एन आर एन ए


दीपेन्द्र पोखरेल

सुरूबाट सुरू गरौ । न समयको माग थियो, न त धनि हुने उन्मात । लगेज होइन फस्नरे झोला भिरेर खेत बारी धितो राखेर,बाबुको पुर्खौली जमीन बेचेर आफ्नो र परिवारको खाली पेट भर्न बाध्यताले नेपालीहरू बिदेशीने गरेको जग जाहेर छ ।एयरपोर्टमा हरेक दिन जस्तै देखिने घटनाले सहजै अनुमान लगाउन सकिन्छ । लगभग उस्तै उस्तै लुगा र झोला भिरेर, लगभग एकै किसिमको सपना बोकेर एयरपोर्टको टिभी अगाडी जम्मा भएको भिडले हाम्रो नियती र देशको दशा सहजै अनुमान लगाउन सकिन्छ ।

केही महत्वकांक्षा र केही अधुरा सपनाहरू पुरा गर्ने सपना बोकेर विदेशीन लागेको ठूलो भिडमा सानो अर्को झुन्ड पनि देखिन्छ ।थोरै पढेका र पढ्न चाहनेहरूको सानो झुन्ड,दोस्रो भिड़। विदेशी भुमिमा केहि पढेर, केहि सिकेर र धेरथोर कमाए पछि दोस्रो भिडबाट तेस्रो झुन्ड उछिट्टीन्छ।त्यही उछिट्टीएको झुन्डबाट थोरै सफा र धेरै धमिलो मन भएकाहरूको माछा मराईबाट जन्मिएको संस्था साबित भएको छ एनआरएनए।

सायदै अग्रजहरूले संड्ग्लो पानीको पोखरी बनाउने कोषिस गर्नुभयो होला तथापी माछा मार्न पानी धमिल्याउनेहरूको फरक फरक फर्मुलाहरू बजार भरि बिक्रीमा पाईन्छ आज भोली । भिजन,उदेश्य र क्षमता भन्दा पनि चिट्टा परेर भित्ता चिल्ला हुनुभएकाहरूको ठूलै आवाज सुनिन्छ जताततै ।पढ़े लेखेर समाज र देशको कुरिती र कुसंस्कारलाई हटाएर असल समाज र सम्बृद्ध देश बनाउनु पर्नेमा आफूलाई बुद्दीजिवीको खोल ओडाएर बकम्फुसे नाराका पर्चाहरू बाट्दै हिड्नु भएको छ।

स्वदेशीबाट विदेशी बन्ने यति लामो यात्रामा कर्म नै धर्म हो भनेर पक्कै बुझ्नु भएको होला! यहॉहरू पनि त्यहि कर्मको भुमीमा बस्नु हुन्छ। देशका प्रधानमंत्री,मन्त्री र नेता विकसित देश घुमेर रित्तो दिमाग र भिजन लिएर देश फर्के जस्तै यहॉहरूको सोचमा पनि खडेरी लागेको स्पष्ट देखिन्छ! विदेशमा पढेर सिकेका बिभिन्न टेक्नोलोजीहरूलाई आफ्नो देश लिएर जानुको साटो सत्ता र शक्तीको लागी कुकुर बिरालोको जस्तै लडाई लड्दै हुनुहुन्छ । यहॉहरूको यस्तो कलालाई एनआरएन ए सलाम।

विद्यार्थी छँदा चिट चोरेको देखे,समाजले सामाजिक प्रतिष्ठा चोरेको देखे, नेताले सिड्गै देश चोरेको देखे तर विदेशमा बसेर पनि देश पालिरहेका तमाम नेपालीको अधिकार चोर्नेहरू पहिलो पटक देखे । कस्तो लडाई,कस्को लागी लड्दै हुनुहुन्छ महोदय।
जस्ले देश पालिरहेको छन् ऊनिहरू त काम र पैसाको लागी संडग्घर्ष गरिरहेका छन्, विदेशी नेताहरू भोट,शक्ति र फोस्रा आडम्बरको लागी लडीरहेका छन् । “सयौ फुलका थुड्गा हामी एउटै माला नेपाली हो भने यो दुई,तीन,चार प्यानल र गुटबन्दी के का लागी ? म जस्तै तमाम आम विदेशी नेपालीहरू जान्न चाहन्छन् ? यति उत्तर दिन सक्ने पढाई त पक्कै पढ्नु भएको होला? मलाई लाग्दैन एकाद विदेशी नेताहरूले संसार भरि छरिएका नेपालीहरूको प्रतिनिधित्व गर्दछन् !?

अमेरिका बस्नेहरूले कतार बस्नेलाई चिन्दैन,जापान बस्नेहरूले दुबई अनि पुरोप,आस्ट्रेलिया र यस्तै विकसित देश बस्नेहरूले मलेशिया र अन्य साना देश ।के यी फरक फरक देशमा बस्नेहरू फरक फरक एन आर एन हुन्? छरिएका सयौ फूलहरू एउटै मालामा उन्ने यहॉहरूको देखावटी कोषिस के हुदै छ त्यो त सर्व विधितै छ तथापी सहयोग र सेवाको नाममा यहॉहरूले आफ्नै घैटो भरेको समाचारहरू सुन्न र पढ्न पाईन्छ ।

यहॉहरू जस्तै पढेका र सम्पत्ति कमाएका नभएता पनि यहॉहरू भन्दा धेरै पढेका र ज़िन्दगी बुझेका प्रवासीहरूको कमि छैन विदेशमा ।यसो हेर्दा भलै घर ढेकेदार र ज्यामीहरूले बनाएको देखिएला तर त्यसको पछाडी बुद्दीमान मानिसको दिमाग हुने गर्दछ र ति बुद्दीमानहरू झुटो प्रचार चाहदैनन् र देखावटी सानको लागी लड्दैनन् ।

कुनै पनि मानिस आफ्नो देश छोडेर दोस्रो या तेस्रो मुलुक जान्छ र त्यहॉ बस्छ भने ऊसलाई प्रवासी भनिन्छ । यहॉहरू जस्तो पढे लेखेका बुद्दीमानहरूले डायस्फोरा भन्नु हुन्छ क्यार! दुनियाँमा कहॉ छ एकै देशका मानिस दुई, तिन थरिका प्रवासी? प्रवासी नेपालीहरूलाई भागबन्डा गर्ने अधिकार यहॉहरूलाई कस्ले दियो ?भागबन्डाको धन्दा यहॉहरूको नियति हो भने मेरो केही भन्नु छैन।दुई बाबुका एक सन्तान कहिल्यै हुन सक्दैन यति त थाहा हुनु पर्ने होईन र ?लाज पनि लाग्नु पर्ने होईन र ? स्वार्थ पूर्तिका लागी नेताले जनता बाडे जस्तै सिमाना साटे जस्तै यहॉहरू प्रवासी नेपाली बाड्दै हुनुहुन्छ महासय । एन आर एन (non-resident Nepali) बाट NRN (Not Right Now) भन्ने दिन नआयोस भन्ने कामना सहित यहॉहरू र हामी सबैलाई शुभकामना ॥

पोखरेल एनआरएनए जापान प्रवासी हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?