गोरखा कांग्रेसका हरेक तहका नेता महिनाको एकदिन आफ्नो गाउँ पुग्नुपर्छ : नेता दवाडी


गोरखा । नेपाली कांग्रेसका नेता प्रकाशचन्द्र दवाडीले पार्टीका केन्द्रीय नेतालाई स्थानीय तहबाट प्रतिनिधी चुनिएर केन्द्रमा आउने वातावरण बन्नुपर्ने बताउनुभएको छ ।

नेपाली कांग्रेस गोरखाको दोस्रो जिल्ला अधिवेशनको उद्घाटन सत्रमा बोल्दै उहाँले केन्द्रीय नेताहरु वार्डवाट प्रतिनिधी चुनिएर केन्द्रमा आउने वातावरण पार्टीले निर्माण गर्नुपर्ने बताउनुभएको हो ।

“केन्द्रीय नेता गाउँबाट चुनिएर आउने वातावरण भएमात्र उनीहरुको गाउँप्रतिको अपनत्व बढ्छ, संगठन बलियो हुन्छ,”– उहाँले भन्नुभयो । उहाँले गत स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रले ९ वटा स्थानीय तह जित्दा कांग्रेसका साथीहरु साह्रै अफ्ठयारोमा परेको बताउनुभयो ।

गण्डकी प्रदेशका पूर्व सांसद दवाडीले हरेक तहका नेता महिनाको एक दिन आफ्नो गाउँमा पुगे गाउँमा आफ्ना साथीभाईलाई परेका समस्यालाई समाधान गर्दै उनीहरुको पीडामा मलम लगाउन र सान्तना दिन लाग्नुपर्ने बताउनुभयो ।

उहाँले कांग्रेसका साथीहरुले गरेका गल्तीलाई ढाकछोप गर्ने काम नगर्नसमेत आग्रह गर्नुभयो । उहाँले गोरखा कांग्रेसमा केही नेताहरुले कार्यकर्तालाई काखा र पाखा गरेकाले यहाँको संगठन कमजोर हुँदै गएको बताउनुभयो ।

“गाउँका कार्यकर्ताहरु हाम्र्रै परिवार हुन्, यीनीहरुको मन दुख्दा हाम्रो मन दुख्छ भनेर उनीहरुको समस्या सम्बोधनमा लाग्नुपर्छ,”– उहाँले भन्नुभयो । केही नेताहरुले गोरखामा कांग्रेसका कार्यकर्तालाई आफ्नो र अर्काको भनी सम्झेको भन्दै उहाँले दुःख व्यक्त गर्नुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?