस्या भएको उहाँको भनाइ छ । अहिले उक्त रोग नियन्त्रण गर्नका लागि रासायनिक विषादीको सिफारिस गरिएको र किसानले त्यहीअनुसार प्रयोग गर्ने गरेको उहाँको भनाइ छ । दाङका सबैजसो ठाउँमा यस्तो समस्या देखिएको उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?