विद्यार्थीबाट देउसीभैलो खेलेको रकमबाट जाजरकोटका भूकम्पपीडितलाई कपडा र स्टेशनरी


काठमाडौँ । गोल्डेन होराइजन एकेडेमी एण्ड ट्वीङ्कल टोज इन्फन्र्ट स्कुल वालाजुले विद्यार्थीको देउसीभैलो खेलेको रकमबाट जाजरकोटका भूकम्पपीडितलाई कपडा र स्टेशनरी सहयोग गरेको हो ।

गत वर्षको देउसीभैलोको रकमबाट मानवसेवा आश्रममा रहेका वृद्धवृद्धलाई खाद्यान्न सहयोग गरेको सो विद्यालयले यसवर्ष तिहारमा देउसीभैलोबाट उठेको रकम जाजरकोटका भूकम्पपीडितलाई बिहिबार न्यानो कपडा र स्टेशनरी सहयोग गरेको हो ।

देउसीभैलोबाट सङ्कलित रकममा विद्यालय व्यवस्थापन समितिले केही रकम थप गरी जाजरकोटका भूकम्पपीडितलाई ७० थान जकेट, मोजा, टोपी, कपी र कलम सहयोग गरेको विद्यालयका प्राचार्य महेन्द्र वस्तीले जानकारी दिनुभयो ।

उक्त विद्यालयबाट पठाएको सामाग्री जिल्ला प्रशासन कार्यालय जाजरकोटको रोहवरमा भूकम्पपीडितलाई वितरण गरिने विद्यालयका सञ्चालक विमल धमलाले बताउनुभयो । सो विद्यालयले गतवर्ष मानवसेवा आश्रममा चार दिनसम्म भोजन उपलब्ध गराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?